दशैं लक्षित भाडा नियन्त्रण : आन्तरिक हवाई उडानको उच्चतम भाडादर तोकियो
१७ असोज २०८२, काठमाडौं ।
काठमाडौं । दशैंको चापलाई लक्षित गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक हवाई उडानको उच्चतम भाडादर सार्वजनिक गरेको छ ।
चाडपर्वको बेला वायु सेवा कम्पनीहरूले मनपरी भाडा उठाउनेक्रम रोक्न प्राधिकरणले अधिकतम भाडा सीमा निर्धारण गर्दै, त्यसभन्दा बढी शुल्क लिने कम्पनीलाई कारबाही गरिने चेतावनीसमेत दिएको छ ।
सरकारबाट स्वीकृत भाडादरभन्दा बढी रकम लिएको पाइएमा वायु सेवा प्रदायक कम्पनीहरूमाथि कडा कारबाही गरिने प्राधिकरणले स्पष्ट पारेको छ ।
प्राधिकरणले तोकेको सूचीअनुसार सबैभन्दा बढी भाडा काठमाडौं–धनगढी उडानको १७ हजार ५७९ रुपैयाँ रहेको छ भने सबैभन्दा कम भाडा काठमाडौं–सिमरा उडानको ३ हजार ९७८ रुपैयाँ तोकिएको छ ।
चाडबाडको अवसर पारेर विगतमा हवाई कम्पनीहरूले सामान्यभन्दा दोब्बरसम्म भाडा असुलेको गुनासो आउँदा, यसपटक प्राधिकरणले अग्रिम रूपमा उच्चतम सीमा तोकेको हो ।
तोकिएको अधिकतम हवाई भाडादर यस्तो छ:
काठमाडौं–सिमरा: ३,९७८ रुपैयाँ
काठमाडौं–भरतपुर : ४,६४३ रुपैयाँ
काठमाडौं–जनकपुर: ५,४७० रुपैयाँ
काठमाडौं–पोखरा: ६,६३५ रुपैयाँ
काठमाडौं–तुम्लिङटार: ७,६३० रुपैयाँ
काठमाडौं–राजविराज: ८,२१० रुपैयाँ
काठमाडौं–भैरहवा: ८,४६१ रुपैयाँ
काठमाडौं–सुर्खेत: ९,०३० रुपैयाँ
काठमाडौं–विराटनगर: ९,७८५ रुपैयाँ
काठमाडौं–भद्रपुर: १२,११२ रुपैयाँ
काठमाडौं–नेपालगञ्ज: १३,१०३ रुपैयाँ
काठमाडौं–धनगढी : १७,५७९ रुपैयाँ
प्राधिकरणले यात्रुहरूलाई पनि सचेत रहन आग्रह गर्दै स्वीकृत भाडादरबारे जानकारी लिएर मात्र टिकट काट्न अनुरोध गरेको छ ।
For more: Dashain Fare 2082 Control