नेपालमा डाटा साक्षरतालाई सुदृढ पार्न ‘नेपाल इन डाटा इभिनिङ’ हुँदै

काठमाडाैं, 9th November- विकास उद्यमीको नेपाल इन डाटा अभियानले केन्द्रीय तथ्याङ्क विभागको प्राविधिक सहयोगमा ‘नेपाल इन डाटा इभिनिङ’ कार्यक्रम आयोजना गर्ने भएको छ ।

Nepal in Data Evening
Nepal in Data Evening

यो कार्यक्रमको मुख्य थिम ‘नेपालको विकासका बिन्दुहरू जोड्दै’ भन्ने रहेको छ जसले नेपालको समग्र विकासक्रम बुझ्नको लागि बीचमा रहेका विभिन्न सूचकहरूलाई जोड्ने भन्ने जनाउँछ । उक्त कार्यक्रममा नेपालको विकासलाई विभिन्न अफिसियल डाटाहरूको आधारमा बुझाउन बनाइएका भिडियो शृंखलाहरू पनि सार्वजनिक हुँदैछ ।

नेपालको विकाससँग सम्बन्धित मुख्य विषयहरूमा मानिसहरूको ध्यान आकर्षित गर्नको लागि नेपाल इन डाटाले केन्द्रीय तथ्याङ्क विभागको प्राविधिक सहयोगमा यी भिडियोहरू निर्माण गरेको हो । ती भिडियोहरू भर्खरै दिवङ्गत भएका विश्व चर्चित तथ्यांकशास्त्री तथा ग्यापमाइन्डर फाउन्डेसनका संस्थापक हान्स रोसलिङले बनाउने भिडियोहरूबाट प्रभावित छन् । हान्सले बनाएको जस्तै डाटा र तथ्याङ्कहरूलाई मानिसहरूले बुझ्ने भाषा र उदाहरणमा प्रस्तुत गर्ने र त्यसको महत्त्व दर्शाउने प्रयास नेपाल इन डाटाले यी भिडियोहरूमार्फत गरेको छ । सँगसँगैउक्त अवसरमा नेपाल इन डाटा इभिनिङमा स्वीडेनबाट आएका ग्याप माइन्डरका प्रतिनिधिहरूले गेस्ट लेक्चर दिने कार्यक्रम छ ।

विकास उद्यमी विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने युवा प्रोफेसनलहरु संलग्न भएको २०१६ मा स्थापित सोसियल इनोभेसन हब हो जसमा युवाहरूले फरक तरिकाले विकास गर्नको लागि उद्यमशील सोचहरु साटासाट गर्छन् । यसैको एक अभियान नेपाल इन डाटाले www.nepalindata.com पोर्टल मार्फत नेपालमा डाटा र तथ्याङ्कहरूको उपलब्धता र पहुँच बढाउने क्षेत्रमा काम गरिरहेको छ । यसले १२ खण्डमा १७०० भन्दा धेरै डाटा र तथ्याङ्कहरूलाई उपलब्ध गराएको छ । सँगसँगै डाटा र तथ्याङ्कहरू उपलब्ध हुनु मात्र पर्याप्त नभई मानिसहरूले त्यसको प्रयोग गर्न पहिला त्यसको महत्त्व बुझ्नुपर्छ भन्ने पक्षलाई मध्यनजर गर्दै डाटा साक्षरता बढाउने क्षेत्रमा पनि काम गरिरहेको छ ।

नेपालमा डाटाको माग कम हुनुको कारण पर्याप्त डाटा साक्षरता नहुनुनै हो जसको कारणले डाटामार्फत अर्थपूर्ण सूचनाहरू निकाल्ने काम धेरै हुन सकिरहेको छैन । यसैको कारणले नेपाल इन डाटाले दैनिक रूपमा इन्फोग्राफिक्स र डाटा सम्बन्धी समाचार तथा सामाग्रीहरू यसको वेबसाइट र सामाजिक सञ्जालमार्फत प्रकाशित गरिरहेको छ र सँगै सरकार, विद्यार्थी र मिडिया जस्ता सरोकारवाला पक्षहरूसँग डाटाबारे निरन्तर छलफल र अन्तर्कृयाहरू पनि गरिरहेको छ ।

ति भिडियोहरूको निर्माण र कार्यक्रमको आयोजना एसिया फाउन्डेसनले विभिन्न विकास अभियानहरूको साझेदारीमा लागु गरेको ‘नेपालमा विकासका लागि डाटा कार्यक्रम’ मार्फत गरेको छ जसमा युके डिपार्टमेन्ट फर इन्टरनेसनल डेभलपमेन्टको सहयोग पनि रहेको छ । सबैको एकमात्र उद्देश्य नेपालमा विकासको लागि डाटालाई प्रमाणको रूपमा प्रयोग गर्ने भन्ने रहेको छ । यो कार्यक्रम पछाडि पनि नेपाल इन डाटाले भिडियोहरूलाई नेपालका धेरै ठाँउसम्म लैजाने तथा तालिम प्रयोजनको लागि प्रयोग गर्ने लक्ष लिएको छ ।

नेपाल इन डाटा इनिनिङ नोभेम्बर १३ मा पाटनको अशोक हलमा आयोजना हुँदैछ । यसको प्रत्यक्ष प्रसारण फेसबुक मार्फत गरिनेछ । कार्यक्रममा निःशुल्क रूपमा सहभागी हुनको लागि यो लिङ्कमा गएर रजिष्टर गर्न सकिनेछ ।

Source: Click Here

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here