कृषि नै विकासको प्रमुख आधार हो : बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेल
२९ चैत, काठमाडौँ।
बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेलले स्थानीय तहमा रोजगारी सिर्जना नगरेसम्म विकासको वास्तविक अर्थ जनताले अनुभूति गर्न नसक्ने बताएका छन् ।
कृषिमा अन्तरप्रदेश सम्बन्ध र सहकार्य विषयक छलफल कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नेपालको जस्तो देशका लागि कृषि नै विकासको प्रमुख आधार भएको उल्लेख गरे ।
उनले भने, ‘स्थानिय तहमा रोजगारी सिर्जना नगरेसम्म विकासको अर्थ जनताले बुझ्न सक्दैनन् । हाम्रो जस्तो मुलुकको लागि विकासको सबैभन्दा महत्वपूर्ण कुरा जुन रोजगारीसँग जोडिएको छ त्यो कृषि नै हो।
कृषि आधारित उद्योग र कृषि आधारित कर्म नै हाम्रो जस्तो मुलुकका लागि विकासको प्रमुख आधार हो । उनले कृषि आधारित उद्योग र कृषि कर्ममार्फत रोजगारी सिर्जना गर्न सकिने भएकाले यस क्षेत्रमा विशेष ध्यान दिनुपर्ने बताए।
मन्त्री पौडेलले मल अभावको समस्या अझै समाधान हुन नसकेको पनि बताए। उनले रासायनिक मलको खरिद केन्द्र सरकारले गर्ने र प्रदेश सरकारले वितरण गर्ने व्यवस्था भए पनि बागमती प्रदेशका लागि आवश्यक मल पर्याप्त मात्रामा उपलब्ध हुन नसकेको बताए।
उनले बागमती प्रदेशलाई वार्षिक करिब १ लाख १३ हजार मेट्रिक टन मल आवश्यक पर्ने जानकारी दिए । उनले भने, ‘मलको कुरा सधैं उठ्दै आएको छ । केन्द्र सरकारले मल खरिद गर्छ।
प्रदेश सरकारले वितरण गर्ने मात्रै हो । १ लाख १३ हजार मेट्रिक टन बागमती प्रदेशलाई मलखात आवश्यक छ । त्यो अपुग छ । यसमा सबैभन्दा बढी ध्यान दिनुपर्ने छ ।’
उनले रासायनिक मलसँगै जैविक तथा प्राङ्गारिक मलको प्रयोगमा पनि जोड दिनुपर्ने बताए । कृषि उत्पादन वृद्धि र दिगो विकासका लागि सबै तहका सरकार र सरोकारवालाले यस विषयमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
For more: Agriculture Key Foundation Development


