गोरखामा बूढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत् आयोजना निर्माणको अन्तिम तयारी
८ पुष २०८२, काठमाडौं ।
गोरखामा निर्माण हुन लागेका बूढीगण्डकी ‘क’ र बूढीगण्डकी ‘ख’ दुई ठूला जलविद्युत् आयोजनाको तयारी अन्तिम चरणमा पुगेको छ। यी आयोजनाबाट कुल ३२९ दशमलव ४ मेगावाट विद्युत् उत्पादन हुने लक्ष्य राखिएको छ।
१०३ दशमलव ४ मेगावाट क्षमताको बूढीगण्डकी ‘क’ र २२६ मेगावाट क्षमताको बूढीगण्डकी ‘ख’ आयोजना नौलो नेपाल हाइड्रो इलेक्ट्रिक कम्पनी प्रालिले प्रवर्द्धन गर्ने भएको हो। दुवै आयोजना रन अफ द रिभर प्रविधिमा आधारित हुनेछन्।
कम्पनीका अनुसार बूढीगण्डकी ‘क’ आयोजना निर्माणका लागि करिब ३१ अर्ब ३२ करोड रुपैयाँ लागत अनुमान गरिएको छ। यस आयोजना अन्तर्गत धार्चे गाउँपालिका–३ को लुस्याङमा बाँध निर्माण गरी करिब चार किलोमिटर लामो सुरुङमार्फत पानी माछाखोलामा ल्याइनेछ। त्यहाँ निर्माण हुने विद्युत् गृहमा १११ मिटरको सतहबाट पानी खसालेर विद्युत् उत्पादन गरिने योजना छ।
बूढीगण्डकी ‘क’ आयोजनाबाट उत्पादन भएको विद्युत् १२ दशमलव ७ किलोमिटर लामो प्रसारण लाइनमार्फत बूढीगण्डकी ‘ख’ आयोजनामा जोडिनेछ।
यस्तै, २२६ मेगावाट क्षमताको बूढीगण्डकी ‘ख’ आयोजनाको बाँध धार्चे गाउँपालिका–७ को खानीबेंसीमा निर्माण गरिनेछ। त्यहाँबाट ९ दशमलव ५ किलोमिटर लामो सुरुङमार्फत पानी सोतीस्थित विद्युत् गृहमा पुर्याइनेछ। यस आयोजनामा १९७ दशमलव ९७ मिटरको उचाइबाट पानी खसालेर विद्युत् उत्पादन गरिने छ। यस आयोजनाको अनुमानित लागत ५६ अर्ब ९९ करोड रुपैयाँ रहेको छ।
आयोजनाका इञ्जिनियर दुर्गेश मगरका अनुसार दुवै आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) र विद्युत् खरिद सम्झौता (पीपीए) सम्पन्न भइसकेको छ। भूकम्पअघि गरिएको सर्वेक्षणपछि भूकम्पले ल्याएको परिवर्तनलाई समेट्दै अन्तिम सर्वेक्षणको काम भइरहेको छ।
उनका अनुसार आउँदो सुक्खायामबाट दुवै आयोजनाको निर्माण कार्य सुरु गर्ने तयारी गरिएको छ।
यी दुवै आयोजना तथा बूढीगण्डकी ‘क’ बाट थप प्राप्त हुने विद्युत् गरी कुल ३२९ दशमलव ४ मेगावाट विद्युत् १८ दशमलव ५ किलोमिटर टाढा धादिङको लापा स्थित सवस्टेशनमा जोडिनेछ।
For More:-Budhigandaki Hydropower Gorkha Construction



