प्राकृतिक प्रकोपको सन्देश अब मोबाइलबाट

Notification of natural disaster through SMS

काठमाडौं, ९ असोज  

प्राकृतिक प्रकोपबाट हुने घटनाको असर न्यूनीकरण गर्ने उद्देश्यले प्राकृतिक विपदका समाचार मोबाइलबाट नै दिने व्यवस्थालाई प्रभावकारी बनाइने भएको छ । जल तथा मौसम विज्ञान विभागले बढी वर्षा भएको बेलामा हुन सक्ने बाढी पहिरोजस्ता दैवी प्रकोपबाट बचाउन सर्वसाधारणलाई मोबाइलबाट सन्देश प्रवाह गर्ने व्यवस्थालाई प्रभावकारी बनाउन लागेको हो ।

विभागले अनावृष्टि र अतिवृष्टिबारे यसअघि पनि सूचना प्रवाह हुने व्यवस्था गरे पनि प्रभावकारी भएको थिएन । यसअघि विभागले कोसी नदीको जोखिमबाट बच्न सर्वसाधारणलाई सन्देश प्रवाह गरेको थियो । कहिले कम वर्षा हुने र कहिले खडेरी पर्ने कहिले धेरै पानी पर्नेलगायत समस्याले प्राकृतिक प्रकोप हुने विभागले बताएको छ ।

विभागका उप महानिर्देशक सुरजकुमार वैद्यले जलवायु परिवर्तनका कारण मौसम फेरबदल हुने बताए । “मौसममा हुने फेरबदलले प्राकृतिक प्रकोप बढ्छ,” उनले भने, “प्राकृतिक प्रकोप बाट सर्वसाधारणलाई जोगाउन मोबाइलबाट मौसम सम्बन्धी जानकारी दिन खोजिएको हो ।”