नेपालमै सम्भव छ ९९ प्रतिशत कलेजोको उपचार, ट्रान्सप्लान्ट गर्न कति लाग्छ खर्च?
२८ पुष २०८२, काठमाडौं ।
कलेजो शरीरको सबैभन्दा ठूलो आन्तरिक अंग हो । यसले शरीरका अन्य भागहरूले प्रयोग गर्ने रसायनहरू स्राव गर्छ । कलेजोले कार्य गर्न छाडेमा सम्पूर्ण शरीर नै बन्द हुन्छ । किनकी यसले शरीरलाई सामान्य अवस्थामा राख्न आवश्यक रसायन उत्पादन गर्छ ।
तर पछिल्लो समय अस्वस्थकर जीवनशैली र खानपानमा कारण नेपालमा कलेजोको रोग बढ्दो क्रममा रहेको चिकित्सकहरु बताउँछन् ।
कलेजोका विरामीहरुको एकिन डाटा नभएतापनि सामान्य बिरामीहरूको संख्या नेपालमा रोग बढ्दो रहेको हेपाटोलोजिष्ट डाक्टर विकास जैशी बताउँछन् ।
हामीसगँको कुराकानीमा उनले २० देखि ६० वर्षका उमेर समूहका मान्छेहरूमा एकसयमध्ये २० देखि ३० जनामा कलेजोको समस्या देखिने गरेको जानकारी गराए ।
उनले भने,‘कलेजो रोगहरूका सम्बन्धमा हामीले अनुसन्धान चाँही गरेका छैनौं । यतिनै पपुलेसनमा रोग छ भन्ने चाहीं छैन् । तर पनि सामान्य बिरामीहरूको अवस्था हेर्दा २० देखि ६० वर्ष उमेरका मान्छेहरूमा १०० जनामध्ये २० देखि ३० जनामा कलेजोमा केही न केही रोगको समस्या भएको देखिएको छ । यो पहिलेको भन्दा बढेको हो ।’
त्यस्तै उनको अनुसार जंकफुडका साथै मादक पेय पदार्थको सेवन कलेजो रोगको प्रमुख कारण बनेको छ । अहिले आएर मानिहरूमा मोटोपनको समस्या बढ्नुपनि अर्को प्रमुख कारण बनेको उनी बताउँछन् ।
‘कलेजो बिग्रिने मुख्य कारणहरूमा रक्सी खाएर लिभर डिजिज हुने, हेपाटाइटिस ‘बी’, हेपाटाइटिस ‘सी’ले कलेजोमा असर गर्ने साथै विभिन्न औषधिहरू, आयुर्वेद जडीबुटी, दुखाइ कम गर्ने औषधिले पनि कलेजो ड्यामेज गर्ने र चिल्लोको कारणले पनि कलेजो बिग्रिने गरेको पाइन्छ ।
तर अहिले आएर मान्छेहरूमा मोटोपनको मात्रा बढेको, एक्सरसाइज कम गर्ने गरेको, जंक फुडहरू, चिल्लो वा गुलियो खाने कुराले पनि समस्या देखिने गरेको छ । अल्कोहल र फ्याट्टी लिभर डिजिज नेपालमा कमन भएको छ।’
डाक्टर जैशीले हेपाटाइटिस ‘बी’ र ‘सी’को भिन्नतालाई पनि स्पष्ट पारेका छन् । हेपाटाइटिस ‘बी’ र ‘सी’ भनेको भाइरसबाट सर्ने रोग भएको बताउँदै उनले हेपाटाइटिस ‘बी’ आमाबाट बढी सर्ने र हेपाटाइटिस ‘सी’ ड्रग एब्युजबाट बढी सर्ने जानकारी दिए ।
‘हेपाटाइटिस ‘बी’ र ‘सी’ दुईवटै भाइरसबाट सर्ने रोग हुन्। सर्ने रोगहरू सामान्यत रगतबाट सर्ने, अनि आइभी सेवन गर्दा, निडलहरू शेयर गर्दा, यौन सम्पर्क गर्दा अनि कपाल काट्दा ब्लेडहरूबाट सर्ने गर्छ ।
अनि आमाबाट पनि बच्चालाई सर्ने गर्छ,’ उनले भने,‘यो भाइरसको डिजिज भएकाले यिनीहरू सबै तरिकाले सर्छन् । तर आइभी ड्रिङ्किङ ड्रग एब्युजरहरूमा हेपाटाइटिस ‘सी’ र ‘बी’ आमाबाट बढी सर्छ । हेपाटाइटिस ‘सी’ चाहीं आइभी ड्रग एब्युजबाट बढी सरेको देखिएको छ ।
त्यस्तै उनले कलेजोको समस्या अचानक लिभर फेल र अर्को दिर्घकालिन लिभर समस्या दुई वटा हुने बताए । एक्युट लिभर फेलरले छोटो समयमा नै कलेजो बिग्रिए मृत्यु हुने सम्भावना हुने बताउँदै उनले छ महिनाभन्दा बढी रोग लाग्यो भने त्यो दीर्घकालिन हुने बताए ।
‘एक्युट लिभर फेलर अथवा छोटो समयमा कलेजो बिग्रिने कन्डिसन एउटा भयो भने अर्को क्रोनिक लिभर डिजिज हो । छ महिनाभन्दा लामो टाइमदेखि कलेजोमा समस्या आयो त्यो बिस्तारै बिस्तारै कलेजो बिग्रिँदै गएर रोग लागेको २०–३० वर्ष वा ४० वर्षपछि कलेजो बिग्रिने हुन्छ ।
