कृषि क्षेत्रमा ‘कनेक्ट किसान’ को एआई–आधारित भ्वाइस एडभाइजरी प्रणाली प्रस्तुत, दुईदिने कार्यक्रम सम्पन्न

Connect Kisan AI-Enabled Voice
Share It On:

१५ असार, काठमाडौं ।

नेपाली कृषि क्षेत्रमा कृत्रिम बुद्धिमत्तामार्फत सेवा प्रवाह गर्ने उद्देश्यले तयार गरिएको ‘कनेक्ट किसान’ एपको एआई–आधारित भ्वाइस एडभाइजरी प्रणाली औपचारिक रूपमा प्रस्तुत गरिएको छ। एआई र डिजिटल प्रविधिमा आधारित कृषि रूपान्तरणलाई प्रोत्साहन गर्न आयोजित ‘ए²–एग्री एण्ड एआई इनोभेसन स्टोरीटेलिङ’ नामक दुईदिने कार्यक्रममा उक्त प्रणाली प्रस्तुत गरिएकाे हाे ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), खुमलटारमा असार १२ गतेदेखि सुरु भएको कार्यक्रमको दोस्रो दिन असार १३ गते नर्म एग्रो फार्ममा एआई–सञ्चालित बाली अनुगमन र पशुधन व्यवस्थापन प्रणालीहरूको प्रत्यक्ष प्रदर्शन गरिएको थियो।

कार्यक्रममा पूर्व कृषि सचिव योगेन्द्र कार्कीले डिजिटल युगमा एआईको भूमिका झनै महत्वपूर्ण हुँदै गएको उल्लेख गर्दै, स्थानीय आवश्यकतालाई सम्बोधन गर्ने प्रविधि र नवप्रवर्तनलाई राज्यले प्रोत्साहन गर्नुपर्नेमा जोड दिए। “हामीले अब नीति निर्माणमै प्रविधिलाई समेट्नुपर्छ,” उनले भने, “यस्ता प्रयासहरूले युवालाई कृषि क्षेत्रमा फर्काउन पनि मद्दत पुर्‍याउँछ।”

‘कनेक्ट किसान’ एपका निर्देशक राजन दाहालले प्रस्तुतिमा किसानहरूको लागि विकसित गरिएको एपको जानकारी दिँदै, टेक्स्ट बेस्ड एप भन्दा भ्वाइस बेस्ड प्रणाली नेपाली किसानका लागि सहज र उपयोगी हुने निष्कर्ष सुनाए। “हामीले किसानको भाषा र व्यवहारलाई बुझेर एप तयार गरेका छौं,” दाहालले भने, “हाल प्रारम्भिक चरणमै भए पनि दुई हजारभन्दा बढी प्रश्न प्राप्त भइसकेका छन्।”

कार्यक्रममा डा. अनुपमा श्रेष्ठले ‘माटोमा जीवाणुको महत्व’ शिर्षकमा प्रस्तुति दिँदै, तरकारी बालीमा लाग्ने रोगहरू नियन्त्रण गर्न डिजिटल प्रविधि र एआई प्रयोग गर्न सकिने उदाहरण प्रस्तुत गरिन्। क्लब रुट डिजिज, मसरुम रोगजस्ता समस्याबारे उनले जानकारी दिँदै विषादीमुक्त तरकारी बिक्रीबाट २० प्रतिशत बढी आम्दानी हुने तथ्यांक प्रस्तुत गरिन्।

त्यस्तै, सीआईएमएमवाईटीका सतिश मर्हजनले नेपालका विभिन्न क्षेत्रका माटो, मल, बाली तथा जैविक संरचनाबारे जानकारी दिने डिजिटल सोयल म्यापबारे प्रस्ट पारे। उनले छरिएका माटोसम्बन्धी डाटाहरुलाई मेसिन लर्निङ फर्म्याटमा रूपान्तरण गरिएको बताए।

कार्यक्रममा अनुसन्धानकर्ता, नीति निर्माता, किसान, युवा उद्यमी र स्टार्टअप प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। आयोजकका अनुसार कार्यक्रममा प्रस्तुत समाधान र प्रविधिहरूले नेपाली कृषि क्षेत्रको भविष्यलाई एआईमार्फत अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।

For more: Connect Kisan AI-Enabled Voice Advisory


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *