कसले गर्दैछन् नेपालमा ‘साइबर बुलिङ’? नियन्त्रणको उपाय के छ ?

कसले गर्दैछन् नेपालमा ‘साइबर बुलिङ’? नियन्त्रणको उपाय के छ ?

 जगन कार्की 

 सामाजिक सञ्जाल दुई धारे तरबार हो, यसलाई सदुपयोग गरे ठूलाठूला काम सजिलै गर्न सकिन्छ । दुरुपयोग भए ठूलाठूला दुर्घटनादेखि परिवर्तनको लाइनै उल्टो गतिमा लिएर जाने काम पनि गर्दछ ।

सामाजिक सञ्जाल दुरुपयोगको सरल उदाहरण मुलुकमा भएको अथाह परिवर्तनविरुद्ध परिवर्तन विरोधी शक्तिहरु हावी बन्दै जानु, तिनैको कर्मचारीतन्त्रदेखि सरकारसम्ममा हालीमुहाली हुनुअसल काम गर्नेहरु गुमनाम हुनु प्रचार बाजीमा मोटो रकम खर्चिनेहरु रातारात हिरो बन्नु । देखाउनका लागि समाज सेवा,मानवीय कामका नाटक हुनु, कागजी बाघहरु सिर्जित हुनु इत्यादि आजका ज्वलन्त उदाहरण हुन्  

नकारात्मक समाचारको प्रभावसम्बन्धी पेनिन्सुएला विश्वविद्यालयमा गरिएको एक अनुसन्धानले ३ मिनेट नकारात्मक समाचार हेर्ने मानिसको ८ घन्टासम्म नकारात्मक दिमाग चल्ने २७ प्रतिशत सम्भावना पाइयो । त्यस्तै नकारात्मक समाचारले समाजमा घृणा, निन्दा र वितृष्णा जगाउने त छँदैछ, यसका साथै कमजोर मानसिकता र हृदय हुनेहरुलाई यसले ठूलो संख्यामा नकारात्मक असर गर्ने गरेको तथ्य विभिन्न खोज अनुसन्धानले बताइसकेको अवस्था छ ।एकपटक फेसबुक खोलेर हेर्नुहोस् अनि गन्नुहोस् नकारात्मक स्टाटस,गाली, बेइज्जती, रीस अहंकारले भरिएका कन्टेन्टले  जति लाइक,सेयर र प्रचार पाएका हुन्छन्,  सकारात्मक खबरमा धेरै कम पाउनु हुनेछ ।

मानिसको मस्तिस्कले  नै बढी नकारात्मक समाचारलार्इ हेर्ने र नकारात्मकतालार्इ प्रतिक्रिया दिने उसको प्राकृतिक गुणसँग यसको सम्बन्ध रहेको मनोविज्ञानका विभिन्न खोजले बताएको छ । प्रश्न त्यस प्राकृतिक मानव सम्वेदनालाई प्रतिक्लिक एड उठाउने व्यवसायिक पत्रकारिता र डिजिटल कन्टेन्ट ब्यापारीहरुले गलत ढंगले राम्रा सकारात्मक खबरलार्इ छोडेर त्यसभित्रका नराम्रा कुराको हेडलाइन बनाउने प्रवृति पनि छ भने अर्कोतर्फ समाजमा भएका नकारात्मक पाटाहरु, दुर्घटना, अपराधलार्इ सार्वजनिक गर्ने, नंग्याउने प्रवृतिले त्यसको निरुत्साहन र नियन्त्रणमा र सजग बनाउन मद्दत गर्दछ ।

कतिपय अनलाइनहरूमा हेर्नुस्, समाचारको अन्त्यमा उत्तेजक फोटो सहितका कन्टेन्ट पढ्न क्लिक गर्न अनुरोध गरिएको हुन्छ । यसरी उत्तेजक समाचार टाइटल वा भ्रामक खबर  राखेर बढी सेयर गराउने र समाचार क्लिक गराउने उद्देश्यभित्र नकारात्मक समाचारको ब्यापार बढेको देखिन्छ । आफ्नो नाम पहिचान लुकाएर कुनै व्यक्तिप्रति दुर्भाव राखी अनावश्यक फोटो, सन्देश, सूचना प्रवाह गरी कसैको चरित्र हत्या गर्ने काम हो साइबर बुलिंग 

एक पार्टी वा व्यक्तिलाइ पैसा फ्याँकेको भरमा लोकप्रिय बनाउने,सिध्याउने अस्त्रका रुपमा प्रयोग हुन थालेका छन् सामाजिक संजाल र केही अनलाइन पोर्टलदेखि ठूला मिडियाहरु ।

