Why Drone Camera is Best ?

काठमाडौं, चैत ।प्रविधिको विकासमा निकै सुधार आएको छ । त्यस्तै फोटोग्राफीमा झनै सुधार आएको छ।पहिले ब्याल्क एण्ड ह्वाइट मात्रै तस्बिर खिच्न मिल्ने रिलवाला क्यामेरा विकास भयो । त्यसपछि रंगिन, रिल नचाहिने मेमोरिकार्ड लाग्ने डिजिटल, एसएलआर अनि अहिले आएर ड्रोन क्यामेराले फोटोग्राफीलाई सुधार, सहज र परिस्कृत बनाएको छ । नेपालमा डिजिटल तथा एसएलआर क्यामेराको प्रयोग भएपनि ड्रोन क्यामेरा भने त्यती प्रयोग भएको छैन । उक्त क्यामेरा अनुमति बिना चलाउन पनि पाइँदैन ।

यो क्यामेरा हेलिकप्टर जस्तै आकाशमा उडेर तस्बिर लिन सक्ने क्यामरा हो ।यसलाई रिमोट कन्ट्रोलबाट जमिनमै बसेर आफूले चाहेको क्षेत्रमा उडाएर तस्बिर तथा भिडियो खिच्न सकिन्छ । यसको नाम भाले मौरीको नामबाट राखिएको हो । भाले माहुरीलाई ड्रोन भनिन्छ । यस्तो क्यामेरालाई मोबाइल वा ट्वलेटको अपरेटिङ सिस्टम आइओएस तथा एन्ड्रोइडबाट पनि नियन्त्रणमा राखेर आफूले चाहेको ठाउँको तस्बिर लिन सकिन्छ । ड्रोन क्यामेराबाट जमिनको ठूलो क्षेत्रको तस्बिर लिन सकिन्छ जुन सामान्य डिजिटल वा एसएलआर क्यामेराबाट सम्भव हुँदैन ।

यो क्यामेराले आफू जान नसक्ने ठाउँको तस्बिर वा भिडियो लिन सकिन्छ । पुग्न सम्भव भएसम्मको ठाउँमा पुगेर त्यहाँबाट क्यामेरा उडाउँदै आफूले चाहेको क्षेत्रसम्म उडाएर तस्बिर लिन मिल्छ ।  वैशाख १२ गतेको भूकम्पपछि विदेशी पत्रकार, चलचित्र निर्माता तथा विभिन्न व्यक्तिले ड्रोन क्यामेराको प्रयोग गरेका थिए । यो क्यामेरा जासुसीका लागि पनि प्रयोग गरिन्छ ।

नेपालमा अहिलेसम्म ड्रोन क्यामेरा सम्बन्धी विशेष कानुन वा ऐन बनेको छैन । यसको प्रयोगले गोपनियता भंग हुने भएकाले अनुमति लिएर मात्रै प्रयोग गर्नु पर्ने व्यवस्था छ । गृह मन्त्रालयले सुरक्षा संवेदनशीलता भएका क्षेत्र, सांस्कृतिक सम्पदा तथा अन्य संवेदनशील क्षेत्रमा यस्तो क्यामेरा प्रयोग गर्न नपाइने व्यवस्था गरेको छ ।

सरकारले गएको वर्ष यससम्बन्धी कार्यविधि (अनम्यान्डेड एरियल भेइकल फ्लाइट प्रोसेड्युर) जारी गरेर ड्रोन चलाउनका लागि अनुमति लिनै पर्ने व्यवस्था गरेको छ । शान्ति, सुरक्षा तथा व्यक्तिको गोपनियता भंग हुने गरी यसको प्रयोग गर्न पाइँदैन । अनुमति लिनका लागि आफूले प्रयोग गर्ने ड्रोन क्यामेराको विस्तृत विवरण पेश गर्नुपर्छ ।

रेडियो फ्रिक्वेन्सी तथा जिपिएस मार्फत रिमोड कन्ट्रोलबाट क्यामेरालाई नियन्त्रण गर्न सकिने । यसलाई पहिले सैन्य प्रयोजनका लागि प्रयोग गरिने भएपनि अहिले व्यक्तिगत रुपमा पनि प्रयोग गर्न थालिएको छ । विभिन्न ब्राण्ड तथा क्षमताका क्यामेरा उपलब्ध रहेकाले त्यसअनुसार ती क्यामेराको उड्ने क्षमता तथा तस्बिर लिन सक्ने क्षेत्र फरक फरक रहन्छ ।  यो क्यामेरा ५ देखि २५ मिनेटसम्म आकाशमा उडाउन सकिन्छ ।

विश्व बजारमा निकै सस्तोदेखि महंगो मूल्यसम्मका ड्रोन क्यामेरा उपलब्ध छन् । ५ देखि ६ मिनेटसम्म आकाशमा उडाउन सकिने क्यामेरा झण्डै ४० अमेरिकी डलरमा पाइन्छ । यस्तै झण्डै २५ मिनेटसम्म उडाउन सकिने क्यामेरा १४ सय डलरको हाराहारीमा पाइन्छ भने त्यो भन्दा राम्रो गुणस्तरको क्यामेरालाई तीन हजार डलर वा त्यो भन्दा बढी मूल्य पर्छ । तर नेपालमा भने ड्रोन क्यामेराको कारोबार सुरु भइसकेको छैन ।