Empowering Women and Girls through Technology

काठमाडौं,  अन्तर्राष्ट्रिय महिला सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सञ्चार र प्रविधिका क्षेत्रमा पनि महिला सशक्तीकरणको आवश्यकता भएको बताएका छन्।

Girls in ICT Day

 अन्तर्राष्ट्रिय महिला सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा  आयोजित कार्यक्रममा राईले महिला आफैँ यस क्षेत्रमा क्रियाशील नभएकाले तिनमा रहेको प्रतिभालाई सदुपयोग गर्न सशक्तीकरण गराउनुपर्नेमा जोड दिँदै सरकारले यसतर्फ तालिमलगायत विविध कार्यक्रम आयोजना गर्दै आएको बताए।  सूचना प्रविधि समाज नेपालको सहयोगमा नेपाल दूरसञ्चार प्राधिकरणद्वारा आयोजित उक्त कार्यक्रममा मन्त्री राईले आगामी दिनमा ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा समेत इन्टरनेटको व्यवस्था गरेर महिलालाई सूचना तथा प्रविधिका क्षेत्रमा जानकारी गराउने सरकारको लक्ष्य रहेको पनि बताए। कार्यक्रममा महिला आफैँले बाह्य तथा घरेलु हिंसाबाट बच्न प्रगोग गर्न सक्ने मोबाइल एप्लिकेसन बनाउने छात्रा समूहलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।  प्रतियोगितामा प्रथम हुने नारी सरोकार समूहले ३० हजार रुपैयाँ, द्वितीय हुने उनका लागि समूहले १८ हाजर रुपैयाँ र तृतीय हुने ‘नव नारी’ समूहले नौ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए।

 सन् २०१३ देखि नेपालमा पनि प्रत्येक वर्ष अप्रिल महिनाको चौथो बिहीबार यो दिवस मनाइदै आएको छ। दूरसञ्चार प्राधिकरणका कार्यकारी अध्यक्ष दिगम्बर झा तथा प्राधिकरणका कार्यक्रम निर्देशक पुरुषोत्तम खनाल, सूचना प्रविधि समाज नेपालका अध्यक्ष दामोदर पौडेललगायतले सूचना सञ्चार र प्रविधिका क्षेत्रमा महिला सहभागिता बढाउन भइरहेका पहलबारे चर्चा गरेका थिए।