सिकागोस्थित अमिरिकी जनरल सोसियल सर्भेले गरेको प्रेस सम्बन्धी जनविश्वासको एक खोजमा ५४ प्रतिशतले केही , १७ प्रतिशतले धेरै र २८ प्रतिशतले मुस्किलले केही विश्वास रहेको बताएको तथ्यलाई नेपालमा भने लागू नहुने सामाजिक सञ्जालको व्यवहारले देखाएको छ ।

अर्धशिक्षित समुदायको बर्चस्व रहेको र अत्याधुनिक प्रविधिलाई अत्यन्त आश्चर्य हुँदै दैविक शक्तिका रुपमा समेत हेर्नेहरुको संख्या उल्लेख्यरुपमा रहेको पाइन्छ ।

नेपलको परिप्रेक्ष्यमा नकारात्मक सन्देश भएका समाचार, स्टाटस भएका सन्देश र ट्वीटहरु ज्यादा लोकप्रिय, लाइक र सेयर जाने गरेको तथ्य विभिन्न खोजकर्ताहरुले समय-समयमा बताउँदै आएका छन् । अझ तपाईं आफैं पनि एकै छिन खोजकर्ता भएर नियाल्नुहोस्, नकारात्मक सन्देश बोकेका सामाग्री र समाचार हेडलाइनमा धेरै लाइक र सेयर पाउनुहुनेछ । नकारात्मक समाचार हेडलाइन बेच्ने सिवाय समाजमा बढिरहेको अर्को ठूलो अपराधिक क्रियाकलाप भनेको साइबर बुलिंग हो ।

नेपालमा किन साइबर बुलिङ्ग र अपराधको सम्भावना बढी ?

एक समयमा रेडियोले बोल्यो भनेपछि ध्रुवसत्य प्रमाणित हुने समय थियो । अहिलेसम्म पनि रेडियो  टिभीलाई विश्वसनीयरुपमा हेर्ने ठुलो समुदाय रहेको छ । झन् बिस्तारै बढिरहेको अनलाइन सूचना सन्देश दुनियाँमा राम्रोसँग परिचित भइनसकेको अवस्थामा फेसबुकदेखि अनलाइन सूचना, जानकारी देख्ने बित्तिकै विश्वासको आधार बनाइहाल्ने अपरिपक्व अवस्थामा छौं हामी ।

हाम्रा दूरदराजका गाउँबाट सूचना प्रविधिको आधा अध्यारो, आधा उज्यालो अवस्था छन् । यो अवास्थादेखि वैदेशिक रोजगारको शिलशिलामा विदेश जाँदा पूर्ण पहुँच भएको ठाउँमा पुग्दासम्मको अवस्थामा विद्यमान अपरिपक्व दृस्टि र बुझाइले सामाजिक सञ्जालका पोस्ट र समाचार हेर्ने बितिकै सत्य तथ्य नबुझी धारणा बनाउने बहुमत जनसंख्यालाई मध्यनजर गरेर गलत नियतले गरिने पितपत्रकारिता र सूचना सम्प्रेषणले फाइदा लिइरहेका छन् ।

सायद त्यसैको फलस्वरुप बेलाबेला सुशीला कार्की गगन थापा, बाबुराम भट्टराईदेखि समाज र राजनीतिमा राम्रो काम गर्ने र गर्न चाहने,परिवर्तनका संवाहकहरुलाई परिवर्तन विरोधीहरुको आक्रमणको शिकार बनेका छन् ।

राष्ट्रिय सुरक्षा, राष्ट्रियता, सरकार बनाउने भत्काउने खेलमा यस्ता मिडियाको भूमिका खतरनाक पनि हुन सक्ने विश्वका विभिन्न घटनाले पुष्टि गरेका छन् ।

के हो साइबर बुलिंग ?

आफ्नो नाम पहिचान लुकाएर कुनै व्यक्तिप्रति दुर्भाव राखी अनावश्यक फोटो, सन्देश, सूचना प्रवाह गरी कसैको चरित्र हत्या गर्ने काम हो साइबर बुलिंग

अझ सामाजिक सञ्जालको प्रयोगले कसैको व्यक्तिगत जीवनका बारेमा अनावश्यक दुस्प्रचार गर्नु हो साइबर बुलिंग । जसरी टोलका गुण्डा,कुण्डले, मुन्द्रे टोल, बजारमा बसेर महिला दिदीबहिनीहरुलाई जिस्क्याउने र दुःख दिने काम गर्छन्, ठीक त्यसकै अनलाइनरुपमा लिन सकिन्छ साइबर बुलिंग । कसैको व्यक्तिगत जीवनमा असर पुग्ने यस्ता कुकृत्य सामाजिक अपराध हुन् ।

 कसले गर्दछ यो हर्कत ?

