२८ साउन, काठमाडौं।
डियरवाक लर्निङ सेन्टरले ३५०० भन्दा बढी निशुल्क अनलाइन कक्षाहरू समावेश गरिएको DLC App औपचारिक रूपमा सार्वजनिक गरेको छ। काठमाडौंको सिफलस्थित डियरवाक कम्प्लेक्सको सगरमाथा हलमा आयोजित एक विशेष समारोहका बीच यो एपको शुभारम्भ गरिएको हो।
यो एपमा विगत लामो समयदेखि डियरवाक लर्निङ सेन्टरले आफ्नो वेबसाइट (dlc.dwit.edu.np) मार्फत निशुल्क उपलब्ध गराउँदै आएका कक्षा ४ देखि ११ सम्मका नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान, र सामाजिक विषयका अनलाइन कक्षाहरू संगठित रूपमा राखिएका छन्।
गुणस्तरीय शिक्षामा सबैको पहुँच विस्तार
काठमाडौंको सिफलमा अवस्थित डियरवाक ग्रुप लिमिटेडद्वारा सञ्चालित डियरवाक लर्निङ सेन्टरको मुख्य उद्देश्य दक्ष शिक्षकको अभाव भएका र गुणस्तरीय शिक्षाबाट वञ्चित सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूसम्म निशुल्क गुणस्तरीय शिक्षा पुर्याउनु हो।
यसै उद्देश्यका साथ, पाठ्यक्रम विकास केन्द्र, सानोठिमी, भक्तपुरद्वारा निर्मित पाठ्यक्रममा आधारित रहेर निर्माण गरिएका ‘फ्लिप्ड क्लास’ भिडियोहरूलाई कक्षागत, विषयगत तथा पाठगत रूपमा व्यवस्थित गरी विद्यार्थी तथा शिक्षकहरूका लागि सहज र सरल बनाउन यो एपको विकास गरिएको हो।
DLC App को शुभारम्भ समारोहमा बोल्दै डियरवाक ग्रुप लिमिटेडका अध्यक्ष हितेश कार्कीले हालसम्म निर्मित भिडियो कक्षाहरूबाट कक्षा ४ देखि ११ सम्मका ५० लाखभन्दा बढी विद्यार्थी तथा शिक्षकहरू लाभान्वित भइसकेको जानकारी दिनुभयो।
उहाँले आगामी दिनमा कक्षा १२ तथा स्नातक तहका भिडियोहरू पनि निर्माण गरी निशुल्क वितरण गरिने योजना रहेको बताउँदै यसबाट अझ बढी विद्यार्थी र शिक्षकहरू लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा एडुटेक नेपालका CEO अशोक डल्लीले एडुटेक नेपालले हालसम्म कम्प्युटर ल्याब निर्माण गरेर हस्तान्तरण गरेका ३०० भन्दा बढी सामुदायिक विद्यालयका २ लाखभन्दा बढी विद्यार्थी तथा शिक्षकहरूले यी भिडियो कक्षाहरूबाट लाभ उठाइरहेको जानकारी दिनुभयो।
समारोहका प्रमुख अतिथि, खैरेनी मा.वि. शुक्लागण्डकी, तनहुँका पूर्व प्रधानाध्यापक केशवराज घिमिरेले DLC App को अनावरणपछि बोल्दै कोभिड–१९ महामारीका समयमा फ्लिप्ड क्लासले विद्यार्थीहरूको पठनपाठनमा पुर्याएको योगदानको सराहना गर्नुभयो।
उहाँले आफूले स्वेच्छिक रूपमा देश तथा विदेशका सयौँ पालिका, प्रधानाध्यापक र शिक्षकहरूलाई फ्लिप्ड क्लास प्रयोगसम्बन्धी तालिम प्रदान गरेको र त्यसबाट लाखौँ विद्यार्थी लाभान्वित भएको अनुभव पनि सुनाउनुभयो।
DLC App को शुभारम्भपश्चात् आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरूका प्रश्नहरूको जवाफ डियरवाक धादिङ स्कुलका प्रिन्सिपल निर्मलकुमार पौडेल, फ्लिप्ड क्लास रेकर्डिङ संयोजक युक्ता वर्मा, र DLC की कन्टेन्ट आर्किटेक्ट आसरा श्रेष्ठले दिनुभएको थियो।
हाल देशका विभिन्न स्थानमा तीनवटा विद्यालय, एउटा कलेज, र एउटा ट्रेनिङ सेन्टर सञ्चालन गरेर उच्च गुणस्तरीय शिक्षा प्रदान गरिरहेको डियरवाक ग्रुप लिमिटेडद्वारा सञ्चालित डियरवाक लर्निङ सेन्टरले विगत १० वर्षदेखि ‘फ्लिप्ड क्लास’ भिडियोहरू निर्माण गरी देश तथा विदेशका सामुदायिक तथा संस्थागत विद्यालय, विद्यार्थी र शिक्षकहरूलाई निशुल्क उपलब्ध गराउँदै आएको छ।
हालै शुभारम्भ गरिएको यो एपले निशुल्क गुणस्तरीय शिक्षालाई अझ व्यवस्थित, सहज र सर्वसुलभ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
For more: Deerwalk Free DLC App