सेल्फी मानिसको लागी काल साबित

काठमाडौं । 

मुख चुच्चो पारेर स्मार्टफोनले आफ्नो तस्वीर आफै खिच्ने र त्यसलाई सोसल मिडियामा अपलोड गरिहाल्ने संस्कृति पछिल्लो समयका युवायुवतीहरुमा फेसन नै बनिरहेको छ । सेल्फी संस्कृतिको लोकप्रियतासँगै यसले खतराको घण्टी समेत बजाइरहेको पाइएको छ । पछिल्लो समयमा सेल्फी खिच्ने चक्करमा ज्यान गुमाउनेहरुको संख्या बढिरहेको छ ।जोखिमपूर्ण ठाउँमा सेल्फी खिच्ने धुनमा दुर्घटनामा परेर मृत्यु हुनेहरुको आँकडाले सेल्फी कसरी काल बनिरहेको छ भन्ने देखाउँछ ।

वासिंटन पोष्टमा प्रकाशित रिपोर्ट अनुसार गत वर्ष सन् २०१५ मा विश्वभरमा कम्तिमा २७ जना मानिसले सेल्फी खिच्ने क्रममा भएको दुर्घटनामा ज्यान गुमाए । ती २७ जनामध्ये आधाजसो त भारतकै रहेको तथ्यांकले देखाएको छ । वासिंटन पोष्ट लेख्छः भारतमा सेल्फीप्रेमी प्रधानमन्त्री नरेन्द्र मोदी छन् तर भारतीयहरु सामान्यतया सेल्फी सुरक्षाको दृष्टिमा निकै खराब देखिन्छन् ।

सन् २०१५ मा सेल्फी लिने क्रममा मृत्यु हुने भारतीयहरु कोही गुडिरहेको रेलको अगाडि रेलको ट्याकमा उभिएर सेल्फी लिने क्रममा किचिएका छन् त कोही पिकनिकका क्रममा डुंगामा उभिएर सेल्फी लिँदा पानीमा खसेर डुबेका छन् । कोही नदिको किनारामा सेल्फी लिँदा नदिमा खसेका छन् त कोही भिरबाट चिप्लिएर लडेका छन् । गत सेप्टेम्बरमा एक जापानी पर्यटक ताजमहलमा सेल्फी लिने क्रममा सिँढीमा चिप्लिएर तल खसे र गम्भीर घाइते बने पछि उनको मृत्यु भयो ।

हालै तिनजना युवतीहरु सेल्फी लिने क्रममा अरब सागरमा खसेर मृत्यु भएको घटनापछि मुम्बइ पुलिसले सहरका विभिन्न एक दर्जन स्थानलाई सेल्फी निषेधित क्षेत्र घोषणा गरेको छ । गत वर्ष भारतमा कुम्भमेलाका दौरान कुम्भ मेला हुने स्थानलाई सेल्फी निषेधित क्षेत्र घोषणा गरिएको थियो ।

विकिपेडियाका अनुसार सन् २०१५ मा सेल्फीबाट भएका मृत्यु यस्ता छन्ः

जनवरी
· दक्षिण अफ्रिकाको जोहानेसबर्गस्थित नर्थक्लिप पहाडमा एक युवतीको मृत्यु
· युराल पर्वतमा सेल्फी खिच्ने क्रममा २ युवाको मृत्यु
· आइरहेको रेलको अगाडि रेलको लिकमा सेल्फी खिच्ने क्रममा ३ जना भारतीय युवाको मृत्यु
मार्च
भारतको कुहीस्थित मनग्रुल तालमा डुंगामा सेल्फी खिच्ने क्रममा ७ जना भारतीय युवायुवतीको डुबेर मृत्यु
मे
· रोमानियामा रेलमाथि चढेर सेल्फीखिच्ने क्रममा विजुलीको तालमा छुँदा करेन्ट लागेर एक युवतीको मृत्यु
· रुसको रायाजन क्षेत्रमा रेलवे पुलमा सेल्फी लिने क्रममा करेन्ट लागेर एक किशोरको मृत्यु
· इण्डोनेसियाको योग्यकार्तामा सेल्फी लिने क्रममा ज्लामुखीको खोँचमा खसेर एक युवकको मृत्यु
· इण्डोनेसियाको बालीमा सेल्फीलिने क्रममा समुद्रमा खसेर एक सिँगापुरे पर्यटकको मृत्यु
जुलाई
रुसको मस्को सहर नजिकै पुलबाट सेल्फी लिने क्रममा खसेर एक युवतीको मृत्यु
अगष्ट
स्पेनमा साँढे दौडाउने मेलाका क्रममा साँढसँग सेल्फी लिन खोज्दा एक युवकको मृत्यु
सेप्टम्बर
· अमेरिकाको हस्टनमा कन्चटमा पेस्तोल ताकेर एक इन्स्टाग्राम सेल्फी लिने क्रममा भुलबस आफैलाई गोली हान्दा एक युवकको मृत्यु
· भारतको ताज महलमा सेल्फी लिने क्रममा खसेर घाइते भएका एक जापानी पर्यटकको मृत्यु
· नौ तले भवनमा झुण्डिएर सेल्फी लिने क्रममा खसेर एक रुसी किशोरको मृत्यु
· भारतको तमिल नाडुमा पहाडमा ढुंगामाथि उभिएर सेल्फीलिने क्रममा ढुंगा पल्टिँदा एक युवकको मृत्यु्
अक्टोबर
स्पेनको बार्सिलोनामा रेलको छतमा बसेर सेल्फी लिने क्रममा करेन्ट लाग्दा एक किशोरको मृत्यु
नोभेम्बर
भारतको गुजराँतस्थित नर्मदा नहरको किनारामा सेल्फी लिने क्रममा चिप्लिएर नहरमा खस्दा दुइजना भारतीय विद्यार्थीको मृत्यु
डिसेम्बर
पाकिस्तानको रावलपिण्डीमा गुडिरहेको रेलको अगाडि रेलवे ट्रयाकमा उभिएर सेल्फी लिने क्रममा रेलको ठक्करबाट एक युवकको मृत्यु