फेसबुकमा माया प्रेमका मीठा गफ गर्ने गुप्ता फसे

काठमाडौं । 

महाबौद्धमा कपडा व्यापार गर्दै आएका रोशन गुप्तालाई फोन आयो, ‘तिम्रो मायाले गर्दा हाम्रो बहिनीले हात काटी, अहिले उपचारका लागि अस्पतालमा भर्ना भएकी छ, उपचारका लागि ५५ हजार पठाइदेऊ, नत्र प्रहरीमा उजुरी गरिदिन्छौं ।

फेसबुकमा परिचय भएकी सुवासना गौतम र गुप्ताबीच निकट सम्बन्ध थियो । सामान्य कुराकानीबाट झाँगिएको दुवैको सम्बन्ध प्रेममा पुगे पनि उनीहरुबीच भेटघाट भने भएको थिएन ।

दुवै फेसबकमै आफ्ना मनका भावना साटासाट गर्थे । सामान्य झगडामा आफ्नी प्रेमिकाले हात काटेको सुनेपछि गुप्ता उनको उपचारका लागि सुवासनाका दाजु विक्रम ज्ञवाली र केविन केसीलाई उपचारका लागि ५५ हजार रुपैयाँ दिए तर न सुवासना घाइते भएकी थिइन् न विक्रम र केविन उनको प्रेमिकाका दाजु थिए ।

उनीसँग फेसबुकमा मायाप्रेमका मीठा गफ गर्ने यी दुवै थिए । भर्चुअल प्रेमको पासो फ्याँकेर विक्रम र केविनको फन्दामा गुप्ता फसे ।पहिलोपटक ५५ हजार रुपैयाँ दिएका गुप्ताले यसपछि पनि धर पाएनन् ।

यी दुवै युवाले उनीसँग पटकपटक बार्गेनिङ गरिरहे । प्रत्येक भेटमा उनीहरुले मागेअनुसार पैसा नदिए प्रहरीलाई भनिदिने धम्की दिएपछि उनले माग पूरा गरिरहे । ४ लाख १७ हजार रुपैयाँ दिइसक्दा समेत यी दुवैले धम्क्याउन नछाडेपछि अन्ततः गुप्ता प्रहरीको सम्पर्कमा पुगे । नागरिक दैनिकमा खबर छ ।