नेपालको अग्रणी एडटेक कम्पनी डिजी स्कूल अस्ट्रेलियामा विस्तार
९ माघ २०८२, काठमाडौं ।
नेपालको अग्रणी एडटेक कम्पनी डिजी स्कूल अस्ट्रेलियामा पनि विस्तार भएको छ । नेपालका विद्यालयहरूमा डिजिटल साक्षरता अभियान चलाइरहेको डिजी स्कूलले अन्तर्राष्ट्रिय विस्तार अन्तर्गत अस्ट्रेलियामा आफ्नो उपस्थिति जनाएको हो ।
डिजी स्कूलका अध्यक्ष विज्ञान श्रेष्ठले नेपालपछि अस्ट्रेलिया र निकट भविष्यमै अमेरिका लगायतका अन्य देशहरूमा समेत सेवा विस्तार गर्ने तयारी भइरहेको जानकारी दिए । विद्यार्थीहरूलाई विद्यालय तहदेखि नै कोडिङ, कृत्रिम बुद्धिमता (एआई), साइबर सुरक्षा र डाटा साइन्स जस्ता विषयहरूमा दक्ष बनाउने डिजी स्कूलको मुख्य लक्ष्य रहेको अध्यक्ष श्रेष्ठले बताए ।
डिजी स्कूल अस्ट्रेलियामार्फत विद्यालय तहका विद्यार्थीहरूलाई भर्चुअल माध्यमबाट आईटी तथा कोडिङ शिक्षा उपलब्ध गराइनेछ । अध्यक्ष श्रेष्ठले भने, “आगामी दिनहरूमा ग्लोबल आईटी सर्टिफिकेसन कार्यक्रमहरू सुरु गरिनेछ, जसले अस्ट्रेलियाका विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त सीप हासिल गरी आईटी क्षेत्रमा रोजगारीका अवसरहरू प्राप्त गर्न सहयोग पुर्याउनेछ ।”
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले डिजिटल युगमा आईटी शिक्षाको महत्त्वबारे चर्चा गरे । आईटी शिक्षाका माध्यमबाट दक्ष जनशक्ति उत्पादन गरी सफ्टवेयर निर्यात मार्फत नेपाली अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउन सकिने मल्लको भनाइ थियो ।
अस्ट्रेलियामा आयोजित डिजी स्कूल शुभारम्भ कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत राजु बानियाँले आईटी शिक्षा र सेवालाई विश्वभर थप विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाए । सो कार्यक्रममा नेपालका विभिन्न अग्रणी विद्यालयका १० भन्दा बढी प्रिन्सिपल तथा अध्यक्षहरूको सहभागिता रहेको थियो, जसले डिजी स्कूलको शैक्षिक दृष्टिकोणप्रति बलियो समर्थन रहेको स्पष्ट पारेको छ ।
अन्तर्राष्ट्रिय विस्तारसँगै डिजी स्कूलले विश्वभरका बालबालिकालाई भविष्य-उन्मुख प्रविधि र शिक्षाका माध्यमबाट सशक्त बनाउने आफ्नो अभियानलाई निरन्तरता दिने बताएको छ ।
For More:-DigiSchool EdTech Expansion Australia



