‘महावीर पुनको हातमा चाँडै आधा करोड राखिदिन्छौँ’, दल सेर्बुजा

हङकङका दल सेर्बुजा भन्छन्, सहयोग जुटाउने मिसनमा लाग्दा अद्भूत आनन्द भैरहेको छ . महावीर पुनले म्याग्दी जिल्लालाई ‘वाईफाई फ्रि जोन’ बनाउने अवधारणा ल्याएपछि त्यसमा लाग्ने ४ करोड रुपैयाँ मध्ये २५ प्रतिशत विदेशमा बस्ने म्याग्दीबासीले उठाउने सहमति बन्यो। तर त्यत्रो एक करोड रकम कसरी उठाउने भन्नेबारे छलफल चलिरहेको थियो। त्यसैबेला खबर आयो, ‘महावीरले परिकल्पना गरेको आविष्कार केन्द्रलाई सरकारले सहयोग नगर्ने भएपछि उनी जनताको घरदैलोमा महादान अभियान लिएर जाने भएका छन।’ यो खबरले मन कटक्क खायो।

अमेरिकाको प्रतिष्ठित विश्वविद्यालयबाट डिग्री हासिल गरेर स्वदेश फर्केपछि निस्वार्थ भावले आफ्नै गाउँठाउँ बनाउँछु भनि रातदिन खटेर लागिराखेका महावीरप्रति सरकारले देखाएको छुद्र व्यवहारले म जस्ता धेरैको चित्त दुखाएको रहेछ।

‘सरकारको ढोका छाडी जनताको ढोकामा जान्छु’ भनि महावीरले गरेको महादान अभियानबारेको अपील शेयर गर्नासाथ खोजीनिती शुरु भैहाल्यो। अर्जुनचौपारी, स्याङ्जाका दिल गुरुङले तत्कालै महावीरको अभियानलाई हङकङबाट कसरी सहयोग गर्न सकिन्छ भनेर सोधे। गुरुङले शुरुमै आर्थिक सहयोग पनि दिए।

म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङका अध्यक्ष ईन्द्र थापा मगर, पुन मगर समाज हङकङका निवर्तमान अध्यक्ष तथा मोनाका सल्लाहकार राजु गर्बुजा पुन लगायतका साथीहरूसँग मेरो सर–सल्लाह भो। मोनाको कार्यसमिति बैठकले महावीर पुनसँग उठबस गरिरहने राजुजीलाई नेपालमा गएर वास्तविकता बुझ्ने जिम्मेवारी दियौं। यो अभियानको सफलतामा सबैको महत्वपूर्ण भूमिका छ तर राजुजीको भूमिका सबैभन्दा केन्द्रमा छ। मोना हङकङको सक्रियतामा म्याग्दीमा हाल संचालनमा रहेका शैक्षिक र स्वास्थ्य क्षेत्रका ठूला सामाजिक परियोजनाहरुमा पनि हामीले नेपालमा राम्रो अध्ययन गरेपछि मात्र हङकङमा आर्थिक संकलन गरेका थियौँ र यसपटक पनि त्यहि गरिएको हो।

राजुजी फर्केपछि महावीरले देशको समृद्धि र भविष्यका लागि सुरु गरेको आविष्कार केन्द्रको महान उद्देश्यबारे बुझ्न पायौं। त्यसमाथि छलफल गर्यौं। जो आफु र आफ्नो परिवारको खुशी भन्दा समाजमा केही गर्छु भनेर हिंडिरहेको छ, उसको तुलनामा देशका लागि हामीले के नै गर्न सक्याछौं र भन्ने महशुस भयो।

देउसी भैलो कार्यक्रम गर्दै रकम उठाइएको एक दृष्य

परिवारका लागि भन्दै विदेशी भूमीमा नङ्ग्रा खियाईरहेका हामी महावीर जत्तिको त्याग तपस्या गर्न पक्कै सक्ने छैनौं। तर कमाएको केही रकम उनी जस्ता रोलमोडलले थालेको राष्ट्र निर्माणमा लगाउन पाउनु हाम्रा लागि ठूलो पूण्य कर्म हो। त्यसैले हामीले महावीरले देखेको सपना साकार पार्ने अभियानमा होस्टे गर्ने निर्णय गर्यौं।

