विद्युतीय यन्त्रबाट मतदान गर्न माग
दृष्टिविहीन नागरिकले यथाशक्य छिटो मतदान गर्न विद्युतीय यन्त्रबाट मतदान गराउने व्यवस्था गर्न निर्वाचन आयोगसँग आग्रह गरेका छन्।
आयोगले दृष्टिविहीनका लागि स्थानीय तह निर्वाचनसम्वन्धी आयोजना गरेको प्रशिक्षणमा सहभागी दृष्टिविहीन नागरिकले यस्तो आग्रह गरे। कार्यक्रमको शुभारम्भ गर्दै निर्वाचन आयुक्त नरेन्द्र दाहालले लोकतान्त्रिक सविधानानुसार पहिलो पटक स्थानीय तहको निर्वाचन हुन लागेकाले सक्रिय सहभागी हुन दृष्टिविहीन नागरिकसँग आग्रह गरे।
आयोगका सचिव गोपीनाथ मैनालीले लोकतन्त्र भनेको आर्थिक, सामाजिक विकास पनि भएकाले मतदानमा कोही नछुटून् भन्ने आयोगको धारणा रहेको बताए। सहसचिव नवराज ढकालले नजिकका नातेदार वा मतदान अधिकृतको सहयोगमा दृष्टिविहीनले मतदान गर्ने व्यवस्था आयोगबाट हुने जानकारी दिए।
Advertisement
अपाङ्गता भएका नागरिकका लागि १०० र्याम्प निर्माण भएको र ज्येष्ठ नागरिकका लागि मतदानका लागि सहज वातावरण मिलाइएको पनि उनले बताए। नेपाल नेत्रहीन सङ्घका अध्यक्ष रमेश पोखरेलले देशभरि करिब दुई लाख दृष्टिविहीन रहेको जानकारी दिए। एकदिने प्रशिक्षण कार्यक्रममा २५ जिल्लाका ४१ जनाको सहभागिता थियो । रासस

