सावधान; ह्याकरको नजर वायरलेस Keyboard & Mouseमा

काठमाडौं ।

ह्याकरहरुले आजकल यस्ता डिभाइसहरुमा आँखा लगाउन थालेका छन् त्यसैले सावधान हुनुहोस, यदि तपाइँ ल्यापटप तथा डेस्कटप कम्प्युटरसँगै वायरलेस माउस तथा किबोर्डको प्रयोग गरिरहनुभएको छ भने । एक रिपोर्ट अनुसार करीब २ सय मिटर टाढै बसेर कुनैपनि व्यक्ति तपाइँको माउसका माध्यमबाट तपाइँको ल्यापटप वा डेक्सटपमा राखिएका डाटासम्म आफ्नो पहुँच पूराउन सक्छ । यदि तपाइँ अफिसमा  वायरलेस माउसको प्रयोग गर्नुहुन्छ भने तपाइँले काम नगरेको बेलामा पनि ह्याकरबाट तपाइँको कम्प्युटरका डाटा चोरिने जोखिम हुन्छ ।

कम्प्युटर अगाडि तपाइँ कुर्सीमा बसिरहनुभएको हुन्छ तर तपाइँको कम्प्युटर अरु कसैको कब्जामा परिसकेको हुन्छ । ब्यास्टिल नेटवर्कस्ले गरेको अध्ययन अनुसार माउस वा वायरलेस किबोर्ड र त्यसलाई कम्प्युटरसँग जोड्ने डोंगलबीचको वायरलेस लिंक निकै असुरक्षित रहने गरेको छ ।

डोंगल र वायरलेस डिभाइसबीचको लिंक प्रायः इन्त्रिप्टेड अर्थात् पासवर्ड सुरक्षित नहुने भएको हुँदा ह्याकरले सजिलै अरुको कम्प्युटरमा नियन्त्रण कायम गर्न सक्छन् ।अध्ययन अनुसार लजिटेक, डेल तथा लेनोभोले बनाएका वायरलेस किबोर्डहरुले वायरलेस डिभाइस तथा डोंगलबीचको सम्बन्धलाई इन्क्रिप्ट गरेका हुँदैनन् । जसले गर्दा यस्ता डोंगलमार्फत ह्याकरले कम्प्युटरमा आक्रमण गर्ने जोखिम हुन्छ ।

आफ्ना वायरलेस माउस तथा किबोर्डहरुलाई सुरक्षित बनाउनका लागि लजिटेकले प्रविधि अपग्रेड गरिरहेको बताएपनि, कम्पनीहरुले उत्पादन गरिसकेका अधिकांस माउस तथा किबोर्डहरुमा त्यस्तो प्रविधि अपग्रेड गर्नै नसकिने खालका रहेका हुनाले कम्प्युटर प्रयोगकर्ताको हातमा सधै जोखिम रहिरहने शोधकर्ताहरुले बताएका छन् ।