CAN Cavre Three Years Action Plan

काठमाडौं । 

सूचना तथा संचार प्रविधिको अग्रणी संस्था क्यान महासंघ काभ्रेले स्वागत सम्मान सहित बार्षिक कार्ययोजना तर्जुमा गरेको छ । सोमबार सूचना प्रविधि पार्क बनेपामा सम्पन्न कार्यक्रममा महासंघले काभ्रे जिल्लाका सभासद्हरु, सरकारी कार्यालयका प्रमुख एवं विभिन्न संघसंस्थाहरुलाई स्वागत तथा सम्मान गरेको हो ।

संस्थाका अध्यक्ष नवराज भूर्तेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा सभासद्हरु तिर्थ लामा, रामहरी खतिवडा, विदूर सापकोटा, प्रमुख जिल्ला अधिकारी मदन भुजेल, सूचना प्रविधि विभागका महानिर्देशक विरेन्द्र मिश्र, काभ्रे प्रहरी प्रमुख राजेश वास्तोला, अनुसन्धान विभाग प्रमुख धनबहादुर बुढाथोकी, क्यानका केन्द्रिय सदस्य शेखरनाथ दुलाल, पूर्व अध्यक्ष मनोजकुमार न्यौपाने, काभ्रे उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरकृष्ण वैद्य लगायतलाई स्वागत एवं सम्मान गरिएको थियो ।

कार्यक्रममा क्यानका उपाध्यक्ष विष्णुभक्त श्रेष्ठले क्यान काभ्रेको स्थापनादेखि हालसम्म गरेका गतिविधिहरुको बारेमा प्रस्तुतीकरण गरेका थिए । अध्यक्ष भूर्तेलले क्यान काभ्रेको भावी कार्ययोजना सम्बन्धमा प्रस्तुतीकरण गरेका थिए । भूर्तेलले पेपरलेस प्रशासनको बिकासमा सहयोग गर्ने, शहर देखि गाँउ सम्म सूचना प्रविधिको अधिकतम प्रयोग गरी फाइदा लिनका लागि कार्यक्रमहरु तयार गर्ने, सूचना प्रविधि पार्क संचालनका लागि सम्बन्धित निकायमा पहल गर्ने, ई भिलेज कार्यक्रमको अवधारणालाई जिल्लाभर संचालन गर्ने, लगायत सूचना प्रविधि संग सम्बन्धित व्यवसायिहरुको सीप विकासका तालीमहरु संचालन गर्ने लक्ष्य लिएको बताए ।

सोही अवसरमा आयोजित बार्षिक कार्ययोजना तर्जुमा गोष्ठीले विभिन्न कार्यक्रमहरु संचालन गर्न उपसमितिहरु गठन गरेको छ । ई भिलेज कार्यक्रम संचालन उपसमिति, संस्था सुदृढिकरण तथा जनसम्पर्क उपसमिति, प्रचार प्रसार उपसमिति, शैक्षिक तथा बौद्धिक विकास उपसमिति, व्यापार तथा व्यवसाय समन्वय उपसमिति र महिला उपसमिति गठन गरी सूचना प्रविधिका कार्यक्रमहरु जिल्लाभर विकास र विस्तार गर्ने लक्ष्य लिएको छ । साथै जिल्लाका विभिन्न क्षेत्रमा क्षेत्रीय संयोजकहरुको चयन गरेर जिल्लाभर सूचना प्रविधिको पहुँच पु¥याउने अध्यक्ष भूर्तेलले बताए ।