ब्रोडवे इन्फोसिसलाई ‘डिजिटल ट्यालेन्ट डेभलपमेन्ट’ अवार्ड: नेपालको आईटी क्षेत्रमा ऐतिहासिक उपलब्धि

Broadway Infosys Wins WITSA Digital Talent
Share It On:

 ५ भदौ, काठमाडौं ।

सूचना प्रविधिसम्बन्धी व्यावसायिक तालिम प्रदान गर्दै आएको ब्रोडवे इन्फोसिस प्रालिले विश्व प्रतिष्ठित ‘डिजिटल ट्यालेन्ट डेभलपमेन्ट’ अवार्ड जितेर नेपालको आईटी क्षेत्रमा एउटा ऐतिहासिक उपलब्धि हासिल गरेको छ।

वर्ल्ड इन्नोभेसन, टेक्नोलोजी एन्ड सर्भिसेज एलायन्स (WITSA) द्वारा ताइवानको ताइपेईमा आयोजित ‘विट्सा ग्लोबल एआई समिट २०२५’ अन्तर्गत अगस्ट १९ मा सम्पन्न एक विशेष समारोहमा ब्रोडवेलाई यो सम्मान प्रदान गरिएको हो।

नेपालको डिजिटल रूपान्तरणमा ब्रोडवेको योगदानको कदर

आयोजक विट्साका अनुसार, ब्रोडवे इन्फोसिसलाई व्यावसायिक आईटी तालिममार्फत नेपालको शिक्षा तथा प्रविधि क्षेत्रमा पुर्‍याएको महत्त्वपूर्ण योगदान, साथै दक्ष जनशक्ति उत्पादनमा खेलेको उल्लेखनीय भूमिकाको कदर गर्दै यो अवार्ड प्रदान गरिएको हो। यो पुरस्कारले देशको डिजिटल रूपान्तरणमा ब्रोडवेले खेलेको अग्रणी भूमिकाको पनि उच्च प्रशंसा गरेको छ।

अवार्ड ग्रहण र यसको महत्त्व

‘विट्सा ग्लोबल एआई समिट २०२५’ को अवसरमा आयोजित पुरस्कार वितरण समारोहमा ब्रोडवे इन्फोसिसका निर्देशकद्वय हरिकृष्ण अधिकारीउत्तम अधिकारीले संयुक्त रूपमा उक्त अवार्ड ग्रहण गर्नुभयो। ब्रोडवे इन्फोसिसले यो पुरस्कार केवल आफ्नो समर्पणको परिणाम मात्र नभई नेपालको समग्र आईटी परिदृश्यमा परेको सकारात्मक प्रभावको प्रमाण भएको प्रतिक्रिया जनाएको छ। यो अवार्डले नेपाली आईटी कम्पनीहरूको विश्वव्यापी क्षमतालाई पनि प्रदर्शन गरेको छ।

विट्सा र ग्लोबल एआई समिटको भूमिका

विट्सा विश्वका ८० भन्दा बढी देशका सूचना तथा सञ्चार प्रविधिसम्बन्धी संस्थाहरूको छाता संगठन हो। नेपालको तर्फबाट कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ विट्साको सदस्य रहेको छ। विट्साले आयोजना गर्ने ग्लोबल एआई समिटलाई विश्वभरका उद्योग, सरकार, प्राज्ञिक तथा अनुसन्धान संस्थाका नेतृत्वकर्तालाई एउटै मञ्चमा ल्याउने महत्त्वपूर्ण अवसर मानिन्छ। यस वर्षको समिट ‘एआई सेपिङ द डिजिटल वर्ल्ड’ थिममा केन्द्रित थियो, जसले आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग र विकासमा जोड दिएको थियो।

‘डिजिटल ट्यालेन्ट डेभलपमेन्ट’ विधासहित विभिन्न १३ विधामा प्रदान गरिएको अवार्डका लागि विश्वभरबाट सयौँ कम्पनीले मनोनयन दर्ता गराएका थिए, जसमा ब्रोडवे इन्फोसिसले सफलता प्राप्त गरेको हो।

क्यान महासंघको सक्रिय सहभागिता र नेपालको प्रतिनिधित्व

अवार्ड समारोहको अघिल्लो दिन क्यान महासंघको टोलीले ताइवानी डिजिटल अफेयर्स मन्त्रालयका मन्त्री डा. यु–नेन ह्वाङलाई भेट गरी नेपालको डिजिटल यात्रा र क्यान महासंघले नेपाल सरकार तथा मातहतका निकायसँग विभिन्न नीति निर्माणमा खेलेको भूमिकाका बारेमा जानकारी गराएको थियो।

उक्त अवसरमा हालै जारी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति निर्माणमा क्यान महासंघले नेपाल सरकारलाई दिएको सुझावलगायतका विषयमा महासंघका महासचिव चन्द्र विलास भुर्तेलले विस्तृत जानकारी दिनुभएको थियो।

कार्यक्रममा क्यान महासंघका निवर्तमान अध्यक्ष तथा विट्साका कोषाध्यक्ष रणजित कुमार पोदार, क्यान महासंघका प्रबन्धक उदिप बराल, होरिवन नेपालका निर्देशक जितेन्द्र पोद्दारलगायतको समेत सहभागिता रहेको थियो।

ब्रोडवे इन्फोसिसको यो उपलब्धिले नेपाललाई विश्वव्यापी प्रविधि मानचित्रमा थप उचाइमा पुर्‍याएको छ र नेपाली प्रतिभा तथा व्यावसायिकताको सम्मान गरेको छ। यसले भविष्यमा नेपालको सूचना प्रविधि क्षेत्रलाई थप सशक्त बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।

For more: Broadway Infosys Wins WITSA Digital Talent Award


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *