कृषि विकास बैंकद्वारा प्रहरी वृत्त थानकोटलाई कम्प्युटर तथा कार्यालय सामग्री वितरण
११ माघ, काठमाडौँ ।
कृषि विकास बैंक लिमिटेडले प्रहरी वृत्त थानकोटलाई कम्प्युटर तथा विभिन्न कार्यालय सामग्री सहयोग प्रदान गरेको छ।
गत भदौ २४ गते भएको आन्दोलनका क्रममा आगलागीबाट क्षति भई नष्ट भएको प्रहरी वृत्त थानकोटको भवन जिर्णोद्धार तथा सेवा प्रवाहलाई सहज, सुचारु र प्रभावकारी बनाउन बैंकले उक्त सहयोग गरेको हो।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै कृषि विकास बैंक लिमिटेडका उपमहाप्रबन्धक मिनराज पोखरेलले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत यो सहयोग गरिएको बताए। उनले यस सहयोगले प्रहरी प्रशासनमार्फत जनतालाई प्रदान गरिने शान्ति–सुरक्षा लगायतका सेवामा थप प्रभावकारिता आउने विश्वास व्यक्त गरे।
प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक एलिजा गिरीले बैंक तथा विभिन्न सामाजिक संस्था र सहयोगी हातबाट प्राप्त सहयोगले प्रहरी कर्मचारीको आत्मबल बढ्ने र नागरिकलाई प्रदान गरिने शान्ति–सुरक्षा सेवामा प्रत्यक्ष टेवा पुग्ने बताउनुभयो। उहाँले विपद्को समयमा सहयोग गर्ने सबै संस्था तथा निकायप्रति आभार व्यक्त गरे।
सहयोग हस्तान्तरण कार्यक्रममा बैंकतर्फबाट उपमहाप्रबन्धकद्वय मिनराज पोखरेल र सुशिल हुमागाईं, विभागीय प्रमुख बीना शर्मा, वरिष्ठ शाखा प्रमुख ध्रुव पौडेल, वरिष्ठ शाखा अधिकृत गीता नेपाल शर्मा, बागमती प्रदेश कार्यालय काठमाडौंका वरिष्ठ शाखा प्रमुख अनिलकुमार पोखरेल, शाखा अधिकृत हरिराज थपलिया तथा थानकोट शाखाका प्रबन्धक दिलबहादुर श्रेष्ठको उपस्थिति रहेको थियो।
त्यसैगरी प्रहरी वृत्त थानकोटतर्फबाट वृत्त प्रमुख प्रहरी नायब उपरीक्षक एलिजा गिरी, प्रहरी वरिष्ठ नायब निरीक्षकद्वय अमृत भण्डेल र ओमकार चन्द, प्रहरी निरीक्षक दिपेन्द्र थापालगायत प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।
For More:-ADBL Thankot Police support