६ महिनाभित्रै कलेजो बिग्रिएर बिरामीको मृत्यु भयो अथवा कलेजो फेर्नुपर्यो भने त्यो एक्युट लिभर डिजिज भनेर भन्न सकिन्छ । ६ महिनाभन्दा बढी रोग लाग्यो भने त्यो दीर्घकालिन भयो,’ उनले भने ।
उनको अनुसार कलेजोको प्रत्यारोपण गर्दा नेपालमा २५–३० लाख रुपैयाँ खर्च लाग्छ भने यो भारतको तुलनामा धेरै सस्तो हो । त्यस्तै उनले कलेजो प्रत्यारोपण गर्न आफ्ना परिवारको सदस्यको मात्र मिल्ने र अरुबाट किन्न नमिल्ने जनाए ।
उनले भने,‘कलेजो ट्रान्सप्लान्ट गर्दा नेपालमा २५–३० लाख रुपैयाँ लाग्छ । भारतमा ५०–६० लाख नेपाली पैसा लाग्छ । कलेजो पनि बिरामीका आमाबुवा, दाजुभाई, दिदीबहिनी, श्रीमती, छोराछोरी यिनीहरुले मात्र दिन मिल्छ । कलेजो अरुबाट किन्न मिल्दैन ।
छोटो समयको कलेजो, एक्युट लिभर फेलर रहेछ भने कलेजोको पातलोपन भयो अनि बेहोसी भएर बिरामी उठ्नै सकेन, बिरामी चेतमै आएन भने छोटो टाइमको कलेजोको रोग भएकालाई नै हामी ट्रान्सप्लान्ट गर्छौँ ।
कालो दिशा भएमा, बेहोसीपन भएमा, कलेजोमा क्यान्सरको दागहरु आयो र सिरोसिसको कारणले मृगौलामा असर पर्न थाल्यो भन्ने यस्तो अवस्थामा मात्र कलेजोको प्रत्यारोपण गर्ने उनले स्पष्ट पारे ।
कलेजो रोगको उपचारमा २०–२५ वर्षमा नेपालले राम्रो फड्को मारेको बताउँदै उनले कलेजो रोगसँग सम्बन्धि ९९ प्रतिशत उपचार सम्भव रहेको दाबी गरे ।
‘कलेजो रोगको उपचारमा अहिले २०–२५ वर्षमा राम्रो फड्को मारेको छ ।
हेपाटाइटिस ‘बी’, ‘सी’ को हामी उपचार गर्छौं । हेपाटाइटिस ‘सी’को उपचार एकसय प्रतिशत अहिले सक्सेस छ । हेपाटाइटिस ‘बी’को संसारमा जे औषधि पाइन्छ, ती सबै औषधि नेपालमा उपलब्ध छ ।
रोगहरुमध्ये ९५ प्रतिशत उपचार नेपालमै संभव छ । रिफर रेट पनि धेरै घटेको छ । अर्को ठाउँमा रिफर गर्दैनौँ,’ उनले भने ।
उनको अनुसार ट्रान्सप्लान्ट गरेको कलेजो एक वर्षसम्म बाँच्ने सम्भावना एकसय प्रतिशत, पाँच वर्ष बाँच्ने सम्भावना ७५ प्रतिशत र १० वर्ष बाँच्ने सम्भावना ५० प्रतिशत हुन्छ ।
यसैगरी अस्वस्थ जीवनशैलीका कारण पछिल्लो समय कलेजोसम्बन्धी रोग, फ्याटी लिभरको समस्या बढ्दै गएको हेपाटोलोजिष्ट डाक्टर जैशी बताउँछन् । उनले तयारी खानेकुरा (प्रिपेयर फुड), जंक फुडको बढी सेवन, शारीरिक व्यायामको कमी लगायतका कारण कलेजोमा चिल्लो जम्ने समस्या बढेको उल्लेख गरे ।
डा. जैशीका अनुसार अस्वस्थ्यकर खानपान, मदिरा सेवन तथा चिकित्सकको सल्लाहबिनै औषधि सेवन गर्नु कलेजोका लागि हानिकारक हुन्छ । ‘डाक्टरलाई नदेखाई औषधि किनेर खाने, अरूले खाएर निको भएको भन्दै आफू पनि त्यही औषधि सेवन गर्ने प्रवृत्तिले कलेजोलाई गम्भीर क्षति पु¥याउन सक्छ,’ उनले भने ।
कलेजोलाई जीवनभर स्वस्थ राख्नका लागि डा. जैशीले चार–पाँच महत्वपूर्ण सुझाव सम्धै दिने गरेको बताए । उनका अनुसार मदिरा सेवन नगर्ने, तौल बढ्न नदिने, आयुर्वेदिक जडीबुटी तथा दुखाइ कम गर्ने औषधि चिकित्सकको सल्लाहबिनै नखाने मुख्य उपाय हुन् । यदि औषधि खानै परेमा अनिवार्य रूपमा डाक्टरको परामर्श लिनुपर्ने उनले जोड दिए ।
त्यसैगरी कलेजोमा कुनै समस्या भएको शंका लागेमा भिडियो एक्स–रे र लिभर फङ्सन टेस्ट (एलएफटी) जस्ता परीक्षण गर्नुपर्ने डा.जैशीले सुझाव दिए । परीक्षणमा केही असामान्य देखिएमा तुरुन्तै कलेजो रोग विशेषज्ञसँग सम्पर्क गर्नुपर्ने उनको भनाइ छ ।
For more: Cost of Liver Transplant in Nepal