च्याउ झैँ उम्रिएका अनलाइन मिडियाहरुको आफ्नो अनलाइनमा धेरै संख्यामा पाठक बढाउन,विज्ञापनमा क्लिक गराएर पैसा कमाउने हेतुले भिडिओको लागि यहाँ क्लिक गर्नुहोला भन्दै चाहिने नचाहिने बिषवस्तु र प्रोपोगान्डा लेखी छल गरेर आफ्ना अनलाइन सन्देश धेरै भन्दा धेरै सेयर गराउने प्रतिस्पर्धामा जे पायो त्यही लेख्ने परिपाटी बढेर गएको छ । त्यस्तै अनलाइन पेज सञ्चालन गर्ने व्यक्तिहरु, अपराधी, ह्याकर,अनलाइन चोरी गर्नेहरु इत्यादिले गर्ने गरेको पाइएको छ |

साइबर बुलिंगका असर

साइबर बुलिंग, फेसबुकले वेबहाइक जीवन तोडेका, गोप्य रुपमा भिडिओ खिचेर धम्की दिने नम्रता श्रेष्ठ प्रकरणदेखि प्रकाश ओझा काण्डहरु जस्ता विभिन्न घटना आजकल धेरै सुनिन्छन् । एक अध्ययनले विश्वका ८० प्रतिशत १४ देखि २० बर्ष उमेरका युवायुवतीहरु स्मार्ट फोन र इन्टरनेट प्रयोग गर्ने मध्ये ३ मा १ जना साइबर बुलिंगको सिकार भएर पढाइ, सामाजिक जीवन र आत्महत्यासम्म गर्ने हदसम्म पुगेको बताएको छ ।

फुटबल खेलाडी विमल घर्तीकी बहिनी मनिषाको आत्महत्या पनि फेसबुकमार्फत साइबर बुलिंगबाट भएको अनुमान गरिएको छ ।

विद्यालयमा अध्ययनरत कलिला बालबालिकाको जीवनको खेलवाडदेखि तिनको अध्ययन बिगार्नेसम्मका घटना हुने गरेका छन् । मानसिक तनावदेखि मानिसलाई आत्महत्या गर्नेसम्मको अवस्थामा पुर्‍याउने गर्दछ साइबर बुलिंगले ।

कसरी हुने गर्दछ ?

१. कसैको बारेमा गलत प्रचार गरिदिने, अफवाह फैलाइदिने
२. गाली, बेइज्जत र धम्कीको सन्देश पठाएर
३. कसैको भावनामा चोट पुर्‍याउने फोटो सेयर गरेर
४. यौनजन्य तस्बिर शेयर गरेर
यसैगरी चिट्ठा परेकोदेखि देश विदेशको भिसा भन्दै अनलाइन डाटा भर्न लगाई परिचय चोरिने, एक काम भन्दै फिसिंग गरी व्यक्तिगत् डाटा जानकारी चोरी गर्ने, विभिन्न प्रलोभन, प्रेमजस्ता बिषयमा फसाएर फोटो, भिडिओ, गोप्य पासपोर्ट, सूचना ठगेर लिने अनि सार्वजनिक गरिदिने आदि ।

नियन्त्रणको उपाय के छ ?

नेपालमा अबका दिनमा साइबर अपराधीहरुले अशिक्षित इन्टरनेट प्रयोगकर्ताहरुमार्फत आतंक र अपराध अझै मच्चाउन सक्छन् । उनीहरुलाई यो सजिलो पनि छ ।

नेपालमा इन्टरनेट प्रयोगकर्ता जमात बढ्नुसंगै साइबर सुरक्षा र बुलिंगसम्बन्धि जनचेतना सरकारी स्तरबाट बढाएर इन्टरनेटको मध्यमबाट हुने ब्यापार र अवसरहरुको सदुपयोग गर्नु अपरिहार्य देखिन्छ 

नेपालजस्तो अर्धशिक्षित समाजमा साइबर बुलिंगबाट हुने अपराध रोक्ने उपाय भनेको जनचेतनाको विकास नै उत्तम विकल्प हो ।

अनावस्यक पेज र नकारात्मक खबरहरु र दुरासययुक्त सूचनाहरुलाई निरुत्साहित गर्ने, सेयर नगर्ने, त्यस्ता खबर र सूचना कारवाहीका लागि प्रहरीलाई अनुरोध गर्ने जस्ता काम जनस्तरबाट गर्नु, १४ वर्ष भन्दा कम उमेरका बालबालिकाहरुलाई अभिभावक र शिक्षकको निगारानी नभई इन्टरनेट प्रयोग गर्न नदिने,इन्टरनेटमा पूर्ण शिक्षित भइनसकेका आफ्ना सन्तानलाई यसबाट हुने गरेका यौन शोषण जस्ता गतिविधिका बारेमा सुसूचित गराउनु जस्ता क्रियाकलापले हुन सक्ने धेरै दुर्घटनाहरुलाई रोक्न सकिन्छ ।

 Twitter : @jaganbimal 

Source: Click Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *