क्यान इन्फोटेक हिजो देखि सुरु, प्रधानमन्त्री ओलीबाट उद्‌घाटन

काठमाडौं, १५ माघ ।

राजधानीको भृकुटीमण्डपमा सूचना प्रबिधीको कुम्भ मेला क्यान इन्फोटेक २०१६ सुरु भएको छ । माघ २० गतेसम्म सञ्चालन हुने इन्फोटेकको प्रधानमन्त्री केपी ओलीले उदघाटन गरेका हुन् ।

क्यान महासंघले आयोजना गरेको इन्फोटेकको उद्घाटन गर्दै ओलीले ठुटोमा काग गराउँदा शुभ होस भनेर कामना गर्ने दिन सकिएको बताए । उनले देश विकास गर्छु भन्दा आफुलाई सबैले उडाएको बताउँदै विकास र समृद्धिको सपना देख्नु अपराध नभएको पनि स्पष्ट पारे । उनले नेपाललाई ई–गभर्नेन्स वा डिजिटल नेपालका रुपमा अघि बढाउनु पर्ने आवश्यकता औल्याउँदै कृषि, पर्यटन, पुर्वाधार र उद्योग धन्दालाई प्रबिधीसँग जोड्नु पर्ने धारणा पनि राखे । सरकारले इतिहासका सबै प्रक्रियामा क्रम भंगताका साथ काम गर्ने प्रधानमन्त्रीले बताएका थिए ।

क्यान इन्फोटेकको २२ औं संस्करणका रुपमा आयोजना गरिएको मेलाको मुख्य प्रदर्शनी हल भित्र ४९ वटा र हल बाहिर ३ वटा ब्रान्डिङ्ग प्रदर्शनी कक्षहरु रहेका छन् भने ट्रसमा १०४, ओपन स्पेसहरु १४ र फुुड स्टलहरु १० गरी जम्मा १८० स्टलहरु छन् । प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आईसीटी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस, पेमेन्ट सोलुसन्स्ले सहभागीता जनाएका छन् ।

सर्व साधारणले एक सय रुपैंयाँ र विद्यार्थीले ५० रुपैंयाँको टिकट काटेपछि मेलाको अवलोकन गर्न पाउनेछन् । इन्फोटेकमा सूचना प्रबिधी क्षेत्रका नविनतम संस्करणहरु उपलब्ध रहेको क्यान महासंघका अध्यक्ष बिनोद ढकालले बताए । मेलामा बिभिन्न कम्पनीहरुले छुटसहितका स्किमहरु ल्याएका छन् ।