Cyber Security Conference Kicks off, ICT Nepal

काठमाडौं । 

कम्प्युटर एसोसिएसन नेपाल महासंघ र ईन्टरनेट सोसाईटी नेपालको संयुक्त आयोजनामा राजधानीको दरवारमार्गस्थित होटल याक एण्ड यतिमा दुई दिने १६ औं आइसिटी सम्मेलन सुरु भएको छ । ‘साइबर सुरक्षाः आर्थिक विकासका लागि यसको चुनौती र समाधान’ विषयक सम्मेलनको सूचना तथा संचार मन्त्री शेरधन राईले उद्धघाटन गर्नुभयो ।

सम्मेलनको उद्घाटन गर्नुहुँदै मन्त्री राईले प्रविधिको विकाससँगै विकृती पनि मौलाएकाले यसको समाधानका लागि सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने वताउनु भयो । साथै उहाँले बिश्वकै समस्याका रुपमा रहेको साइवर सेक्यूरिटी नेपालका लागि पनि टाउको दुखाईको विषय भएको र त्यसको समाधानका लागि सरोकारवाला निकायहरुसँग सहकार्य गरी सरकार अघि बढ्ने वताउनु भयो । “साइवर सेक्यूरिटी र चूनौतीहरुको सामना गर्न क्यान महासंघ लगायत सरोकारवालाहरुसँग समन्वय गरी सरकारले ठोस पहल गर्नेछ ।” उहाँले भन्नुभयो ।

प्रविधिको विकास र साइवर सेक्यूरिटीका लागि सरकारले ब्रोडब्याण्ड नीति, आइसिटी नीति बनाई सकेको जानकारी दिनुहुँदै उहाँले आर्थिक समृद्धिको यात्रामा सूचना प्रविधिलाई जोड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले नेपालमा सूचना तथा प्रविधिको विकासका लागि सहर बजारमा मात्रै केन्द्रित नभै ग्रामिन क्षेत्रमा पनि पूर्वाधार विकास र विस्तार गर्नुपर्ने धारणा राख्नु भयो ।

कार्यक्रममा सुविसु केवलनेटका अध्यक्ष सुधिर पराजुलीले सम्मेलन सफलताका लागि शुभकामना व्यक्त गर्नु हुँदै साइवर सुरक्षाका लागि सवै मिलेर अघि बढ्नुपर्ने वताउनु भयो । त्यस्तै क्यान महासंघका अध्यक्ष ई. विनोद ढकालले नेपालमा साइवर सुरक्षाका लागि सरोकारवाला सवैसँग एकसाथ अन्तक्रिया गर्न सम्मेलन आयोजना गरिएको र यसले रणनीति निर्माणमा टेवा पुग्ने बिश्वास व्यक्त गर्नुभयो । १२० जना भन्दा बढी सहभागि सम्मेलनमा इन्टरनेट कर्पाेरेशन फर एसाइन नेम्स एण्ड नम्वरर्स (आइक्यान) का डा. रिचार्ड ल्याम्ब प्रमुख वक्ताका रुपमा रहनु भएको छ ।

सम्मेलनको पहिलो दिन पहिलो सत्रमा ‘क्रिटिकल इन्फ्रास्ट्रक्चर एण्ड प्रोटेक्टसन’विषयमा विषयविज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नु भयो । दोश्रो सत्रमा ‘Combating Cyber security Incidents in Nepal’ विषयमा विषय विज्ञहरुले विभिन्न कार्यपत्र प्रस्तुत गर्नभयो । दोश्रो सत्र समापनसँग ‘Cyber security Incidents in South Asia and Developing Regional Collaboration’ विषयक प्यानल डिस्कसन समेत गरिएको छ । जसमा नेपालसहित, भारत, श्रीलंका र बंगलादेशका विषयविज्ञहरु सहभागि थिए ।

सम्मेलनमा सहभागि र विषयविज्ञहरु बीच नेपालमा साइवर सेक्यूरिटी समस्या, चुनौती र समाधानका उपायहरुका बारेमा अन्तक्र्रियात्मक छलफल भएको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि आवश्यक रणनीति निर्माणका निम्ती सार्थक अन्र्तक्रिया गर्ने उद्धेश्यले आयोजित “सुविसु क्यान आई.सी.टी कन्फरेन्स २०१६” भोलिसम्म संचालन हुनेछ ।

सम्मेलनमा भोलि Security of E-enabled Services and Applications’ / ‘Surveillance and Privacy’ विषयमा विषय विज्ञहरुले विभिन्न कार्यपत्रहरु प्रस्तुत गर्ने कार्यक्रम छ ।

यसै बीच यता भृकुटीमण्डपमा जारी ‘सुबिसु क्यान ईन्फोटेक २०१६ ईन एशोसिएशन विथ हुवावे’ को आज चौथौ दिन आज ६३ हजार ३ सय १८ जनाले अवलोकन गरेका छन् । आज सम्म २ लाख ४१ हजार ६ सय १ जनाले मेलाको अवलोकन गरिसकेका छन् ।

