१६ फागुन २०८१, काठमाडौं ।
साइबर सुरक्षा क्षेत्रमा अनुसन्धान तथा नवप्रवर्तनमा सक्रिय संस्था ‘साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसन नेपाल’ (CSRI Nepal) ले नयाँ नेतृत्व पाएको छ । बुधबार सम्पन्न संस्थाको सातौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले सूचना प्रविधिविज्ञ डा. शालिग्राम पराजुलीको अध्यक्षतामा नयाँ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा प्राध्यापक गजेन्द्र शर्मा, उपाध्यक्षहरूमा विजय कुमार रोय, राजकुमार महर्जन र डा. अमृता शर्मा चयन हुनुभएको छ । महासचिवमा डा. भोजराज घिमिरे निर्वाचित हुनुभएको छ भने सचिवहरूमा सरला कार्की, आभास अधिकारी, गंगा भण्डारी र तेजप्रसाद धमला चयन हुनुभएको छ । कोषाध्यक्षको जिम्मेवारी कमला अधिकारी अर्यालले सम्हाल्नु हुनेछ ।
त्यस्तै सदस्यहरूमा रिता पोखरेल, जयन्ती माला चापागाईँ, डा. शान्तिकला सुवेदी र ओमकार बस्नेत रहनु भएको छ । संस्थाको पहिलो बैठकले कार्यसमितिमा थप तीन जना थप्ने जनाइएको छ ।
सो अवसरमा संस्थाको प्रेसिडेन्ट काउन्सिल समेत गठन गरियो । काउन्सिलमा संस्थापक अध्यक्ष चिरञ्जीवी अधिकारीको नेतृत्वमा निवर्तमान अध्यक्ष प्रा.डा. सुवर्ण शाक्य र वर्तमान अध्यक्ष शालिग्राम पराजुली (सदस्य-सचिव) रहनु भएको छ । त्यस्तै सल्लाहकार समितिमा चिरञ्जीवी अधिकारी, प्रा.डा. सुवर्ण शाक्य, रोजाकिरण बासुकला र भीमध्वज श्रेष्ठ रहनु भएको छ ।
साधारणसभामा महासचिवको वार्षिक प्रगति प्रतिवेदन तथा लेखा समितिको आर्थिक प्रतिवेदनमा छलफल गरी पारित गरिएको थियो ।
दुई दशकभन्दा लामो समयदेखि नेपालको सूचना प्रविधि क्षेत्रलाई योगदान दिनुभएका नवनिर्वाचित अध्यक्ष डा. शालिग्राम पराजुलीले साइबर सुरक्षा क्षेत्रमा नेपाललाई सशक्त बनाउन कार्ययोजना अघि बढाइएको बताउनुभयो । उहाँले शैक्षिक संस्थाहरू, उद्योग क्षेत्र तथा सरकारी निकायहरूसँग सहकार्य गर्दै साइबर सुरक्षा सम्बन्धी अनुसन्धान, नीति निर्माण तथा जनचेतना अभिवृद्धि गर्ने योजना प्रस्तुत गर्नुभयो ।
“नेपालमा प्रविधिको तीव्र विकास भइरहँदा साइबर सुरक्षामा अझै धेरै गर्नुपर्ने छ । हाम्रो उद्देश्य भनेको नेपाललाई साइबर सुरक्षाको क्षेत्रमा अग्रणी बनाउनु हो । यसका लागि सीएसआरआई नेपालले अन्य सरोकारवालासँग सहकार्य गरी अनुसन्धान, नीति निर्माण र जनचेतना कार्यक्रममार्फत डिजिटल सुरक्षालाई बलियो बनाउनेगरी कार्यक्रम ल्याउने छौँ,” सञ्चार तथा सूचना प्रविभि मन्त्रालयका आईटी विज्ञसमेत रहनुभएका अध्यक्ष डा. पराजुलीले भन्नुभयो ।
उहाँले सीएसआरआईको अगुवाइमा साइबर सुरक्षा सम्बन्धी पूर्वाधार निर्माण, जनचेतना कार्यक्रम, नीति निर्माणमा सहकार्य तथा अनुसन्धान प्रवर्द्धन गर्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो ।
संस्थाका संस्थापक अध्यक्ष चिरञ्जीवी अधिका hiरीले सीएसआरआईले स्थापनाकालदेखि नै शैक्षिक अनुसन्धान र उद्योग क्षेत्रको आवश्यकताबीचको खाडल पुर्ने, नवीन समाधानहरू विकास गर्ने र वास्तविक सुरक्षाका चुनौतीहरू समाधान गर्न काम गरिरहेको जानकारी दिनुभयो ।
नवनिर्वाचित सचिव सरला कार्कीले सीएसआरआई र कोरियास्थित इन्फर्मेसन टेक्नोलोजी एप्लिकेसन्स एन्ड म्यानेजमेन्ट (आईटीएएम) सोसाइटी बीच सहकार्य हुने सम्भावना रहेको जानकारी दिँदै उक्त समझदारीले अनुसन्धान र नवप्रवर्तनमा सहयोग पुग्ने धारणा राख्नुभयो ।
त्यस्तै सीएसआरआईका नवनिर्वाचित महासचिव डा. भोजराज घिमिरेले डिजिटल युगमा साइबर सुरक्षा कुनै विकल्प नभई आवश्यकता भएको बताउँदै यो क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्य जरुरी रहेको बताउनुभयो । डा. घिमिरेले सरकारी तथा निजी क्षेत्र, शैक्षिक समुदाय, तथा अन्य सरोकारवाला निकायहरूलाई सीएसआरआई नेपालसँग सहकार्य गर्न आग्रह गर्नुभयो ।
सीएसआरआई नेपालबारे
सन् २०१८ मा स्थापना भएको सीएसआरआई नेपालले नेपालमा साइबर सुरक्षा क्षेत्रको अनुसन्धान तथा नवप्रवर्तनका लागि विभिन्न कार्य गर्दै आएको छ । यसअन्तर्गत अनुसन्धान केन्द्रको स्थापनाका पहलदेखि नीति निर्माणका लागि परामर्श, साइबर सुरक्षासम्बन्धी जनचेतना कार्यक्रम तथा प्रविधि नवप्रवर्तनलाई प्राथमिकता दिँदै आइएको छ । डिजिटल युगको बढ्दो खतरालाई न्यूनीकरण गर्दै साइबर सुरक्षालाई सशक्त बनाउन संस्थाले दीर्घकालीन योजना अघि सारेको छ ।
सीएसआरआईले उद्योगका अग्रणी व्यक्ति, सरकारी निकाय र प्रविधि विज्ञहरूसँग सहकार्य गर्दै सुरक्षा जोखिम पहिचान गर्ने, साइबर हमलाको पहिचान प्रणाली सुधार गर्ने र डिजिटल क्षेत्रलाई सुरक्षित बनाउन अग्रणी भूमिका खेलेको छ । अनुसन्धानलाई व्यवहारिक प्रयोगसँग जोडेर संस्थाले साइबर सुरक्षाका चुनौतीहरू समाधान गर्न, डेटा सुरक्षा प्रवर्द्धन गर्न र सुरक्षित डिजिटल वातावरण निर्माणमा योगदान पुर्याउने लक्ष्य राखेको छ ।
For more: CSRI Nepal New Executive Committee