फेस अफ इन्स्योरेन्स डिस्कोर्शमा अभिनेत्री सनिशा भट्टराई नियुक्त: बीमा साक्षरता प्रवर्द्धन गर्ने लक्ष्य
१ माघ २०८२, काठमाडौं ।
नेपाली फिल्म क्षेत्रकी चर्चित अभिनेत्री सनिशा भट्टराई तेस्रो संस्करणको इन्स्योरेन्स डिस्कोर्शको ‘फेस अफ इन्स्योरेन्स’का रूपमा नियुक्त भएकी छन्। बीमा क्षेत्रप्रति आम नागरिकको बुझाइ विस्तार गर्ने, बीमालाई केवल औपचारिक सेवा होइन जीवनको आधारभूत सुरक्षाको रूपमा स्थापित गर्ने र नीति तथा व्यवहारबीचको दूरी घटाउने उद्देश्यसहित उनलाई ब्राण्ड एम्बेस्डरकारुपमा ‘फेस अफ इन्स्योरेन्स डिस्कोर्श’को भूमिकामा ल्याइएको हो।
इन्स्योरेन्स डिस्कोर्श नेपालमा बीमा क्षेत्रको सबैभन्दा गम्भीर, नीतिगत र प्रभावकारी संवाद प्लेटफर्मको रूपमा विकास हुँदै आएको छ। यहाँ केवल छलफल मात्र होइन, नीति निर्मातादेखि नियामक, बीमा कम्पनीका प्रमुख, बैंकिङ्ग क्षेत्र, निजी क्षेत्र, कलाकार, युवा पुस्ता र आम नागरिकलाई एउटै मञ्चमा ल्याएर बीमाको भविष्यबारे साझा दृष्टिकोण निर्माण गरिन्छ।
यस डिस्कोर्शको विशेषता भनेको बीमालाई कागजी बहसबाट बाहिर निकालेर व्यवहारिक नीति सुधार, बजार विस्तार र जनजीवनसँग प्रत्यक्ष जोडिने विषयमा केन्द्रित गर्नु हो। बीमा दाबी प्रक्रिया, बीमा पहुँच विस्तार, सार्वजनिक सम्पत्तिको बीमा, कृषि तथा स्वास्थ्य बीमा, डिजिटल बीमा प्रणाली, पुनर्बीमा, तथा अन्तर्राष्ट्रिय अभ्यासलाई नेपाली परिवेशसँग कसरी जोड्ने भन्ने विषयमा गहिरो बहस हुँदै आएको छ।
अघिल्ला संस्करणका छलफलहरूले बीमा क्षेत्रलाई बजेट तथा नीति निर्माणको प्राथमिक एजेण्डामा पुर्याउन भूमिका खेलिसकेको छ। सार्वजनिक सम्पत्तिको बीमा, बीमा पहुँच विस्तार, र बीमा प्राधिकरणको नियामकीय सुधारसम्बन्धी बहसहरू नीतिगत तहमा गम्भीर रूपमा उठ्न थालेका छन्, जुन इन्स्योरेन्स डिस्कोर्शको ठोस उपलब्धिका रूपमा लिइन्छ।
‘फेस अफ इन्स्योरेन्स’को रूपमा सनिशा भट्टराईको भूमिका केवल प्रचारमुखी मात्र नभई, बीमालाई जनस्तरसम्म पुर्याउने दूतको रूपमा रहने आयोजकले जनाएको छ। कलाकारको कला, स्वर, शरीर र व्यक्तित्व नै सम्पत्ति भएकाले कलाकार बीमाको विषयमा प्रभावकारी सन्देशवाहक बन्न सक्ने विश्वास गरिएको छ।
अभिनेत्री भट्टराईले बीमा वित्तीय सेवा मात्र नभई जीवनको जोखिम व्यवस्थापन, आत्मविश्वास र भविष्यको स्थायित्वको आधार भएको बताउँदै युवापुस्ता र सृजनशील क्षेत्रका व्यक्तिहरूलाई बीमाप्रति आकर्षित गर्न सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
बैंकिङ्ग समाचार र न्यूज अफ इन्स्योरेन्सको संयुक्त आयोजनामा हुँदै आएको इन्स्योरेन्स डिस्कोर्श आज संवाद मात्र नभई नीति सुधारको दबाब सिर्जना गर्ने, उद्योगलाई उत्तरदायी बनाउने र नागरिकलाई सचेत बनाउने एक सशक्त अभियानको रूपमा स्थापित हुँदै गएको छ।
यहीकारण, सनिशालाई इन्स्योरेन्स डिस्कोर्शको ब्राण्ड एम्बेस्डरकारुपमा ‘फेस अफ इन्स्योरेन्स’ बनाइएको बैंकिङ्ग समाचारका प्रबन्ध निर्देशक राजु ढुंगेलले जानकारी दिए।
जनवरी २१, २०२६ मा हुने तेस्रो इन्स्योरेन्स डिस्कोर्श बीमा क्षेत्रका वर्तमान चुनौती, भावी सम्भावना र समग्र आर्थिक–सामाजिक प्रभावबारे सबैभन्दा गहिरो, प्रभावकारी र परिणाममुखी बहसको मञ्च बन्ने अपेक्षा गरिएको छ।
For more: Actress Sanisha Bhattarai Appointed



