२७ भदौ, काठमाडौं।
सीजी समूह (#चौधरीग्रुप)का प्रबन्ध निर्देशक निर्वाण चौधरीले हालैको तोडफोड र आगजनीलाई कम्पनीको इतिहासकै सबैभन्दा पीडादायी क्षण भएको बताएका छन्।
उनले फेसबुकमार्फत भावुक सन्देश जारी गर्दै केही दिनअघि सुरु भएको जवाफदेही र सुधारको मागसहितको युवा आन्दोलन बाह्य शक्ति र अराजक समूहले हिंसा र विनाशतर्फ मोडिदिएको दाबी गरेका छन्।
चौधरीले भनेका छन्, “शान्तिपूर्ण रूपमा राम्रो नेपाल बनाउन गरिएको आह्वान हिंसा, लुटपाट र विनाशमा परिणत भयो। व्यक्तिगत रूपमा लक्षित गरियो, घरमा आगजनी भयो, कारखाना तथा कार्यालयमा क्षति पुर्याइयो र शो रुमहरू लुटिए।
दशकौँको परिश्रम, त्याग र प्रतिबद्धता केही घण्टामै खरानीमा परिणत भएको पीडा हामीले भोग्यौँ।”
उनका अनुसार संकटका बीच पनि समूहका नेतृत्व, प्रबन्धक र कर्मचारीले आफ्नै सुरक्षाको पर्वाह नगरी सम्पत्ति जोगाउन र ग्राहकलाई निराश नबनाउन दिनरात खटिएका थिए।
“हो, हामी घाइते छौँ। हो, हामी हल्लिएका छौँ, तर हामी भंग भएका छैनौँ। दुष्कर्मीहरूले हाम्रो भवन जलाउन सक्छन्, तर हाम्रा सपना जलाउन सक्दैनन्,” चौधरीले उल्लेख गरेका छन्।
उनले चौधरी समूह नेपालकै ठूलो करदाता, प्रमुख रोजगारीदाता र राष्ट्र निर्माणमा अग्रणी संस्था भएको उल्लेख गर्दै भूकम्प, बाढी वा महामारीजस्ता संकटमा जस्तै अहिले पनि आफ्नो जिम्मेवारी निभाउने प्रतिबद्धता व्यक्त गरे।
चौधरीले पुनर्निर्माणमार्फत अझ बलियो भएर अघि बढ्ने विश्वास व्यक्त गर्दै भने, “यो विपत्तिबाट नयाँ शक्ति, नयाँ विचार, नयाँ प्रणाली र नेपाली जनताप्रतिको अझ गहिरो प्रतिबद्धता जन्मिनेछ। इतिहासले हाम्रो विनाशलाई होइन, त्यसपछि हामी कसरी अझ गौरवपूर्ण र एकतामा उदायौँ भन्ने कुरा सम्झनेछ।”
For more: Chaudhary Group rebuilding