क्यान इन्फोटेकको दोस्रो दिन, ७५ हजारले गरे अवलोकन

Second Day Can Infotech
Share It On:

३ फागुन २०७६, काठमाडौं ।

काठमाडौंमा जारी क्यान इन्फोटेकको दोस्रो दिन ७५ हजारले अवलोकन गरेको आयोजकले जनाएको छ । क्यान महासंघका महासचिव नारायण थापाका अनुसार बिदा भएकाले पनि शनिबार अवलोकन कर्ताको संख्या बढेको हो । मेलाको पहिलो दिन आइतबार करिब ३५ हजारले अवलोकन गरेका उनले बताए । बुधबार सम्म हुने मेला ४ लाखले अवलोकन गर्ने आयोजकको अनुमान छ ।

शनिबार क्यान इन्फोटेकमा अवलोकन कर्तालाई लक्षित गरी विभिन्न ब्राण्डले छुट र अफरको घोषणा गरेका थिए । त्यस्ता स्टलहरुमा अवलोकन कर्ताको भीड लागेको थियो । यो वर्षको क्यान इन्फोटकमा स्टार्टअप र इन्नोभेसनलाई विशेष महत्व दिइएको आयोजकले जनाएको छ । स्टार्टअप र नवीनतम प्रविधिमा आधारित व्यवसायलाई प्रवद्र्धन गर्न भन्दै क्यानले सार्बजनिक सूचना निकालेर तथा विभिन्न विश्वविद्यालय र कलेजमा पत्राचार गर्दै बिशेषस्टल उपलब्ध गराउने जानकारी दिएको थियो ।

अन्य स्टलको तुलनामा स्टार्टअप र इन्नोभेसनका स्टलमा अवलोकनकर्ताको संख्या कम भए पनि अवलोकनकर्ताको लागि जानकारीमूलक भएको बताए । प्रदर्शनीमा विशेषगरी विद्यालय व्यवस्थपन सम्बन्धी सेवा दिने स्टार्टअप, टिकेटिङ तथा युटिलिटी पेमेन्ट, रगत संकलनमा सहयोग गर्ने जस्ता इन्नोभेटिभ आइडियाहरु प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीमा स्मार्ट घर एप, ई–वेस्ट कलेक्सन, मेरो यात्रा, फाइनेन्शियल नोटिसेस, सोसाइटी डेभलपमेनट डट ओआरजी, स्मार्ट केयर डट कम, काठमाडौं अग्र्यानिक्स, सजिलो मर्मत सेवा, स्कील सेवा, इ–टिकेट नेपाल, सर्वनाम सफ्टवेयर, भेदा, हाम्रो लाइफ बैंक, डिजिटल नेपाल जस्ता स्टार्ट अपको स्टल छन् ।

क्यान इन्फोटकमा स्टार्टअप र इन्नोभेसन पभेलियनमा २० वटा स्टल राखिएका छन् जसमा विद्यार्थी र व्यवसायीले नवीनतम सोच भएका उत्पादन र सेवाबारे जानकारी दिएका छन् ।  ‘स्टार्टअप तथा इनोभेसन सम्बन्धी हामीकहाँ राम्रो ज्ञान छैन । यसकारण अन्य स्टलको तुलनामा यी स्टलमा अवलोकनकर्ताको संख्या कम छ,रुची हुनेहरुले भने यस्ता स्टलमा गएर नवीनतम उत्पादन तथा सेवाबारे जानकारी लिइरहेका छन् ।’

स्टार्टअप र इन्नोभेसनलाई प्रवद्र्धन गर्न क्यान इन्फोटेकमा यस्ता स्टललाई प्राथमिकता दिइएको क्यान महासंघले बताएको छ । क्यान इन्फोटेकको दोस्रो दिन प्रयोग कर्ताले विशेषगरी विभिन्न ब्राण्डका स्टलमा रुची देखाए । केही मोबाइल ब्राण्डले मेलाको क्रममा ५० प्रतिशतसम्म छुट दिइरहेका छन् । छुट र अफर घोषणा गरिएका स्टलमा प्रयोग कर्ताको रुची बढी देखिएको छ ।

यो वर्षको क्यान इन्फोटेकमा साइबर सुरक्षा सम्बन्धी सर्भे पनि गरिएको आयोजकले जनाएको छ । क्यान महासंघले सेन्टर फर साइबर सेक्युरिटी रिचर्स एण्ड इन्नोभेसन काठमाडौं सँगको सहकार्यमा साइबर सुरक्षा सम्बन्धी सर्भेतथा अनुसन्धान गरिरहेको हो । इन्फोटेकमा स्टल राखेर अवलोकन कर्ताहरु माझ साइबर सुरक्षा सम्बन्धी ज्ञानको बिषयमा अनुसन्धान गरिएको हो ।

अनलाइन गेमको प्रतिस्पर्धा

क्यान इन्फोटेकको क्रममा शनिबार इन्टरनेटमा आधारित खेल ई–स्पोर्ट्सको विभिन्न विधामा प्रतिस्पर्धा भएको छ । ओसिएन कम्युटर प्रालिले अनलाइन मार्फत प्रतिस्पर्धा गराएको हो । एमएसआई ई–स्पोर्ट च्याम्पियनसिप २०२० नाम दिएर प्रतियोगिता गराइएको हो ।

च्याम्पियन सिपमा दोटा टु र सीएसओ गेमको प्रतिस्पर्धा गराइएको आयोजकले जनाएको छ । दुवै खेलमा विजेतालाई २५ हजार, दोस्रो हुनेलाई १५ हजार र तेस्रो हुनेलाई १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था छ । दुवै गेममा ८–८ वटा टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *