नेपालको पहिलो ‘एआई सुरक्षा भेला’ मार्फत जिम्मेवार एआई बारे राष्ट्रिय संवाद सुरु

AI Safety Meet-Up Kathmandu Nepal
Share It On:

१० भदौ, काठमाडौं ।

नेपालको पहिलो एआई सुरक्षा भेला (AI Safety Meet-Up) ले ६० भन्दा बढी प्रख्यात प्राविधिक नेतृत्व, विद्यार्थी र आविष्कारकहरूलाई एकै ठाउँमा ल्याएको छ । यस भेलाको मुख्य उद्देश्य नेपालमा जिम्मेवार, नैतिक र दूरदर्शी कृत्रिम बुद्धिमत्ता (एआई) को विकास र प्रयोगबारे एउटा महत्त्वपूर्ण राष्ट्रिय संवाद सुरु गर्नु थियो ।

नेपालमा पहिलो पटक आयोजना भएको यस किसिमको कार्यक्रम नेपाली संस्थाएनोभेटर्सर बेलायतस्थित गैर-नाफामूलक संस्था ‘ब्लुडट ईम्प्याक्टको संयुक्त आयोजनामा भएको थियो । कार्यक्रममा वक्ताहरूले सूचनामूलक प्रस्तुतिहरू दिँदै जिम्मेवार र नैतिक रूपमा एआईको विकास गर्न किन महत्त्वपूर्ण छ भन्ने कुरामा जोड दिए।

भेलाको मुख्य आकर्षण नेपाल सरकारका पूर्व सचिव मधु कुमार मरासिनीको किनोट स्पिच रहेको थियो । उनले ‘एआई गभर्नेन्स: एआई सुरक्षा र गभर्नेन्सका लागि नीतिगत आधारहरू’ शीर्षकमा आफ्ना विचारहरू प्रस्तुत गरे । उनले पछिल्लो समयमा भएको प्रविधिको तीव्र विकास र नेपालले जिम्मेवार एआई प्रणाली निर्माण गर्न गरिरहेको प्रयासबारे चर्चा गरे ।

उनले नवीनतम प्रविधिहरू अँगाल्दै अघि बढ्नुपर्ने र सबै नागरिकलाई डिजिटल प्रविधिहरूको प्रयोगबारे बुझाउनु पर्ने आवश्यकतामाथि जोड दिएका थिए । नेपालमा एआई गभर्नेन्स र सुरक्षाका लागि स्पष्ट दृष्टिकोण राख्दै उनले भने, “नेपाल एआई गभर्नेन्समा पछाडि पर्नु हुँदैन । साथै, सरकारले एआईलाई आत्मसात गरी हरेक नागरिकले घरबाटै सरकारी सेवा लिन मिल्ने गरी अझै सरल र सहज बनाउने दिशामा अगाडि बढ्नुपर्छ ।”

यसपछि, नेपालकै पहिलो कम्प्युटर अपरेटर नीलकण्ठ उप्रेतीले सहभागीहरूलाई नेपालको ५५ वर्ष पुरानो कम्प्युटर प्रविधिको यात्रामा फर्काए । उनले नेपालमा प्रविधिको विकासको ऐतिहासिक सन्दर्भ प्रस्तुत गर्दै सबैलाई प्रभावित पारे ।

उनले वि.सं. २०२८ को जनगणनाको नतिजा प्रशोधन गर्न नेपाल भित्र्याइएको आईबीएम १४०१ मेनफ्रेम कम्प्युटरसँग गरेको काम, राष्ट्रिय कम्प्युटर केन्द्रमा उनको भूमिका, र पछि प्रमुख निर्वाचन आयुक्तको रूपमा नेपालको निर्वाचन प्रक्रियालाई आधुनिक बनाउन गरेको प्रयत्नको बारेमा बताए ।

उनको कथाले नेपालको प्रविधि र नयाँ विचारहरूलाई आज पनि डोर्याईरहेका प्रारम्भिक प्रयासहरूको प्रेरणादायक स्मरण गरायो ।

त्यसैगरी, ‘सिंगापुर एआई सुरक्षा हब’को प्रतिनिधित्व गर्दै भर्चुअल माध्यमबाटै सहभागी भएकी भ्यालेरी प्याङ्ले दक्षिणपूर्वी एसियामा अपनाइएका उत्कृष्ट अभ्यासहरूका बारेमा जानकारी दिइन् । उनले एआई सुरक्षा र जिम्मेवार एआई विकासलाई बढावा दिन सिंगापुरमा भइरहेका सहयोगात्मक प्रयासहरूका बारेमा बताइन् ।

यसै गरी, अतिथि वक्ताहरू प्रकृति भट्टराई र चन्दन गुप्ताले सहभागीहरूलाई एआई युगका लागि तयारी रहनका लागि, एआईमा हुने विभेद र असमानताको सामना, जिम्मेवार एआई, र दैनिक काममा एआईको नैतिक एवम् जिम्मेवारपूर्ण प्रयोगबारे उपयोगी सीपहरू सिकाए ।

कार्यक्रममा प्रतिक दाहालले हालका लार्ज ल्याङ्गविज मोडल (एलएलएम) हरूसँग सम्बन्धित जोखिमहरूबारे पनि संक्षिप्त कुरा राखे ।

कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउन एआई सम्बन्धित एउटा अन्तरक्रियात्मक हाजिरीजवाफ प्रतियोगिता पनि सञ्चालन गरिएको थियो । प्रतियोगिताका दुई विजेतालाई २०० अमेरिकी डलर बराबरको ‘पर्प्लेक्सिटी प्रो इन्टरप्राइज एडिसन’ (Perplexity Pro Enterprise Edition) को ६ महिनाको निःशुल्क सदस्यता प्रदान गरिएको थियो ।

यस कार्यक्रमले नेपालमा अझ सुरक्षित र जिम्मेवार एआई भविष्य निर्माणका लागि आवश्यक निरन्तर संवाद र सहकार्यको लागि उत्प्रेरकको काम गरेको छ ।

आयोजकका बारेमा

एनोभेटर्स

यो नेपालमा एआई साक्षरता फैलाउन युवाहरूको पहलबाट गठन गरिएको एक संस्था हो । यस संस्थाले विभिन्न ह्याकाथन कार्यक्रमहरू, मार्गदर्शन, र व्यावहारिक सिकाइ मार्फत प्राविधिक नेतृत्वको नयाँ पुस्तालाई तयार पार्ने लक्ष्य राखेको छ । संस्थाको उद्देश्य एआईले मानिसहरूलाई विस्थापित गर्दैन, तर एआई प्रयोग गर्न जान्ने व्यक्तिहरू भने एआई प्रयोग गर्न नजान्ने व्यक्तिहरूभन्दा निश्चित रूपमा अगाडि रहनेछन् भन्ने सन्देश फैलाउनु हो।

ब्लुडट इम्प्याक्ट (बेलायत)

ब्लुडट इम्प्याक्ट बेलायतमा अवस्थित एक गैर-नाफामूलक संस्था हो । यस संस्था जिम्मेवार र समावेशी आविष्कारलाई प्रवर्धन गर्न प्रतिबद्ध छ । यसको मुख्य उद्देश्य विश्वव्यापी एआई सुरक्षामा केन्द्रित छ । यस संस्थाले निःशुल्क तालिम, जागरूकता अभियान र एआईको नैतिक विकास सुनिश्चित गर्ने उद्देश्यले विश्वभर हजारौं संस्था र व्यक्तिहरूलाई सहयोग गरेको छ ।

For more: AI Safety Meet-Up Kathmandu


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *