ब्रिज भर्सेज बफर स्टेट: नेपालको आर्थिक कूटनीति र चुनौती
२० चैत, काठमाडौँ।
कर्पोरेट नेपालको १२औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित विशेष बहस कार्यक्रममा विज्ञहरूले नेपालको भू-राजनीतिक अवस्था र आर्थिक कूटनीतिबारे महत्त्वपूर्ण धारणा राखेका छन्।
पूर्वमुख्यसचिव शंकरदास बैरागीले नेपालले ‘ब्रिज स्टेट’ (सेतु राष्ट्र) र ‘बफर स्टेट’ (संरक्षक राष्ट्र) बीचको सूक्ष्म भिन्नता र सन्तुलन बुझेर मात्र अघि बढ्नुपर्नेमा जोड दिएका छन्। उनका अनुसार नेपालले भारत र चीनबीचको सम्बन्धको गहिराइलाई विश्लेषण गर्दै दुवैतर्फ जोड्ने प्रभावकारी भूमिका खेल्नुपर्छ।
दुई ठूला छिमेकीबीच साझा आधार (Common Ground) पहिचान गर्न सके मात्र नेपाल ‘सेतु’ बन्न सफल हुने उनको तर्क छ।
बहसमा बैरागीले आन्तरिक राजनीतिक स्थिरता र सुदृढता नै बाह्य सम्बन्ध व्यवस्थापनको मुख्य कडी भएको उल्लेख गरे। वर्तमान सरकारमा युवा पुस्ताको बाहुल्यता रहेकाले यसले अन्तर्राष्ट्रिय परिदृश्यमा नेपालको भूमिकालाई नयाँ र स्पष्ट ढङ्गले परिभाषित गर्नुपर्ने चुनौती र अवसर दुवै रहेको उनको भनाइ छ।
कार्यक्रममा सांसद सुशान्त वैदिक, व्यवसायी राजेन्द्र खेतान, विज्ञ दीपक ज्ञवाली, अर्थशास्त्री गोविन्दराज पोखरेल र सांसद सुलभ खरेल लगायतले नेपालको उद्योग र कूटनीतिक रणनीतिबारे चर्चा गरेका थिए।
सो अवसरमा संस्थाको १२औं वर्षगाँठलाई लक्षित गर्दै एक सयभन्दा बढी तस्वीरहरूको प्रदर्शनी समेत गरिएको थियो।
For more: Bridge vs. Buffer State


