वर्ल्डलिंकले नेपालमै पहिलोपटक द्रुत गतिको अप्टिकल नेटवर्क राख्दै

नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन प्रालिले नेटवर्क ब्याकबोनको क्षमता बढाउने भएको छ। हाल प्रायोग भइरहेको भन्दा नोकिया आइपी तथा कम्युनिकेसनले उपलब्ध गराउने नयाँ नेटवर्क गुणस्तरीय हुने कम्पनीले जानकारी दिएको छ। यससम्बन्धि नोकियासँग सम्झौता भई काम अगाडि बढीसकेको जानकारी दिइएको छ।

सो सम्झौताको प्रेस विज्ञप्ति जारी गर्दै यो नयाँ प्रविधिको अप्टिकल विस्तार भएपछि वर्ल्डलिङ्कको नेटवर्कमा एचडी, फोरके भिडियो तथा इन्टरनेट टिभीजस्ता सेवा सहजै दिनसक्ने नोकियाले बताएको छ।

विदेशबाट ब्यान्डवीथ ल्याउँदा हालसम्म ‘१० जी’ अप्टिकल प्रयोग गर्दै आएको कम्पनीले अब १०० जी क्षमताको विस्तार गर्ने र त्यसबाट प्रशस्त ब्यान्डवीथ प्रसार हुने वर्ल्डलिंकका कार्यकारी निर्देशक विजय जालनले जानकारी दिए।

हाल नेपालमा अन्य सेवाप्रदायकहरुले पनि १० जी क्षमताका ४र५ वटा इक्यूपमेन्ट राखेकामा वल्र्डलिंकले पहिलेपटक यो क्षमताको प्रविधि राख्न लागेको जालनको भनाइ छ। यो प्रविधि राखेपछि ग्राहकहरुलाई भनेजति इन्टरनेट दिनसकिने जालनको भनाइ छ।

वर्ल्डलिंकले अबका दिनमा काठमाडौं र बाहिरका सहरहरुमा उच्चगतिको इन्टरनेटको पहुँच विस्तार गर्ने बताएको छ।
अबको एक महिनामा नयाँ प्रविधि आएपछि विदेशबाट आउने ब्यान्डवीथ भनेजति ल्याउन सकिने र त्यसबाट उपभोक्ताहरुलाई पनि भनेजति नै वितरण गर्न सकिने बताएको छ।