ज्योति विकास बैंकका कर्मचारीमाथि भएको दुर्व्यवहारप्रति सिबिफिनको कडा आपत्ति
२९ मंसिर, काठमाडौं ।
ज्योति विकास बैंकका कर्मचारीमाथि भएको गम्भीर दुर्व्यवहारको घटनाप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले कडा आपत्ति जनाएको छ।
सिबिफिनले उक्त घटनालाई अत्यन्तै लज्जास्पद, घृणित, पशुवत र अस्वीकार्य व्यवहारको संज्ञा दिँदै घोर भर्त्सना गरेको छ। निहित स्वार्थका लागि बैंक तथा वित्तीय संस्था जस्ता संवेदनशील क्षेत्रमाथि गरिएको यस्तो आक्रमणले कर्मचारीको मनोवैज्ञानिक स्वास्थ्यमा गम्भीर असर पार्ने भन्दै दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरिएको छ।
सिबिफिनका अनुसार बैंकिङ क्षेत्रका कर्मचारीमाथि भएको आक्रमण केवल व्यक्तिगत वा संस्थागत विषय मात्र नभई नेपाल सरकारमाथिको प्रत्यक्ष चुनौतीसमेत हो। बैंक तथा वित्तीय संस्थाको साख, गरिमा र सम्पत्तिमा क्षति पुर्याउने वा बैंकिङ सेवामा अवरोध सिर्जना गर्ने कुनै पनि प्रयासलाई अत्यन्त संवेदनशील रूपमा लिनुपर्ने सिबिफिनको धारणा छ। यसै सन्दर्भमा संघीय, प्रदेश र स्थानीय सरकार, गृह मन्त्रालय तथा सम्बन्धित सबै निकायलाई बैंक तथा वित्तीय संस्था र कर्मचारीको प्रभावकारी सुरक्षा सुनिश्चित गर्न अपील गरिएको छ।
घटना सप्तरी जिल्लाको रुपनीस्थित ज्योति विकास बैंक शाखामा मंसिर २५ गते भएको हो। बैंकबाट एसएमई कर्जा लिएको सप्तकोशी इन्ट्रिग्रेटिभ कृषि फार्मले ११८ दिनसम्म कर्जाको साँवा तथा ब्याज भुक्तानी नगरेपछि सो विषयमा छलफल गर्न बैंकका दुई कर्मचारी ऋणीको आग्रहमा पुगेका थिए। तर छलफलका क्रममा स्थानीय तहका जिम्मेवार अधिकारीको उपस्थितिमा रहेका ऋणी र उनका परिवारको समूहले ती कर्मचारीलाई घण्टौँसम्म नियन्त्रणमा लिई कुटपिट गरेको, कालोमोसो दलेको र जुत्ताको माला लगाइदिएको आरोप छ।
त्यस क्रममा कर्मचारीको मोबाइलसमेत खोसिएको र बाहिर सम्पर्क गर्न नदिइएको बैंकले जनाएको छ। अझ गम्भीर रूपमा उक्त घटनामा सप्तकोशी नगरपालिकाकी उपमेयर रिता कुमारी चौधरी संलग्न रहेको आरोप लागेको छ। सार्वजनिक भएको भिडियोमा उपमेयरले बैंकका कर्मचारीमाथि गालीगलौज गरेको देखिएको छ। पछि मेयर कृष्णप्रसाद ढकाल घटनास्थलमा पुगेर उपमेयरलाई घटनाबारे सचेत गराएपछि ‘सामान्य विवाद’ भन्दै मिलापत्र गराइएको बताइएको छ।
घटनापछि ऋणी पक्षबाट बैंक शाखा जलाइदिने र शाखा प्रमुखमाथि समेत दुर्व्यवहार गर्ने धम्की आएपछि ज्योति विकास बैंकले रुपनी शाखा अस्थायी रूपमा बन्द गरेको छ। बैंकले नेपाल राष्ट्र बैंक, सिबिफिन, डेभलपमेन्ट बैंकर्स एसोसिएसनलगायत निकायलाई घटनाबारे जानकारी गराइसकेको छ भने जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दर्ता भई अनुसन्धान प्रक्रिया अघि बढेको छ।
सिबिफिनले अर्धन्यायिक निकायको रूपमा रहेका स्थानीय तहका जिम्मेवार अधिकारीको उपस्थितिमै कर्मचारीमाथि भएको यस्तो हिंसात्मक आक्रमणप्रति गम्भीर आपत्ति जनाउँदै दोषीलाई कानुनअनुसार कडा कारबाही गर्न नेपाल सरकार, गृह मन्त्रालय र मातहतका सुरक्षा निकायसमक्ष जोडदार माग गरेको छ।
For More:-CBFIN Objects Jyoti Bank



