चौधरी ग्रुपले जेनजी आन्दोलनका शहिद परिवारका सदस्यलाई रोजगारी दिने
२२ असोज २०८२, काठमाडौं ।
जेनजी आन्दोलनका शहिदप्रति सम्मान व्यक्त गर्दै चौधरी ग्रुपले आन्दोलनका प्रत्येक शहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने निर्णय गरेको छ।
चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्माण चौधरीले बुधबार सामाजिक सञ्जालमार्फत यस निर्णयको घोषणा गर्दै शहिदप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनले शहिद परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै भनेका छन् कि यो केवल वाचा मात्र नभई गहिरो कर्तव्य र सम्मान पनि हो।
उनले भनेका छन्, “Gen Z आन्दोलनका शहीदप्रति चौधरी ग्रुपको तर्फबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ। आन्दोलनका क्रममा हाम्रो निजी निवास, कार्यालय, शोरूम र कारखानामा भएको ठूलो क्षति र विध्वंसले हामीलाई गहिरो पीडा दिएको छ। यद्यपि, हामी दृढ आत्मविश्वासका साथ पुनःनिर्माणको यात्रामा अघि बढेका छौँ।”
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ७२ जनाले मृत्युवरण गरेका थिए। सरकारले मृतकप्रति शहिद घोषणा गर्दै प्रत्येक परिवारलाई १० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको थियो।
चौधरी ग्रुपले शहिद परिवारलाई रोजगारी उपलब्ध गराउन सुरु गरेको जानकारी दिँदै प्रवन्ध निर्देशक चौधरीले सम्पर्कका लागि कर्पोरेट कम्युनिकेसन विभाग प्रमुख मधुसूदन पौड्याल (मोबाइल: 9851224000) मा सम्पर्क गर्न आग्रह गरेका छन्।
चौधरी ग्रुपको यो पहलले शहिद परिवारप्रति सम्मान, सहानुभूति र सामाजिक जिम्मेवारीको उदाहरण प्रस्तुत गरेको छ।