हमासले बुझाएको शव विपिनकै भएको पुष्टि, युद्धको शुरूमै हत्या भएको IDF को आकलन
२८ असोज २०८२, काठमाडौं ।
प्यालेस्टिनी सशस्त्र समूह हमासले सोमबार राति अन्तर्राष्ट्रिय रेड क्रसमार्फत इजरायललाई हस्तान्तरण गरेका चार बन्धकको शवमध्ये एक नेपाली विद्यार्थी विपिन जोशीको भएको डीएनए परीक्षणबाट पुष्टि भएको छ।
इजरायली सेना (IDF) ले मंगलबार यसको आधिकारिक पुष्टि गरेको हो। आईडीएफका अनुसार तेलअभिभस्थित अबु काबिर राष्ट्रिय फरेन्सिक मेडिसिन संस्थामा गरिएको फरेन्सिक परीक्षणबाट विपिन जोशी र अर्का इजरायली बन्धक गाय इलुज (Guy Iluz) को शवको पहिचान भएको छ।
सेनाले अन्य दुई शवको पहिचान भए पनि परिवारको अनुरोधमा नाम सार्वजनिक गरेको छैन। इजरायली सेनाले यस दुखद खबरबारे विपिनको परिवारलाई जानकारी गराएको छ। विपिनका दाजु किशोर जोशीले शव पहिचान भएको खबर पाएको तर नेपाल ल्याउने मिति भने अझै नतोकिएको जानकारी दिएका छन्।
इजरायली सेनाले २३ वर्षीय विपिन जोशीको हत्या युद्धको पहिलो महिनामै गाजामा कैद गरिएको अवस्थामा गरिएको दाबी गरेको छ। यद्यपि, हमासले भने गाजा पट्टीमा इजरायली हवाई आक्रमणका क्रममा विपिनको मृत्यु भएको बताउँदै आएको छ।
मृत्युको यथार्थ परिस्थितिको जाँच पूरा भएपछि राष्ट्रिय फरेन्सिक मेडिसिन केन्द्रले अन्तिम निष्कर्ष सार्वजनिक गर्ने जनाइएको छ। ‘
लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका विपिनलाई २०२३ अक्टोबर ७ मा हमासले किबुत्ज अलुमिमको आश्रयस्थलबाट बन्धक बनाएर लगेको थियो।
विपिनको शव नेपाल ल्याउन आवश्यक प्रक्रिया पूरा गर्न इजरायली अधिकारीहरूले काम गरिरहेका छन्। आईडीएफले बाँकी सबै बन्धकहरूलाई परिवार र उचित दाहसंस्कारका लागि फिर्ता ल्याउने प्रयास जारी रहनेमा जोड दिएको छ।