स्पेनको बार्सिनोलामा विश्वको सबैभन्दा ठूलो मोबाइल फोन प्रदर्शनी हुने

काठमाडौं । 

स्पेनको बार्सिनोलामा विश्वको सबैभन्दा ठूलो मोबाइल फोन प्रदर्शनी, मोबाइल वर्ल्ड कंग्रेस आज सोमबारबाट सुरु हुँदैछ । मोबाइल वल्र्ड कंग्रेस सुरु हुने पूर्व सन्ध्यामा दुइ दिग्गज मोबाइल फोन निर्माता सामसुंग तथा एलजीले आइतबारनै आफ्ना प्रडक्ट लन्च गरेका छन् ।

सामसुंगले ग्यालेक्सी एस सेभेन तथा एस सेभेन एज सार्वजनिक गर्यो भने एलजीले जी फाइभ स्मार्टफोन सार्वजनिक गरेका हुन् । जि फाइभ सँगै एलजीले केही क्यामरा, भिआर हेडसेट तथा होम मनिटरिंग डिभाइस पनि सार्वजनिक गर्यो । त्यस्तै एचटिसीले आफ्नो भाइभ भिआर हेडसेटको मूल्य घोषणा गर्यो । लेनोभोका नयाँ ट्याबलेट तथा ल्यापटप पनि देख्न पाइयो ।

सामसुंगका ग्यालेक्सी एस सेभेन र सेभन एज दुबै पानी नछिर्ने अर्थात् वाटर रेसिस्टेन्ट हुनेछन् । एक वर्ष अघि लन्च भएका एस सिक्स तथा सिक्स एजभन्दा यसमा ब्याट्रीको आकार ठूलो हुनुका साथै प्रोसेसर तिव्र क्षमताको हुनेछ । यसमा फिंगर पि्रन्ट रिडर प्रविधिका साथै बढाउन सकिने एक्स्टर्नल स्टोरेजको सुविधा समेत थपिएको छ, जुन गत वर्षका मोडेलमा राखिएको थिएन ।

त्यस्तै एलजीले सार्वजनिक गरेको जिफाइभ स्मार्टफोन  टुक्रा गाँसेर बनाइएको छ । यसको अर्थ के भने यसबाट ब्याट्री झिकेर त्यसमा एलजी क्याम प्लस, क्यामेरा गि्रप तथा सटर एसेसरिज राखेर प्रयोग गर्न पनि सकिन्छ ।

मोबाइल वल्र्ड कंग्रेस बिहिबार सम्म चल्नेछ र उक्त प्रदर्शनीमा विश्वका एक से एक प्रविधि कम्पनीहरुले आफ्ना नयाँ नयाँ मोबाइल फोन तथा अन्य ग्याजेटहरु सार्वजनिक गर्नेछन् ।