यूएईमाथि नेपालको १ रनको रोमाञ्चक जित: दीपेन्द्र सिंह ऐरीको जादु
२६ असोज २०८२, काठमाडौं ।
आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्स अन्तर्गत यूएईसँगको खेलमा नेपालले १ रनको रोमाञ्चक जित हासिल गरेको छ।
यो खेल ‘यदि तपाईं मुटुको रोगी हुनुहुन्छ भने कहिल्यै नेपाली क्रिकेट म्याच नहेर्नुहोस्’ भन्ने भनाइलाई चरितार्थ गर्दै अन्तिम बलसम्म निकै उतारचढावपूर्ण रह्यो।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर आसिफ शेखको अर्धशतक (४७ बलमा ५१ रन) को मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १४० रन बनायो।
कुशल भुर्तेलले २८ रन तथा कप्तान रोहित पौडेलले २० रनको योगदान दिए भने गुल्शन झाले ५ बलमा १४ रन बनाएर इनिङ्सलाई गति दिए। पहिलो १० ओभरमा ७३-१ को बलियो अवस्थामा रहेको नेपालले त्यसपछि रन गतिलाई दोब्बर बनाउन सकेन।
१४१ रनको लक्ष्य पछ्याएको यूएई एक समय ८२-१ को बलियो अवस्थामा थियो। तर, नेपाली बलरहरूले त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै यूएईमाथि दबाब बनाउन सफल भए। ९९-६ को अवस्थामा पुगेको यूएईलाई ध्रुव पराशर (३८ रन) ले ठुला सटहरू खेल्दै खेलमा फर्काएका थिए।
अन्तिम ओभरमा १० रन आवश्यक हुँदा कप्तान रोहित पौडेलले बल दीपेन्द्र सिंह ऐरीलाई दिए। पराशरले पहिलो बलमा छक्का प्रहार गरे पनि लगत्तैको बलमा दीपेन्द्रले उनलाई क्याचआउट गराए, जसले गर्दा खेल फेरि नेपालको पक्षमा मोडिएको थियो।
अन्तिम २ बलमा ३ रन आवश्यक हुँदा अर्को रनआउट प्रयासमा सर्ट रन भएपछि यूएईले कुनै रन जोड्न सकेन र १ बलमा ३ रन चाहिँदा यूएईले १ रन मात्र जोड्न सक्यो।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २२ रन दिएर ३ महत्त्वपूर्ण विकेट लिए। सन्दीप लामिछाने, सोमपाल कामी र गुल्शन झाले पनि १-१ विकेट लिए।
यूएईका लागि अलिशान सराफूले अर्धशतकीय पारी खेल्दै ५८ रन बनाए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन।
For more: Airee’s Heroics Seal Thrilling One-Run Win