२७ भदौ, काठमाडौं ।
नेपाल बैंक लिमिटेडको नगद निक्षेप मेसिन सञ्चालनमा आएको छ । बैंकले काठमाडौंमा रहेको आफ्नो मुख्य शाखा न्युरोड, धर्मपथमा अवस्थित बैंकिङ अफिसमा पहिलो नगद निक्षेप मेसिन सञ्चालनमा ल्याएको हो ।
सो नगद निक्षेप मेसिनको सञ्चालन पछि ग्राहक सेवालाई थप प्रभावकारी तथा डिजिटल मैत्री बनाउँदै अत्याधुनिक बैंकिङ सेवा विस्तार गरिदै लगिने कम्पनीले बताएको छ ।
नयाँ जडान गरिएको मेसिनमा रियल टाइम नगद जम्मा गर्ने सुविधा भएकोले ग्राहकवर्गलाई क्यास काउन्टरबाट मात्र नगद जम्मा गर्नुपर्ने बाध्यता हटेको कम्पनीको भनाइ छ ।
हाल कम्पनीले आफ्नो २२९ शाखा, ५९ एक्टेन्सन काउण्टर र २०४ एटीएम काउण्टरबाट सेवा प्रदान गरिरहेको छ । अत्याधुनिक प्रविधिलाई आत्मसाथ गर्दै समयानुकूल थप सरल र सहज ग्राहक सेवा प्रदान गर्न सधैं कटिबद्ध रहेको पनि कम्पनीको भनाइ छ ।