डिजिटल नेपाल बनाउन एनसेलको ३० अर्ब

डिजिटल नेपाल बनाउन एनसेलको ३० अर्ब

बिहिबार, २५ जेठ २०७४
काठमाडौं- निजी दूरसञ्चार कम्पनी एनसेलले ‘डिजिटल नेपाल’ निर्माण गर्न ३० अर्ब रुपैयाँसम्म लगानी गर्ने जनाएको छ। सहरदेखि दुर्गम गाउँसम्म थि्रजी प्रविधिमा आधारित मोबाइल इन्टरनेट सेवा विस्तार गर्दै मुलुकभर डिजिटल प्रविधिबाट जोड्ने लक्ष्य एनसेलले लिएको छ।

एनसेलले छिट्टै १ हजारभन्दा धेरै ग्रामीण तथा दुर्गम भेगमा द्रुत गतिको मेबाइल प्रविधिमा आधारित इन्टरनेट सेवा विस्तार गर्ने जनाएको छ। यसले गाउँ र सहरबीचको ‘डिजिटल ग्याप’ पूरा गर्दै डिजिटल समाज निर्माण गर्ने एनसेलको भनाइ छ।

एनसेलले थि्रजी प्रविधिमा आधारित मोबाइल सेवा विस्तार दोब्बर गरी नेपालको कूल जनसंख्याको ६० प्रतिशतमा दु्रत गतिको मोबाइल इन्टरनेट सेवा पुर्‍याउन तयारी गरिरहेको उल्लेख गरेको छ। उसले ९ सय मेगाहर्ज र १८ सय मेगाहर्ज ब्यान्डमा प्रविधि तटस्थता अवलम्बन गर्दै छिट्टै हजारभन्दा धेरै ग्रामीण तथा दुर्गममा सेवा पुर्‍याउने तयारी गरिरहेको विज्ञप्तिमार्फत जनाएको छ।

प्रविधि तटस्थतामार्फत एनसेलले १ करोड ७० लाखभन्दा बढी उपभोक्तामा थि्रजी सेवा पुर्‍याई उनीहरुलाई दु्रत गतिको मोबाइल इन्टरनेटको लाभ प्रदान गर्ने जनाएको छ।

एनसेलको विस्तारित नेटवर्क कभरेजले बझाङको देउरालीकोट, मुगु श्रीनगर, मुस्ताङ झोङ, ललितपुर माल्टा र सोलुखुम्बुको तिलङला जस्ता हजारभन्दा बढी ठाउँमा सेवाको पहुँच पुर्‍याउने जनाएको छ। त्यहाँका स्थानीयले पहिलो पटक दु्रत गतिको मोबाइल इन्टरनेटमा पहुँच पाउनेछन्। यसले देशमा विद्यमान ‘डिजिटल डिभाइड’ लाई घटाउन योगदान दिने विश्वास एनसेलको छ। एनसेलको यस अभियानले स्थानीयको जनजीवन, समुदायको अर्थतन्त्र र सामाजिक क्षेत्रमा स्पष्ट सकारात्मक प्रभाव पुर्‍याउने विश्वास लिइएको छ।

‘हामी प्रविधि तटस्थताले देश र जनतामा ल्याउने वृहत सकारात्मक प्रभावका बारेमा सोचेर उत्साहित छौं।  यसले विषेशतः इन्टरनेट सेवाको पहुँच, नयाँ अवसरको सिर्जना र कूल गार्हस्थ उत्पादन वृद्धिमा ठूलो भूमिका खेल्ने छ,’ एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले विज्ञप्तिमार्फत भनेका छन्, ‘यी लक्ष्य प्राप्तिका लागि हामीले आवश्यक स्रोत, प्रविधि हस्तान्तरण तथा पूर्वाधार निर्माणका लागि  ३० अर्ब रुपैयाँसम्मको लगानी गर्न प्रतिबद्ध छौं। संयुक्तरुपमा डिजिटल नेपाल निर्माणको राष्ट्रिय लक्ष्य हासिल गर्न हामी पूर्णरुपमा समर्पित छौं।’

विश्व बैंकको अध्ययनअनुसार मोबाइल ब्रोडब्यान्डमा पहुँचले तत्काल आर्थिक वृद्धि दर बढाउन मद्दत गर्छ। ब्रोडब्यान्ड जनघनत्वमा प्रत्येक १० प्रतिशत विन्दुको वृद्धिले आर्थिक वृद्धि दरलाई १.३८ प्रतिशत विन्दुले बढाउने विश्व बैंकको तथा अन्य अन्तर्राष्ट्रिय अध्ययनले देखाएका छन्।

आफ्नो प्रतिबद्धता बमोजिम एनसेलले काठमाडौंमा जेठ १८ बाट फोरजी सेवा सुरु गरेको छ जसअन्तर्गत काठमाडौं उपत्यका, बनेपा तथा धुलिखेलका ग्राहकले फोरजी प्रविधिको लाभ लिन सक्छन्। सन् २०१७ को अन्त्यसम्म कूल जनसंख्याको १५ प्रतिशतमा फोरजी पुर्‍याउने लक्ष्यलाई कम्पनीले हाल देशका विभिन्न ४० सहरमा फोरजी सेवाको योजना तथा परीक्षण गरिरहेको छ।

Source: Click Here

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here