निःशुल्क हवाई टिकट प्राप्त गर्न सकिने,रोमिङ्ग रिवार्ड

काठमाडौं, १९ फागुन ।

देशकै अग्रणी मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले  रोमिङ्ग सेवा प्रयोग गर्ने आफ्ना ग्राहकहरुका लागि आकर्षक ‘रोमिङ्ग रिवार्ड’ योजना ल्याएको छ । कम्पनीका अनुसार एनसेलका पोष्टपेड र प्रिपेड सेवाका ग्राकहले देश बाहिर गएको बेलामा भ्वाइस रोमिङ्ग सेवा प्रयोग गरी निश्चित प्वाइन्ट वा माइल पाउन सक्छन् ।

यसरी पाइने प्वाइन्ट वा माइल निःशुल्क हवाई टिकट वा होटेल बसाइका लागि प्रयोग गर्न सकिन्छ । फागुन २० गतेबाट लागु हुने यो योजना एनसेलले ट्राभलिङ्ग कनेक्टसँगको सहकार्यमा बारम्बार विदेश भ्रमण गरिरहने र होटल तथा एअरलाइन्स कम्पनीले प्रदान गर्ने विभिन्न ग्राहकमुखी कार्यक्रम (लोयल्टि प्रोग्राम) मा भाग लिने ग्राहकलाई थप लाभ प्रदान गर्ने उद्देश्यले ल्याएको हो । ट्राभलिङ्ग कनेक्ट रोमिङ्ग सेवा प्रयोग गर्ने ग्राहकहरुलाई पुरस्कृत गर्ने विश्वकै पहिलो कार्यक्रमका रुपमा चिनिन्छ ।

उक्त योजना अन्र्तगत, ग्राहकले प्रति एक मिनेट कल गरे वापत एक प्वाइन्ट वा माइल पाउछन् । हवाई टिकट र होटलको बसाई बाहेक ग्राहकलेउक्त प्वाइन्ट वा माइल लोयल्टि प्रोगाम अनुसार उपलब्ध अन्य वस्तु वा सेवा लिन पनि प्रयोग गर्न सक्छन् । रोमिङ्ग रिवार्ड योजनामा सहभागी हुन ग्राहकले एनसेलको वेबसाईटमा गई एनसेल रोमिङ्ग क्लबमा आफ्नो नाम, इमेल, मोबाईल नम्बर आदि जानकारी भरेर रजिस्टर गर्नु पर्दछ ।

रजिस्टर गर्दा नै आफुले प्रगोग गर्ने एअरलाइन्स वा होटेलको लोयल्टि प्रोग्राम पनि छान्नु पर्छ । यो योजनमा लागी ३० भन्दा बढि एअरलाइन्स कम्पनी र होटल ब्राण्डको पार्टनरसिप रहेको छ । एअरलाइन्सहरुमा जेट एअरवेज, एअर इण्डिया, अमेरिकन एअरलाइन्स, थाई एअरवेज, एतिहाद एअरवेज, गल्फ एअर, कतार एअरवेज, ओमान एअर, सिंगापुर एअरलाइन्स, टर्किस एअरलाइन्स, मलेसिया एअरलाइन्स लगायत अन्य र होटलहरुमा म्यारियट, हिल्टन र इन्टरकन्टिनेन्टल होटल समुह यसका पार्टनर हुन् ।

रजिस्टर सकेपछि, ट्राभलिङ्ग कनेक्टले कनफर्मेसन इमेल पठाउँछ र प्रत्येक महिना के कति प्वाइन्ट वा माइल जम्मा भयो भनेर ग्राहकलाई इमेलबाटजानकारी पनि दिन्छ । महिना सकिएको ४५ दिन भित्र ग्राहकको खातामा उक्त महिनामा आर्जन गरेको प्वाइन्ट वा माइल प्रदान गरिनेछ ।

“ग्राहक आफैले पनि आफ्नो खातामा कति प्वाइन्ट वा माइल जम्मा भयो भनेर हेर्न सक्छन् । साथै लोयल्टि प्रोग्राम, इमेल वा फोन नम्बर परिवर्तन लगायतका अपडेट पनि ग्राहकले आफै गर्न सक्छन्,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । “विदेश भमणको दौरान आफ्ना प्रियजनसँग सम्पर्कमा रहदा निःशुल्क हवाई टिकट वा होटेल बसाइ प्राप्त गर्न सकिने यो रोमिङ्ग रिवार्डले ग्राहकहरुलाई थप लाभ प्रदान गर्नेछ ।”

यो रिवार्ड योजनाको लागि ट्राभलिङ्ग कनेक्टले प्रत्येक देशमा एउटामात्र मोबाइल सेवा प्रदायकसँग सम्झौता गरेको हुन्छ । भन्नुको मतलब नेपालबाट एनसेलको सेवा लिई रोमिङ्ग प्रयोग गर्ने ग्राहकलेमात्र यो रोमिङ्ग रिवार्ड अन्र्तगतको सुविधा पाउने छन् । यो योजनाका लागि डेटा तथा एसएमएस रोमिङ्ग भने मान्य हुने छैन ।