प्रदर्शनीमा आज पनि अवलोकनकर्ताहरुको उत्साहजनक सहभागिता रह्यो । प्रदर्शनीमा सहभागि बालकदेखि बृद्धसम्मको भिडले नेपालमा सूचना प्रविधिप्रति आम सर्वसाधारणको चासो बढेको आभास भएको छ । विगतका वर्षहरुमा युवाहरुको प्रभुत्व रहने क्यान इन्फोटेकमा यो वर्ष बयस्कहरुको पनि बाहुल्यता रहेको पाइयो । आज पनि विभिन्न विशिष्ट व्यक्तिहरुले मेलाको अवलोकन गर्नुभएको छ । आज प्रधानन्यायधिक कल्याण श्रेष्ठ, एमाले नेता प्रदिप ज्ञवाली, नेता अमृत बोहोरा, पूर्वमन्त्री अष्टलक्ष्मी शाक्य, पूर्वमन्त्री राधाकृष्ण मैनाली, पुनरावेदन अदालत पाटनका मुख्य न्यायधिस डा. आनन्दनाथ भट्टराइ लगायतले इन्फोटेकको अवलोकन गर्नुभयो । अवलोकनकर्ताको उत्साहप्रद सहभागिता, उहाँहरुको प्रतिक्रिया र विशिष्ट व्यक्तित्वहरुको अमूल्य सल्लाह, सुझावले हामीलाई आगामी दिनहरुमा अझ प्रभावकारी ढंगले कार्यक्रमहरु संचालन गर्ने हौसला र उत्प्रेरणा मिलेको छ ।

इन्फोटेकमा सहभागि कम्पनी तथा डिष्ट्रिब्युसनहरु मध्ये केहीले आज पनि नयाँ उत्पादनहरु विशेष स्किमसहित सार्वजनिक गरेका छन् भने कतिपयले हिजो भन्दा आकर्षक अफरहरु सार्वजनिक गरेका छन । व्यवसायीहरुले ल्याएको नगद छुट, निःशुल्क जडान, फ्रि सर्भिस, उपहार लगायतका अफरहरुले अवलोकनकर्ताहरुलाई थप सुविधा मिलेको छ । अवलोकनकर्ताहरुलाई मनोरोञ्जन प्रदान गर्न एसियन ब्याट्रीले म्याजिक रुमको व्यवस्था गरेको छ । माइक्रोलाइफले राखेको मेडिकल मेसिनहरु प्नि अवलोकनकर्ताहरुको नजरमा प¥यो ।

उग्रतारा टेक्निकल प्रालिले ल्याएको स्मार्ट वाच अवलोकनकर्ताहरुको आकर्षणको केन्द्र बन्यो । ३५ सय रुपैंया पर्ने यो स्मार्टवाचमा मेमोरीकार्ड, सिम लगायत स्मार्ट डिभाइसमा हुने अन्य विभिन्न फिचरहरु समेत उपलब्ध छन । त्यस्तै बेल्ट्रोनिक्सले ल्याएको इको बिजुली बल्ब धेरैको रोजाईमा प¥यो । एक वर्षको ग्यारेन्टीसहितको यो बल्ब २ हजार रुपैंयामा उपलब्ध छ ।

प्रदर्शनीमा फोटोकपी, प्रिन्टर, प्रोजेक्टर, स्क्यानर, एटेन्डेन्स मेशिन, राउटर, सिसिटिभी, जेनेरेटर, ब्याट्री, सोलार, युपीएस, ल्यापटपहरु तथा एन्ड्रोइड स्मार्ट टिभीहरु, स्मार्टफोन÷ट्याब्लेट, एन्टीभाइरस र इन्टरनेट सेक्युरिटी, हेडफोन, पावर बैंक, मेमोरी कार्ड, पेनड्राइभ लगायतका स्टलहरु भरिभराउ देखियो । ३ सय रुपैयामा उपलब्ध सेल्फी स्टिकप्रतिको क्रेज पनि बढेको पाइयो ।

रेडक्रस सितापाइला उपशाखाको आयोजनामा इन्फोटेकस्थलमा रक्तदान कार्यक्रम पनि आयोजना भैरहेको छ । कार्यक्रम मार्फत आजसम्म ३२५ पिन्ट रगत संकलन भैसकेको संयोजक पुष्पदेवी स्थापितले जानकारी दिनुभयो । प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आईसीटी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसन्स्, पेमेन्ट सोलुसन्स् लगायत गरी ११२ कम्पनीका १८८ स्टल रहेका छन । सरकारी विद्यालयहरुबाट अग्रिम रुपमा लिखित अनुरोधसहितको नामावलीका आधारमा विद्यार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । ईन्फोटेक आगामी २० गतेसम्म संचालन हुनेछ ।