सिटिजन्स बैंकको १९औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न
Mina Aryal बैंकिङ/बिमा, विशेष(Front-Center), समाचार 0
१२ मंसिर, काठमाडौं।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १९औं वार्षिक साधारण सभा शुक्रबार २०७९ साल मंसिर १२ गते (२०८२ को वर्ष), काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्ड एण्ड बैंक्वेटमा सम्पन्न भएको छ।
सभा बैंकका सञ्चालक समितिका अध्यक्ष प्रवल जङ्ग पाण्डेको अध्यक्षतामा सम्पन्न भयो।
सभामा आर्थिक वर्ष २०८१/८२ का लागि संचालक समितिको वार्षिक प्रतिवेदनमाथि विस्तृत छलफल गरी पारित गरियो।
साथै, बैंकका लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ आषाढ मसान्तसम्मको NFRS बमोजिम तयार गरिएको वासलात, नाफा–नोक्सानी, नगद प्रवाह विवरण लगायत सबै एकीकृत वित्तीय विवरणहरू सभाले सर्वसम्मतिले स्वीकृत गर्यो।
सभाले आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजी रु. १४,७६९,०१२,९६६/- को ५ प्रतिशत बराबरको रु. ७३८,४५०,६४८.३० बोनस शेयर वितरण गर्ने निर्णय पारित गर्यो।
साथै, बोनस कर प्रयोजनका लागि ०.२६३ प्रतिशतका दरले रु. ३८,८६५,८२३.५९ नगद लाभांश दिने प्रस्ताव पनि अनुमोदन गरियो। यसअनुसार बैंकले जम्मा रु. ७७७,३१६,४७१.८९ बराबरको लाभांश वितरण गर्नेछ।
बैंकले आर्थिक वर्ष २०६५/६६ देखि निरन्तर लाभांश वितरण गर्दै आएको छ भने १९ वर्षको औसत लाभांश दर १०.४० प्रतिशत रहेको सभालाई जानकारी गराइयो।
अध्यक्ष पाण्डेले शेयरधनीहरूको सुझावअनुसार बैंकको काम काजलाई अझ प्रभावकारी बनाइने उल्लेख गर्दै आगामी दिनमा संस्थागत सुशासन तथा अनुपालनलाई थप सुदृढ बनाइने प्रतिबद्धता जनाए।
उनले शेयरधनी, ग्राहक तथा सम्पूर्ण सरोकारवालाबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै निरन्तर सहयोगको अपेक्षा व्यक्त गरे।
सभामा बैंकले पछिल्ला उपलब्धिहरूको जानकारी पनि प्रस्तुत गरियो। हालै बैंकले “बैंक अफ द ईयर २०२४” को प्रतिष्ठित अन्तर्राष्ट्रिय उपाधि हासिल गरेको छ।
बैंकले फोनपे–सँग सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” नामक भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको जनाएको छ।
त्यसैगरी बैंकले युवा लक्षित “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट”, एकीकृत अनलाइन बैंकिङ प्लेटफर्म “सिटिजन्स डिजी बैंक सेवा”, तथा फ्रीलान्सरहरूका लागि विशेष “फ्रिलान्सर सेभिङ्ज अकाउन्ट” सुरु गरेको छ।
साथै, नेपालमै पहिलोपटक मोबाइल बैंकिङ एपबाट नै शेयर आवेदन र CRN सेवा प्राप्त गर्न सकिने सुविधा तथा क्रस बैंक टेलर सेवा सुरु गरिएको छ, जसअन्तर्गत अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखामा क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्छन्।
सिटिजन्स बैंकले हाल देशभर ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखा–रहित बैंकिङ इकाइ मार्फत १९ लाख ५६ हजार भन्दा बढी ग्राहकलाई सेवाप्रदान गरिरहेको छ।