हाम्रो सोच महावीर पुनले देखेको देश बनाउने सपना पैसाको कारण रोकिनु हुन्न भन्ने भएकाले मोनालाई निर्णय गर्न रत्तिभर समय लागेन। मेरो संयोजकत्वमा २९ सदस्सीय आर्थिक संकलन समिति बनाएर अभियान प्रारम्भ गर्यौँ। तिहार नजिकै आईरहेकाले साँस्कृतिक चाडलाई आर्थिक संकलन गर्ने मूख्य आधारका रुपमा उपयोग गर्ने निर्णय गरियो।

तिहारको भैलो ‘महावीर पुनले थालेको आविष्कार केन्द्रका लागि खेलिने’ भएकाले हङकङको सार्वजनिक स्थल मंकी हिलमा आउन सबैलाई आब्हान गरिएको ब्यानर फेसबुकमा पोस्ट गर्यौं। १४ अक्टोबरमा मेरो फेसबुकमा राखिएको त्यो अपीलले काम गर्यो। १७ अक्टोबरमा हाल अमेरिकामा बसिरहेका स्याङ्जा फेदीखोलाका जित गुरुङले हङकङ डलर एक हजार पठाइदिए। त्यहीदिन लेप्सार पर्वतका बिरमान पुनले १७ सय हङकङ डलर र स्याङ्जा अर्जुनचौपारीका दिल गुरुङले पाँच सय डलर सहयोग दिए।

यसरी आएको सहयोग र दाताहरुको विवरणप्रति आभार व्यक्त गर्दै तत्काल फेसबुकमै पोस्ट गरियो।। यसले दुई वटा सन्देश गयो– एक, दाताहरुले दिएको रकमको पारदर्शिता र अर्को सहयोगका लागि उत्प्रेरणा। त्यसैको कारण हुनसक्छ, भैलो खेलिने निर्धारित दिन २३ अक्टोबरसम्म अर्थात् एक साता भित्रै फेसबुके अपीलबाट मात्र करिब ६ लाख ५० हजार रुपैयाँ उठिसकेको थियो। यो अभियान अगाडि बढाउन नेपालखबर डटकम र हङकङ नेपाली डटकममा प्रकाशित खबरले सहयोग पुग्यो। त्यसको प्रभाव भैलो खेल्ने दिनमा देखियो।

२३ अक्टोबरमा मंकी हिलमा आयोजित भैलो कार्यक्रममा ४ घन्टाभित्रै करिब ३४ लाख रुपैयाँ जम्मा भो। शुरुमा हामीले जम्माजम्मी २० लाख रुपैयाँ उठ्ने आश गरेका थियौं। भैलोको दिनसम्म ४० लाख उठेपछि ५० लाख पुर्याउने योजना बनायौँ। त्यो योजना अनुसार ८ नोभेम्बर सम्ममा ५० लाख उठाइसकिएको छ।

हाम्रो आकंक्षा झन् बढेको छ। अझै बढी उठाउने लक्ष्य राखेका छौं। भैलोपछि अहिलेसम्म फेसबुक मार्फत् थप ८ लाख रुपैयाँ भन्दा बेसी उठिसकेको छ। अचम्म लाग्न सक्छ, अहिलेसम्म उठेको ५० लाख रुपैयाँ २७५ जनाले दिएको सहयोगबाट मात्रै जम्मा भएको हो।

फेसबुकबाट सहयोग गर्ने दाताहरु नेपालका बिभिन्न जिल्ला र क्षेत्रका जातजाति पनि छन्। तर ती मध्ये अधिकांश म्याग्दीका मगर समुदायका व्यक्ति हुन्। यसले एउटा कुरा प्रष्ट रुपमा देखाएको छ, हामीले थप मिहिनेत गर्ने हो भने महावीरको केन्द्रलाई आवश्यक पर्ने धेरै रकम त हङकङबाटै उठाइदिन सकिने रहेछ।

राम्रो काम गरे फल यसै जुनीमा पाईन्छ भन्थे, साँच्चै रहेछ भन्ने लाग्न थालेको छ। महावीरले उनको गाउँ नागीको हिमाञ्चल उच्च मावि र म्याग्दीकै पाउद्वार मावि सञ्चालन गर्न खोप्रा लेकमा चौंरी पालन गरेर आर्थिक जोहो गरिदिएका रहेछन्। हङकङमा बस्ने यी दुई गाउँका मान्छेले महावीर अभियानलाई प्रति व्यक्ति ५ हजार हङकङ डलर भन्दा माथि दिने भनेर सामूहिक निर्णय नै गरे।

