CAN KASKI का सदस्यहरुलाई कर सम्बन्धी प्रशिक्षण

काठमाडौं । 

क्यान कास्की (www.cankaski.org.np)का सदस्यहरुलाई कर सम्बन्धी प्रशिक्षण दिइएको छ । महासंघको आयोजना तथा आन्तरिक राजश्व कार्यालय पोखराको व्यवस्थापनमा शनिबार प्रशिक्षण दिइएको हो । कर शिक्षा तथा आयकरबारे सदस्यहरुलाई जानकारी गराउन एकदिने प्रशिक्षण आयोजना गरिएको कार्यक्रम संयोजक तथा महासंघका कोषाध्यक्ष कृष्णराज पोखरेलले जानकारी दिए ।

प्रशिक्षण उद्घाटनका अवसरमा बोल्दै प्रमुख कर अधिकृत लेखनाथ शर्माले कर प्रणालीप्रति आम व्यवसायी सतर्क र जिम्मेवार बन्नुपर्ने बताए । ‘कर तिर्नु आम व्यवसायीको दायित्व र कर्तव्य हो,’ उनले भने, ‘कर छलि गर्नेहरुलाई कडा कारवाही हुन्छ ।’ सहभागीहरुलाई प्रशिक्षण दिँदै कर अधिकृत सूर्य सुर्खालीले इमान्दार बनेर व्यवसायीले समयमै सरकारलाई कर बुझाउनुपर्ने बताए । ‘कर छल्नेलाई कार्बाही हुन्छ र कर प्रणालीमा उच्च योगदान गर्नेहरुलाई सम्मान पनि गरिन्छ,’ उनले भने । अर्का कर अधिकृत नवराज पराजुलीले करदाता उपभोक्ता र पहिलो कर अधिकृत व्यवसायी भएको बताए ।

वार्षिक कार्यक्रम अन्तर्गत कर प्रशिक्षण कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक पोखरेलले जानकारी दिए । ‘सदस्यहरुलाई भ्याट शिक्षा तथा आयकरबारे जानकारी दिन प्रशिक्षण आवश्यक ठानेकाले वार्षिक रूपमा यस्ता कार्यक्रम गर्दै आएका छौं,’ उनले भने, ‘कर तिर्नुपर्छ भन्ने भावना व्यवसायीमा विकास गराउन प्रशिक्षण प्रभावकारी बनेको हाम्रो विश्वास छ ।’ कार्यक्रममा क्यान महासंघसँग आवद्ध ४० जना व्यवसायी सहभागी थिए ।