कोपिला:: फेसबुक चलाउँछौ ?

कम उमेरका बालबालिकाले सामाजिक सञ्जाल नचलाएकै राम्रो । चलाउने नै हो भने त्यसबारे आफ्ना अभिभावकलाई जानकारी गराऊ । अनि आफ्ना दाइदिदीसँग राम्ररी सल्लाह गर है ।

जनकराज सापकोटा

असार ५, २०७४- आठ कक्षामा अध्ययनरत सुर्खेतकी एक छात्रा वैशाख पहिलो साता अभिभावकसँगै काठमाडौं आइन् । काठमाडौं आएर सोझै टेकुस्थित महानगरीय अपराध महाशाखामा पुगिन् । महाशाखाको साइबर सेल हेर्ने डीएसपी पशुपति रायलाई भेटिन् र आफ्ना समस्या सुनाइन् । ती किशोरीको समस्या अनौठो थियो । उनको फेसबुक प्रोफाइल कसैले हयाक गरेर उनलाई अनेक दु:ख दिइरहेको थियो । उनलाई मानसिक तनाव भइरहेको थियो । त्यही समस्याबाट छुटकरा पाउन काठमाडौं आउनुपरेको थियो ।

यस्तै, घटना जेठ पहिलो साता पनि दोहोरियो । एसईई दिएर बसेका बालाजुका ३ किशोरी र १ किशोर त्यही महाशाखामा पुगे । उनीहरूका पनि समस्या उस्तै थिए– फेसबुक दुरुपयोगबाट पाएको दु:ख । फेसबुक कसरी चलाउने र त्यसमा भएको सेक्युरिटी फिचर्स प्रयोग कसरी गर्ने भन्ने नजान्दा उनीहरूले दु:ख पाएका थिए ।

केही वर्षअघिसम्म फेसबुकले १८ वर्ष उमेरमुनिकालाई अकाउन्ट खोल्ने अनुमति दिएको थिएन । अहिले १३ वर्ष पुगेकाले मात्रै अकाउन्ट खोल्न सक्ने नियम बनाएको छ । तर कैयौं बालबालिकाले उमेर ढाँटेर फेसबुक अकाउन्ट खोलेका छन् । उनीहरू पाँच–छ कक्षामा पढ्दादेखि नै फेसबुक चलाउन थालिसकेका हुन्छन् । काठमाडौंको एक निजी स्कुलका शिक्षकका अनुसार ४ कक्षाकै पनि धेरै विद्यार्थीले फेसबुक चलाउने गरेका छन् ।

अपराध महाशाखामा सामाजिक सञ्जालसम्बन्धी मुद्दाहरू हेर्ने डीएसपी पशुपति रायका अनुसार तोकिएभन्दा कम उमेरका बालबालिकाले फेसबुक अकाउन्ट खोल्नु हुँदैन । किनभने तिमीहरूजस्ता स–साना बाबुनानीलाई नचिनेका मान्छेले सामाजिक सञ्जालबाट झुक्याउने, फकाउने र अनेक दु:ख दिने गर्न सक्छन् । अभिभावक सचेत नहुने हो भने फेसबुक प्रयोग गर्ने बालबालिका आपराधिक समूहबाट जोखिममा पर्न सक्ने उहाँ बताउनुहुन्छ ।

डीएसपी रायको सल्लाह छ– ‘तिम्रो उमेर १३ वर्ष पुगेको छैन भने फेसबुक नचलाऊ । किनभने तिमीहरू फेसबुक चलाउन आवश्यक पर्ने नियम, गोपनीयतासम्बन्धी जानकारी र यसका बेफाइदाबारे राम्ररी जानकार भइसकेका हुँदैनौ । त्यही कमजोरीको फाइदा उठाउँदै फेसबुकको माध्यमबाट अपराध गर्नेले तिमीहरूलाई प्रयोग गर्न सक्छन् । फेसबुकका नक्कली साथीले यौन दुव्र्यवहार र यौनहिंसा गर्न सक्छन् । अकाउन्ट बनाइसकेका छौ भने पनि फेसबुकमा आफ्ना कस्ता साथी छन् र कोसँग के कस्तो गफ हुन्छ भन्ने जानकारी अभिभावकलाई दिने गर्नुपर्छ ।’ फेसबुक मात्र हैन, ट्वीटर, इन्स्टाग्राम, ह्वाटसएप, स्न्यापच्याटलगायतका सामाजिक सञ्जाल प्रयोग गर्दा पनि उत्तिकै चनाखो हुनुपर्छ । तिनमा भएका सेक्युरिटी फिचर्सबारे थाहा पाउनुपर्छ । सबैजसो सामाजिक सञ्जालमा प्राइभेसी सेटिङ भन्ने अप्सन हुन्छ । त्यसबारे थाहा नहुँदा धेरैजसो बालबालिकालाई नक्कली साथी बनेर अरूले फकाउने र फसाउने जोखिम हुन्छ ।

अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सले सामाजिक सञ्जालले बालबालिकामा पार्ने प्रभावबारे हालै अध्ययन गरेको थियो । उक्त अध्ययनले सामाजिक सञ्जालमा धेरै समय बिताउने बालबालिकाहरू साइबर बुलिङमा पर्छन् । त्यस्ता सञ्जालबाट बनाइएका साथीहरूले मद्दत गर्नेभन्दा पनि सताउने, दु:ख दिने र अत्याउनेजस्ता व्यवहारबाट आजित हुने सम्भावना हुन्छ । उक्त अध्ययनले फेसबुकमा धेरै समय बिताउने बच्चाहरूमा डिप्रेसनको सम्भावना पनि औंल्याएको छ । खासमा सामाजिक सञ्जालबाट के सिक्नुहुन्छ के हुँदैन भन्ने छुट्टयाउन सक्नुपर्छ ।