यसमा नागीका राजु गर्वुजा पुनको रोल सलामयोग्य छ। ५ हजार डलर भन्दा माथि दिने यस्ता दाता १७ जना छन्। १० हजार डलर भन्दा माथि सहयोग गर्ने चाहीँ म्याग्दी पाउदार जन्मस्थान तर हाल चितवन निवासी काशी पुन, म्याग्दी ताकमका प्रकाश पुन र इटहरीका इस्वो माईला हुन्।

हामीले कसैलाई यति दिनोस् उति दिनोस भनेका छैनौं। महावीरको यस्तो यस्तो योजना छ मन भए सहयोग गर्नोस् भनेको मात्र हौं। अहिलेसम्म सहयोग गर्नेहरु सबैले स्वस्फूर्त रुपमै गरिरहेका छन्। यसबाट के देखियो भने निस्वार्थ भावले राम्रो काम गर्न चाहे सहयोग गर्ने मनकारीहरु निस्कँदा रहेछन्। आविष्कार केन्द्रको लागि महावीरलाई चाहिने ५० करोड हो। मलाई लाग्छ यो रकम आरामले उठ्छ। ‘वाईफाई फ्रि’ म्याग्दी अभियानका लागि हालसालै मोना बेलायतले पनि २५ लाख रुपैयाँ उठाएको छ। बेलायतको मोना हङकङको भन्दा ठूलो छ। आविष्कार केन्द्रलाई हामीले भन्दा तिनले बढी उठाइदेलान्।

तर अहिले हङकङकै कुरा गरौं। हङकङमा नेपालीका करिब २ सय संघसंस्था छन् भनिन्छ। यहाँ सबै जाति, पार्टी, क्षेत्र, गाउँ टोलका संस्था सक्रिय छन्। हामी ३० हजार जति नेपाली हङकङमा बसोबास गर्छौ। २७५ जनाले दान गर्दा आधा करोड उठ्ने रहेछ भनेपछि बाँकी रहेका केही सय हङकङे नेपालीले मात्र मुठी खोल्ने हो भने ठूलो सहयोग उठ्न संभव छ। तर यसका निम्ति बिभिन्न संघसंस्थाका सामाजिक नेताहरुले नेतृत्वदायी भूमिका खेल्नुपर्ने हुन्छ। हाम्रो मिहिनेत धेरैले देखेकै छन्, यो अभियानमा लाग्दा राम्ररी सुत्न पनि पाइएको छैन। १२ घन्टे ड्युटीबाट फर्किएर अरु काम किनारामा राखि यसकै निम्ति खटिरहेका छौं।

म ब्लड प्रेसरको रोगी हुँ। डाक्टरले दैनिक कम्तिमा ७ घन्टा सुत्न भनेका छन्। तर भैलो कार्यक्रम अगाडिको एक सातासम्म त दैनिक एक दुई घन्टा मात्र सुत्न सकियो। मेरो खटाई देखेर श्रीमतीले ‘नसुति नसुति काम गरेर हामीलाई छिटै छाडेर जाने मन छ कि क्या हो’ भन्दै मजाक गर्थिन। तर यो मिसनमा लाग्दा अद्भूत आनन्द प्राप्त भैरहेको छ। नसुति नसुति गरिएको कामको परिणामले दिएको खुशीको सीमा नापेर नाप्न सकिँदैन रहेछ। यो खुशी महसुस मात्र गर्न सकिन्छ।

हामी धेरै मानिसकहाँ पुग्न सकेका छैनौं। ब्यापारी वर्गमा पुग्नै बाँकी छ। सबभन्दा महत्वपूर्ण कुरा हामीसँग समय छैन। म रातभरी सुरुङभित्र काम गर्छु, बिहान फर्किएर आउँदा अरु साथीहरु ड्युटी गैसकेका हुन्छन्। भेट्ने भनेको साताको एक दिन या फोन र सामाजिक संजालबाट मात्र हो। तर अब हामी समयको तालमेल मिलाई घरदैलो कार्यक्रम गर्ने सोचाइमा छौं। हामी के कुरामा ढुक्क छौं भने केही दिनभित्रै एक पैसा खर्च नगरी दाताहरुबाट उठाइएको आधा करोड भन्दा बढी रकम महावीरको हातमा राखिदिने छौं।

(मोना हङकङका निवर्तमान अध्यक्ष तथा राष्ट्रिय आविष्कार केन्द्रका लागि आर्थिक संकलन समिति संयोजक दल सेर्बुजासँग जेवी पुन मगरले गरेको कुराकानीमा आधारित)

Source  by:  http://nepalkhabar.com/en/2016/community/5514/