चीनबाट ल्याइने विद्युतीय बस भौगोलिक अध्ययन गरिने

काठमाडौं ।

चीनबाट ल्याइने भनेको अपाङ्गमैत्री विद्युतीय बस (इ–बस) ल्याउनुपूर्व भौगोलिक अध्ययन गरिने भएको छ । काठमाडौँ महानगरपालिकाले चीनबाट ल्याइन लागेको उक्त बस नेपालको भौगोलिक बनावटअनुसार सुहाउदो छ वा छैन भनेर भौगोलिक अध्ययन गर्न लागिएको महानगरपालिकाले जनाएको छ ।

“केही दिनमा चीनको मोटर कम्पनी सिआरआरसीटीका प्रतिनिधि नेपालको सडक अध्ययनका लागि आउने भएका छन्” महानगरपालिकाअन्र्तगत राजस्व महाशाखा प्रमुख महेश काफ्लेले भने ।काफ्लेका अनुसार अध्ययनपछि मात्र सिआरआरसीटीले इ–बस उपलब्ध गराउन लागेको हो

सुरुमा ३० वटा बस ल्याउन लागिएको छ । ल्याउने बसमध्ये २० वटा महानगरले किन्ने छ भने १० वटा चीन सरकारले अनुदानमा दिने छ । इ–बस ल्याउनका लागि महानगरको प्राविधिकसहितको टोलिले चीन भ्रमणसमेत गरिसकेको छ ।

उक्त टोलिले नेपाली सडक सुहाउँदो अपाङ्गमैत्री बस प्रदान गर्न निर्माता कम्पनीलाई आग्रह गरेको अध्ययन टोलिमा संलग्न शिव अधिकारीले जानकारी दिए । सो विद्युतीय बस एक पटक चार्ज गरेपछि दुई सय किलोमिटरसम्म चल्छ । उक्त बस पूरा चार्ज गर्न तीन घण्टा लाग्ने बताइएको छ । एउटा चार्जिङ पम्पबाट दुईवटा बस चार्ज गर्न मिल्छ । चौध इन्चको ग्राउण्ड क्लियरेन्सको माध्यमबाट अपाङ्गले ह्विल चियरबाट बसमा चढ्न सक्छन् । बसभित्र ह्विलचियर अट्ने छुट्टै ठाउँको व्यवस्था गरिने छ ।
बसका केही सिट अपाङ्गमैत्री बनाउन प्रस्ताव गरिएको अधिकारीले बताए । चीनले ३५ सिट क्षमताको विद्युतीय मिनीबस सहयोगको प्रस्ताव गरेकोमा महानगरले भने कम्तीमा ४० सिट भएको बस उपलब्ध आग्रह गरेको छ । सानो बस ल्याउँदा भन्सार छुटमा समस्या हुने र थोरै यात्रु अट्ने भएकाले पनि बढी सिट भएको बस ल्याउनको लागि गृहकार्य भइरहेको महानगरपालिकाले जनाएको छ ।
शारीरिकरुपमा असक्षम व्यक्तिले पनि प्रयोग गर्नुपर्ने भएकाले सहजताको लागि महानगरपालिकाले उक्लने तथा ओर्लने गरी दुईवटा ढोकासहितको बस माग गरेको छ । महानगरले माग गरेको विद्युतीय बस कम्तिमा ११ मिटर लामो हुने बताइएको छ । विद्युतीय बसको मूल्य करिब रु एक करोड हुने छ ।
महानगरपालिकाका अनुसार ती अत्याधुनिक एवम् ठूला इलेक्ट्रिक बस पहिलो चरणमा साझा यातायातमार्फत सार्वजनिक सवारीका रुपमा काठमाडौँ उपत्यकामा प्रयोग हुनेछन् । समय समयमा हुने गरेको इन्धन अभावले गर्दा यसकिसिमको बस ल्याउन लागेको हो । उपत्यकामा राम्रोसँग बस सञ्चालन गर्न सकिएमा केही समयपछि उपत्यका बाहिर पनि बस सञ्चालन गर्न सकिने बताइएको छ ।