घरधुरी सर्वेक्षणमा डिजिटल प्रविधिको प्रयोग

डिजिटल प्रविधिको प्रयोग गर्दै इलामको सूर्योदय नगरपालिकाले घरधुरी सर्वेक्षणको गर्ने भएको छ। नगरपालिकाले प्रत्येक वडाका दुईदेखि तीनजना स्वयम्सेवकलाई प्रविधिसम्बन्धी तालिम दिएर घरधुरी सर्वेक्षणमा पठाउन लागेको छ । नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र भट्टराईले ‘स्मार्ट फोन’को प्रयोग गर्ने युवालाई तालिम दिएर यही सातादेखि सर्वेक्षणमा पठाउन लागिएको जानकारी दिए ।

डिजिटल प्रविधिको प्रयोग गर्दा तथ्याङ्क सङ्कलकहरू प्रत्येक घरमा पुगेर आफ्नो मोबाइलमा भएको सफ्टवेयरमा तथ्याङ्क भर्नेछन् ।सर्वेक्षणमा भाडामा लगाइएको घर, सवारीसाधन लगायतको तथ्याङ्क सङ्कलन गरिनेछ । नगरपालिकाले तथ्याङ्क सङ्कलकहरूलाई मङ्गलबारदेखि तालिम दिन थालेको छ । यसरी तथ्याङ्क सङ्कलन गर्दा करिब १५ दिनमा सबै वडाको तथ्याङ्क आइसक्ने नगरपालिकाले जनाएको छ ।