About Great Value To ICT Community, CAN Infotech 2016

काठमाडौं । 

भृकुटीमण्डपमा जारी ‘सुबिसु क्यान ईन्फोटेक २०१६ ईन एशोसिएशन विथ हुवावे’ मा आज पनि अवलोकन कर्ताहरुको उत्साह जनक सहभागिता रह्यो । आज पाँचौ दिन ६९ हजार ४ सय ४४ जनाले ईन्फोटेकको अवलोकन गरेका छन् । आजसम्म ३ लाख ११ हजार ४५ जनाले मेलाको अवलोकन गरिसकेका छन् ।

आज पनि विभिन्न विशिष्ट व्यक्तिहरुले मेलाको अवलोकन गर्नुभएको छ । आज मुख्य सचिव डा. सोमलाल सुबेदी, एमाओवादी नेता कृष्ण बहादुर महरा, एमाले नेता शंकर पोखरेल, एमाओवादी नेता लोकेन्द्र विष्ट मगर लगायतले इन्फोटेकको अवलोकन गर्नुभयो ।

इन्फोटेकमा सहभागि कम्पनी तथा डिष्ट्रिब्युसनहरुले उपहार तथा अफरहरु सार्वजनिक गर्ने क्रम आज पनि जारी रह्यो । कतिपय कम्पनीहरुले अघिल्लो दिनहरुका भन्दा भारी छुट तथा आकर्षक अफरहरु घोषणा गरेका छन । यसले अवलोकन कर्ताहरुलाई राहत महशुस भएको प्रतिक्रिया प्राप्त भएका छन ।

प्रदर्शनीमा सहभागि कम्पनीहरुले विभिन्न ब्राण्डका ल्यापटपहरुमा भारी छुटका अफरहरु सार्वजनिक गरेका छन । यी ल्यापटपहरुमा एक हजारदेखि ६ हजारसँग छुट प्रदान गरिएका छन् । त्यस्तै प्रोजेक्टर र प्रिन्टरहरुमा पनि भारी छुटको सुविधा उपलब्ध छ । ई–स्क्यानका ईन्टरनेट सेक्यूरिटी तथा एण्टिभाइरसमा ११ सय रुपैंया सम्मको छुट दिएको छ ।

म्युजिक नेपालले राखेको एटिएमप्रति अवलोकन कर्ताहरुको क्रेज बढेको पाइयो । ईन्फोटेकमा आज विशेष गरी स्मार्टफोनका स्टलहरुमा अवलोकन कर्ताहरुको भिड लाग्यो । प्रदर्शनीमा किवीको बिश्वकै सानो मोवाइल एक हजार ७ सयमै रुपैंया उपलब्ध छ । त्यस्तै आइटेल कम्युनिकेशन प्रालिले त्रिपल प्ले सर्भिस ल्याएको छ । हुवावेले वाई ६ फोन सार्वजनिक गरेको छ ।

त्यस्तै पशुपति ट्रेडलिंकले माइक्रो म्याक्सको क्यानभास ५ सार्वजनिक गरेको छ । फोरजी सपोर्ट हुने यो फोन २१ हजार ५ सय रुपैयामा उपलब्ध छ । त्यसैगरी कार्बनको टेटिनियम म्याच ५ स्मार्टफोन पनि धेरैको रोजाईमा प¥यो । एलाइड ट्रेड लिंकले ल्याएको यो फोनको मूल्य १४ हजार रुपैंया पर्छ । त्यसैगरी टचकनले टी ७०७ एक ट्याब्लेट प्रदर्शनीमा राखेको छ । ८ जिवी रोम र १ जिवी ¥याम रहेको यसमा ५ एमपीको रियर र २ एमपीको फ्रन्ट क्यामेरा जडित छ ।

त्यसैगरी प्यासिफिक कमर्सियल प्रालिले सार्पको फोटोकपी मेशिनहरुको एक्सचेन्ज अफर ल्याएको छ । मेलामा विभिन्न कम्पनीहरुले विशेष अफर सहित हाइस्पिड राउटरहरु सार्वजनिक गरेका छन । यसका साथै प्रिन्टर, प्रोजेक्टर, स्क्यानर, एटेन्डेन्स मेशिन, राउटर, सिसिटिभी, जेनेरेटर, ब्याट्री, सोलार, युपीएस, ल्यापटपहरु तथा एन्ड्रोइड स्मार्ट टिभीहरु, स्मार्टफोन/ट्याब्लेट, एन्टीभाइरस र इन्टरनेट सेक्युरिटी, हेडफोन, पावर बैंक, मेमोरी कार्ड, पेनड्राइभ लगायतका स्टलहरु आकर्षणको केन्द्र बन्यो ।

रेडक्रस सितापाइला उपशाखाको आयोजनामा इन्फोटेक स्थलमा रक्तदान कार्यक्रम पनि आयोजना भैरहेको छ । कार्यक्रम मार्फत आजसम्म ४१० पिन्ट रगत संकलन भैसकेको संयोजक पुष्पदेवी स्थापितले जानकारी दिनुभयो । प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आईसीटी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसन्स्, पेमेन्ट सोलुसन्स् लगायत गरी ११२ कम्पनीका १८८ स्टल रहेका छन । सरकारी विद्यालयहरुबाट अग्रिम रुपमा लिखित अनुरोध सहितको नामावलीका आधारमा विद्यार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।