भूकम्प पीडितको डिजिटल तथ्यांक संकलन सम्पन्न

काठमाडौं।

केन्द्रिय तथ्यांक विभागले भूकम्प पीडितको डिजिटल तथ्यांक संकलन गरेको छ । भूकम्प प्रभावित ११ जील्लामा सुरु गरिएको डिजिटल तथ्यांक संकलनका क्रममा तीन लाख पीडितको तथ्यांक संकलन सम्पन्न भएको हो ।‘चैत  मसान्त भित्र सबै पीडितको एकिन तथ्यांक आउँछ ।’ केन्द्रिय तथ्यांक विभागका उप महानिर्देशक रुद्र सुवालले भने । उनका अनुसार हालसम्म ४५ प्रतिशत भूकम्प पीडितको डिजिटल तथ्यांक संकलन भैसकेको छ ।

विभागले १५ सय जना इञ्जिनियरहरु मार्फत सो काम गरिरहेको छ । हालसम्म दोलखाका दुई गाबिस बाहेक अन्य गाबिसको तथ्यांक संकलन गरिसकिएको छ । दोलखामा लामाबगर र गौरीशंकर गाबिस बाहेक ७० हजार भूकम्प पीडितको तथ्यांक संकलन गरिएको हो । यी दुई हिमाली गाबिसमा भने मौसमी प्रतिकुलताका कारण तथ्यांक संकलन गर्न ढिलाई भएको हो ।

 चैत मसान्त भित्र तथ्यांक संकलनका काम सकेर घर निर्माणका लागि रकम उपलब्ध गर्न मिल्ने व्यवस्था गर्न लागेको छ । गत बैशाख १२ गतेको भूकम्प परि करिब ८ लाख परिवार घरबार बिहिन भएको प्रारम्भिक तथ्यांक संकलन गरिएको थियो । तर त्यसमा गैर पीडित समेत सामेल भएको देखिएपछि सरकारले डिजिटल तथ्यांक संकलन थालेको हो ।

विश्व बैंकको आर्थिक सहयोगमा भूकम्प पीडितको डिजिटल तथ्यांक संकलन गरेको हो ।