भारतले हेप्ने कारण विज्ञान तथा प्रविधिको विकास नभएकाले गर्दा नै हो ? Mahabir Pun

काठमाडौं । 

तीन वर्ष भयो महावीर पुनले एउटा प्रस्ताव बोकेर सिंहदरबारको चक्कर लगाउन थालेको । तीन वर्षदेखि जसरी सिंहदरवार जहाँको त्यहिँ छ, त्यसैगरी उनको प्रस्ताव पनि जहाँको त्यहिँ छ ।

Mahabir Pun के हो त्यो प्रस्ताव ? महावीरका अनुसार उनले डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा नेपालमा एउटा राष्ट्रिय आविष्कार केन्द्र खोल्ने अवधारणा तयार गरेका थिए । उनले सोचेका थिए, पढेलेखेका र देश विकासको भिजन बोकेका भनिने प्रधानमन्त्री यो अवधारणाप्रति पक्कै ध्यानाकृष्ट हुने छ । भयो पनि ।

डा. भट्टराईले मुसुक्क हाँसेर महावीर पुनसित हात मिलाउदै भने, ‘गज्जब अवधारणा रहेछ । यसलाई अघि बढाइहालौं ।’ उनले यो पनि थपे, ‘मलाई त राजनीतिबाट रिटायर्ड भएर तपाईंकै प्राजेक्टमा संलग्न हुन मन लाग्यो ।’ डा. भट्टराईसित महावीरको तीन पटक भेट भयो । तीनैपटक मुसुक्क हाँस्दै हात मिलाउँदै भने, ‘गज्जब अवधारणा रहेछ । म पनि रिटायर्ड भएपछि…’

भट्टराईले जति प्रशंसा गरे पनि उनको सरकारले महावीरको प्रस्तावलाई अघि बढाएन । बरु भट्टराई नै पदबाट हटे । उनीपछि बनेका मन्त्रीपरिषद अध्यक्ष खिलराज रेग्मीकहाँ धाउने क्रम सुरु भयो । ‘उहाँसित दुई पटक भेटेँ, उहाँले पनि अवधारणाको प्रशंसा गर्नुभयो,’ महावीर भन्छन्, ‘तर काम केहि भएन ।’ खिलराजपछि आएका प्रधानमन्त्री सुशील कोइराला झनै चिसा निस्किए । महावीरले कोइरालालाई तीन पटक भेटेर सम्झाउन खोजे । तीनैपटक जाँदा कोइराला भन्थे, ‘प्लिज एक्सप्लेन योर कन्सेप्ट ।’ महावीरले अवधारणा बुझाइसकेपछि कोइरालाको प्रतिक्रिया हुन्थ्यो, ‘फेन्टास्टिक । म अर्थमन्त्रीज्यूलाई भनेर उ गर्छु ।’

तीनैजना प्रधानमन्त्रीको उस्तै पाराले दिक्दार बनेका छन् महावीर पुन । ‘मलाई त जुन जोगी आए पनि कानै चिरेको जस्तो अनुभव भयो । कोही कम खरानी घसेको र कोहि बढि खरानी घसेको,’ पुन भन्छन् । त्यसो त उनको आक्रोश प्रधानमन्त्रीप्रति मात्र नभए अर्थमन्त्रीहरुप्रति पनि कम्ति छैन । आइतबार उनले आफ्नो आक्रोश फेसबुकको भित्तामा यसरी पोखेका थिए, ‘देशलाई विकसित बनाउन विज्ञान तथा प्रविधीको विकास नेपालममा नै गर्नुपर्छ भनेर नबुझ्ने र त्यसको लागि बजेट नछुट्याउने म आफैंले भोगेका मुर्ख अर्थमन्त्रीहरु वर्षमान पुन, शंकर कोइराला र डा. रामशरण महत हुन् ।

यिनीहरुमध्ये रामशरण महत निक्कै घमण्डी थिए । जबसम्म देशमा विज्ञान तथा प्रविधिको विकास हुँदैन तबसम्म नेपाल गरिबको गरिब हुन्छ । अहिले भारतले हेप्ने कारण पनि नेपालमा विज्ञान तथा प्रविधिको विकास नभएकाले गर्दा नै हो । अरुले जेसुकै भनुन्, मेरो लागि यी अर्थमन्त्रीहरु कुरा नबुझ्ने मुर्खहरु हुन् । तिनीहरुकै सामुन्नेमा म यो कुरा भन्न सक्छु ।’
अवधारणामा के छ ?

महावीरको अवधारणा अनुसार स्थापना हुने राष्ट्रिय आविष्कार केन्द्रले विज्ञान तथा प्रविधिको विकासमा योगदान दिनेछ । यसले सरकारबाट अलग स्वतन्त्र निकायका रुपमा काम गर्नेछ । अवधारणापत्रमा १० मेघावाटको हाइड्रोपावर निर्माण गरेर त्यसबाट हुने आम्दानीबाट केन्द्र सञ्चालन गर्ने प्रस्ताव गरिएको छ । महावीरले सोहि हाइड्रोपावरका लागि २ अर्ब बजेट छुट्याउन ताकेता गरिरहेका छन् । ‘यदी सरकारले अनुदान दिन सक्दैन भने ऋणको व्यवस्था गरिदेओस,’ महावीरले भने ।

स्वायत्त निकायका रुपमा स्थापना गर्ने र पूर्ण सञ्चालनमा आइसकेपछि सरकारलाई हस्तान्तरण गर्ने अवधारणापत्रमा उल्लेख छ । उक्त केन्द्रले फुटकररुपमा देशका नागरिकहरुबाट भएका आविष्कारहरुलाई एउटै छानोमुनी ल्याएर संस्थागत गर्ने छ । साथै केन्द्रले देशभरबाट युवा वैज्ञानिकहरु छनोट गरी भर्ति गर्ने तथा खेलाडीहरुलाई जस्तै बन्दसिविरमा राखेर आविष्कारका कार्यमा संलग्न गराउने प्रस्ताव गरिएको छ ।

यस्ता वैज्ञानिकहरुको जीविकाको सम्पूर्ण दायित्व केन्द्रले बहन गर्ने अवधारणापत्रमा उल्लेख छ । अघिल्लो वर्षको बजेटमा यो कार्यक्रम अघि बढाउन भनेर ५० करोड रुपैयाँ विनियोजन गरिए पनि निकासा नभएको र रकम फ्रिज भएको पुनले बताए ।