सञ्जालमा आएका सूचना कति सही हुन् कति गलत भन्ने बुझ्न नसक्दा समस्याहरू आइलाग्न् । धेरै समय अलमलिएर पढाइ बिग्रने सक्ने त छँदै छ । बेलायतको युनिभर्सिटी अफ सिफिल्डले पनि बेलायतका १० देखि १५ वर्ष उमेर समूहका ४ हजार बालबालिकामाथि सामाजिक सञ्जालको प्रयोगले हुने फाइदा र बेफाइदाबारे अध्ययन गरेको थियो । उक्त अध्ययनले दैनिक एक घन्टाभन्दा धेरै समय सामाजिक सञ्जालमा बिताउने बालबालिका कम खुसी रहने निष्कर्ष निकालेको छ । त्यस्तै बीबीसी च्यानलले गरेको अध्ययनमा १३ वर्षभन्दा कम उमेरका एक तिहाइ बालबालिका सामाजिक सञ्जालको पहुँचमा रहेको देखिएको थियो । नेपालका कति बालबालिका सामाजिक सञ्जालको पहुँचमा छन र तिनीहरूले केकस्ता समस्या खेपिरहेका छन् भन्ने अध्ययन भएको छैन । तर विदेशमा भएका अध्ययनहरूका आधारमा १३ वर्षमुनिका बालिबालिकाहरूले सामाजिक सञ्जाल चलाउनु राम्रो मानिन्न । १३ वर्ष माथिकाले पनि पर्याप्त सर्तकता अपनाएर मात्र चलाउनुपर्छ ।

त्यसैले प्रत्येक अभिभावकले आफ्ना छोराछोरीले सामाजिक सञ्जाल उपयोग गरिरहेका छन् कि छैनन् भनेर ख्याल गर्नुपर्छ । प्रयोग गरिरहेका छन् भने किन र कुन उद्देश्यले भन्ने पनि याद गर्नुपर्छ । बाबुआमा आफ्ना सन्तानको सामाजिक सञ्जालमा साथी बन्नुपर्छ । त्यसो हुँदा छोराछोरीले के लेख्छन् ? कस्ता तस्बिर पोस्ट गर्छन् र कस्ता साथी बनाइरहेका छन् भन्ने पनि थाहा हुन्छ ।

बालबालिकालाई सकेसम्म घरको बैठक कोठा वा खुला ठाउँमा रहेको कम्प्युटरमा मात्रै सामाजिक सञ्जाल चलाउन प्रेरित गर्नुपर्छ । मोबाइल, टयाब्लेट वा ल्यापटपबाट सामाजिक सञ्जाल चलाउँदा उनीहरूको गतिविधिमा पर्याप्त ध्यान पुर्‍याउन सकिन्न ।

छोराछोरी कसरी हुर्काउने भन्नेबारे विभिन्न सूचना र जानकारी दिने प्यारेन्टिङ डट कम नामक वेबसाइटले अभिभावकले विभिन्न एप्स प्रयोग गरेर छोराछोरीले दैनिक कति घण्टा इन्टरेनट चलाउँछन् र कति समय कुन सामाजिक सञ्जाल चलाएर बिताउँछन् भन्नेबारे जानकारी लिनुपर्ने सुझाव दिएको छ । त्यसका लागि फिल्टरिङ सफ्टवेयर प्रयोग गरेर बच्चाहरूले इन्टरनेटको उपयोग कसरी र केका लागि गरिरहेका छन् भन्ने बुझ्न सकिन्छ । माई मोबाइल वाच डग, प्योर साइट पीसीजस्ता सफ्टवेयर प्रयोग गरेर पनि बालबालिकाले केके चलाइरहेका छन् र कुन साइट हेर्न कति समय खर्चिरहेका छन् भनेर अभिभावकले थाहा पाउन सक्छन् ।

‘ध्यान भंग गर्छ’ 
दाबी गरिएजस्तै यो खेलौनाले बालबालिकाको ध्यान केन्द्रित गर्न सघाउँदैनन् । बरु उल्टै यसले सामान्य बालबालिकाको ध्यान भंग गरिरहेको छ । यो खेलौना लत बस्ने खालको छ । पहिला रूविक क्युबमा पनि यस्तै देखिएको थियो । नयाँ खेलौना न आउन्जेल यसको लत रहिरहन सक्छ । धेरै समय यसमा भुल्दा पढाइसमेत प्रभावित हुन्छ । बच्चाले कहिलेकाहीं खाली समयमा खेल्दैमा केके न बिग्रने होइन । तर यसलाई स्कुलमा लैजाने, पढाइ भइरहेका बेला पनि खेल्ने र हर्दम यसैमा लागि राख्ने भयो भने समस्याको रूप लिन्छ । यसो गर्दा बालबालिकाको ध्यान पढाइलेखाइबाट टाढिने भएकोले यसले यसको नकारात्मक असर नै ज्यादा देखिएको छ ।
– डा. अरुणराज कुँवर, बाल मनोचिकित्सक

प्रकाशित: असार ५, २०७४

Source: Click Here

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here