२३ भदौ, काठमाडौं।
राजधानीको नयाँ बानेश्वर क्षेत्रमा जेनजी पुस्ताले सोमबार गरेको प्रदर्शन उग्ररूप लिँदै प्रहरीको ब्यारिकेड तोड्ने प्रयास गरिएको छ।
बिहान ९ बजेदेखि सुरु भएको आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले निषेधित क्षेत्र प्रवेश गर्ने प्रयास गरेपछि प्रहरीसँग धकेलाधकेल भएको हो। यसक्रममा प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ।
तर स्थिति थप जटिल बन्दै गएको छ। प्रदर्शनकारीहरूले प्रहरी घेरा तोडी संसद भवनको मूल गेटसम्म प्रवेश गरेका छन्। यसपछि प्रहरीले भिड नियन्त्रणका लागि अश्रुग्यास र पानीको फोहोरा प्रहार गर्दै आएको छ।
यद्यपि, संसद भवन अझै असुरक्षित देखिएको सुरक्षाकर्मीहरूले जनाएका छन्।
जेनजी पुस्ताले भ्रष्टाचारविरुद्ध कडा आवाज उठाउँदै राजनीतिक दलका नेताहरूको सम्पत्ति छानबिनको मागसहित आन्दोलन थालेका हुन्। संसद भवनसम्मै पुगेपछि यो आन्दोलनले भिषण उग्र रूप लिएको संकेत गरेको छ।