युग सुहाउँदो प्रबिधी मार्फत जनतालाई उच्चस्तरीय सेवा उपलब्ध गराउने

Telecom Advertisement

काठमाडौं ।

सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार मन्त्री शेरधन राईले  आफ्नै भूउपग्रह निर्माणको तयारी  भैरहेको जनाएका छन । बिहिबार नेपाल दुर सञ्चार प्राधिकरणको १८ औं बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री राईले भने–नेपालले आफ्नै भूउपग्रह बनाउनु पर्ने समय भैसकेको छ, हामीले एक चरणको अध्ययन समेत गरिसकेका छौं ।

कहिलेसम्ममा नेपालले आफ्नै भूउपग्रह प्रक्षेपण गर्छ भन्ने बारेमा मन्त्री राईले खुलासा नगरेपनि मन्त्रालयले अध्ययन भने अघि बढाईसकेको स्पष्ट पारेका हुन् । नेपालका दुर सञ्चार सेवा प्रदायक कम्पनीहरुको सेवाको गुणस्तर र शुल्कबारे जनतामा गुनासो रहेको बताउँदै उनले तत्काल समाधानका लागि निर्देशन समेत दिए ।

उनले सबै जनतालाई इन्टरनेटको पहुँचमा पुर्याउन ग्रामिण दुर सञ्चार कोषको रकम मार्फत मध्यपहाडी पुष्पलाल लोकमार्गबाट अप्टिकल फाईबर बिच्छ्याउने काम सुरु भैसकेको बताएका थिए । नेपाल दुर सञ्चार प्राधिकरण्का अध्यक्ष दिगम्बर झाले समारोहलाई सम्बोधन गर्दै  जनतालाई सस्तो र गुणस्तरिय सेवा प्रदान गराउन आफुहरु लागिपरेको बताएका थिए ।

उनले युग सुहाउँदो प्रबिधी मार्फत जनतालाई उच्चस्तरीय सेवा उपलब्ध गराउन कुनै कसर बाँकी नराख्ने बताएका थिए । यसैबीच उक्त समारोहमा प्राधिकरणका उप निर्देशक अर्जुन घिमिरेलाई उत्कृष्ठ कर्मचारीको सम्मान प्रदान गरिएको थियो । भूकम्पका समयमा दुर सञ्चार सेवा प्रदायक कम्पनीहरुको सेवा प्रवाहलाई चुस्तदुरुस्त राख्न उल्लेख्य भूमिका खेलेको भन्दै उप निर्देशकलाई  १५ हजार नगदसहित सम्मान गरिएको हो ।