८ साउन, काठमाडौं।
नेपाल उद्योग परिसंघले परराष्ट्रमन्त्री आरजु राणा देउवा र मुख्य सचिव एक नारायण अर्यालसँग छुट्टा छुट्टै छलफल गरेको छ । परराष्ट्रमन्त्रीसँगको छलफलमा परिसंघका नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज पाण्डेले आर्थिक कुटनीतिलाई जोड दिनुपर्ने बताउनुभयो ।
उहाँले स्वदेशी लगानीले मात्रै देशले लिएको लक्ष्य हासिल गर्न सम्भव नभएको हुँदा वैदेशिक लगानी आकर्षित गर्ने कानुनी, नीतिगत एवं सहज व्यवसायिक वातावरण बनाउन आवश्यक रहेको बताउनुभयो ।
उहाँले देशगत रुपमा विशिष्ट आर्थिक रणनीति बनाउन, विदेशी बजारमा नेपाली वस्तुहरुको प्रबद्र्धन गर्न नेपाली दूतावास तथा नियोगहरुलाई प्रभावकारी रुपमा परिचालन गर्नुपर्नेमा जोड दिनुभयो ।
परिसंघले आगामी एक दशकभित्र मुलुकको अर्थतन्त्रको आकार १०० अर्ब डलर पुर्याउने र दोहोेरो अंकको आर्थिक बृद्धि हासिल गर्ने लक्ष्य राखेको बताउनुभयो । यसका लागि सरकारले आवश्यक सहजीकरण गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।
परराष्ट्रमन्त्री देउवाले स्वदेशीसँगै विदेशी लगानी बढाउन सरकारले कानुनी एवं नीतिगत सुधारलाई प्राथमिकतामा राखेको बताउनुभयो । सरकारले केही कानुनहरुमा संशोधन गरिसकेको उदाहरण दिनुहुँदै उहाँले अन्य कानुनहरुको संशोधन गर्न लागेको समेत जानकारी गराउनुभयो । उहाँले निजी क्षेत्रलाई प्रवद्र्धन नगरेसम्म आर्थिक विकास सम्भव नहुने हुँदा निजी क्षेत्रका समस्या समाधानमा सरकार गम्भिर रहेको बताउनुभयो ।
यसैगरी मुख्य सचिव अर्यालले नवनिर्वाचित परिसंघको टिमलाई बधाई दिनुहुँदै उद्योग र निजी क्षेत्र बिना अर्थतन्त्र अगाडि बढ्न सक्दैन भन्नेमा स्पष्ट रहेको बताउनुभयो । निजी क्षेत्रको लगानी अभिबृद्धि गर्न सरकारले कानुनी एवं नीतिगत सुधारलाई प्राथमिकतामा राखेको उहाँले बताउनुभयो ।
आर्थिक क्षेत्र, औद्योगिक विकास एवं वनसँग सम्बन्धितलगायत अन्य करिब १२० वटा कानुन सरकारले संशोधनको तयारी गरिरहेको बताउनुभयो । समग्र अर्थतन्त्रको विकासका लागि क्षेत्रगत रुपमा सुझाव दिन समेत उहाँले आग्रह गर्नुभयो ।
मुख्य सचिव अर्यालले स्वदेशी उत्पादनको प्रयोग बढाउन सरकारले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग सम्बन्धी निर्देशिका ल्याएको बताउनुभयो । साथै उहाँले सार्वजनिक खरिद ऐन संशोधन गरी अनिवार्य स्वदेशी वस्तुको प्रयोग गर्नुपर्ने व्यवस्था गर्न लागिएको समेत जानकारी गराउनुभयो ।
छलफलमा परिसंघका उपाध्यक्षहरु राज बहादुर शाह, हेम राज ढकाल, पदाधिकारी सदस्य सन्दीप शारडा, विदूषी राणा, महानिर्देशक डा. घनश्याम ओझालगायत सहभागी हुनुहुन्थ्यो ।
For more: CNI Meeting Chief Secretary