सामाजिक संजालमा छुट्टै निर्वाचन गर्नु पर्ने देखियो !

 २५ बैशाख, काठमाडौं । स्थानीय निर्वाचन आउन करिब एक साता बाँकी रहँदा यतिबेला उम्मेदवारहरु मतदातासँग भोट माग्न टोलटोल र घरदैलोमा छरिएका छन् । आफ्ना गुलिया एजेण्डा सुनाउँदै चुनाव चिह्न सम्झाउँदैमा उनीहरुलाई फुर्सद छैन ।

चुनावको रौनकले यता सामाजिक सञ्जाल फेसबुक र ट्विटरलाई पनि कम छोएको छैन । राजनीतिक दल र तिनका उम्मेदवारको विगत र अबको सम्भावना केलाउँदै को ठीक र को बेठीक भन्नेमा धेरै प्रयोगकर्ता रस्साकस्सीमा उत्रिएका छन् ।

त्यही बीचमा कोही भने आफू निकटको दल र व्यक्तिका लागि भोट माग्दै गरेका पनि देखिन्छन् ।

धेरैले धेरैथरी कुरा सुनाइरहँदा र सुझाइरहँदा सामाजिक सञ्जालका कतिपय मतदाता कसलाई भोट हाल्ने भनेर अन्योलमा पनि छन् ।

नवशास्त्री सुरेश ढकाललाई यस्तै आपद् परेको रहेछ ।

उनले ह्यासट्याग भोट राख्दै ट्विटरमा लेखेका छन्, ‘घोषणापत्र हेर्नु कि, साथीभाइको मुख हेर्नु कि, पार्टी र दलहरुको विगत हेर्नु कि, नयाँ-पुराना हेर्नु कि, घरकाहरुको पो कुरो सुन्नु कि ?’

 ढकालले नै अर्को ट्विटमा आम मतदाताको मनोभाव समेट्दै स्थानीय तहको निर्वाचन सबैको अगाडि निर्णय क्षमताकै परीक्षा भएर उभिएको उल्लेख गरेका छन् ।

उनी लेख्छन्, ‘सातापछि हुने निर्वाचनमा भोट कसलाई दिने त निर्णय गर्न सकिएन भने जिन्दगीमा अरु के कुराको निर्णय गर्न सकिएला र ! चुनावले पाठ पो पढाउला जस्तो छ ।’

साता पछि हुने निर्बाचनमा भोट कसलाई दिने त निर्णय गर्न सकिएन भने जिन्दगीमा अरु के कुराको निर्णय गर्न सकिएला र. चुनाबले पाठ पो पढ़ौला जस्तो छ?

साहित्यकार राजन मुकारुङले भने गृहजिल्ला पसेको सूचना फेसबुकमा छाड्दै उत्साही भाव व्यक्त गरेका छन् । अरु बेला सञ्जालको भित्तामा दैनिक जीवनका खुद्रा-मसिना किस्सा रमाइलो रुपमा पस्किने उनलाई चुनावले राम्रै गरी छोएको छ ।

उनले फेसबुक स्टाटस लेखेका छन्, ‘अब लागियो भोजपुर । टेम्के-मयुङ गाउापालिकामा उम्मेदवार उठ्नु छ ।’

गाउँपालिकाको उम्मेदवार बन्ने तयारी गरेकोमा उनलाई धेरै जनाले कमेन्ट बक्समा शुभकामना दिइरहेका छन् । प्रदेश नम्बर १ मा पर्ने भोजपुरमा दोस्रो चरणमा निर्वाचन हुनेछ ।

चुनावको चटारो बोकेर गृहजिल्ला पस्दै पर्दा मुकारुङले साकेला र बुद्ध जयन्तीको अग्रीम शुभकामना दिन पनि भ्याएका छन् ।

पत्रकार नारायण वाग्लेले दुई दशकपछि हुन लागेको स्थानीय चुनावले सर्वसाधारणमा उत्साहसागै दुविधाहरु पनि ल्याइदिएको अवस्थालाई चित्रण गरेका छन् । मतपत्र हातमा लिएर टोलाएका मतदाताको अन्योलग्रस्त मनस्थिति भएको फोटो ट्विटरमा पोस्ट गर्दै उनले क्याप्सन लेखेका छन्, ‘मतपत्र हेर्दा त भोट हालूा जस्तो लाग्छ । उम्मेदवार चाहिँ कसरी छान्ने होला ?’

सामाजिक सञ्जालमा ‘नमूना निर्वाचन’ को झलक दिने गरी काठमाडौं महानगर जस्तो मुख्य ठाउाका उम्मेदवारहरुबारे पोल गर्ने लहर पनि चलेको देखिन्छ । त्यसका साथै उम्मेदवार आफैंले पनि आफ्नो चुनावी एजेण्डा खुलाउँदै स्टाटस र ट्विट लेख्ने घम्साघम्सी नै चलेको छ ।
यो अवस्थालाई इंगित गर्दै पूर्व परराष्ट्र सचिव मधुरमण आचार्यले ट्विट गरेका छन्, ‘सामाजिक सञ्जालमा छुट्टै निर्वाचन गर्नुपर्ने देखियो । उता भोट नल्याए पनि यता बढी लाइक र फेव पाउने धेरै भए !!

पोखरा निवासी कवि सरस्वती प्रतीक्षालाई भने चुनावको नाममा भएका कतिपय कुराले औडाहा भएको रहेछ । प्रचारप्रसारका क्रममा भइरहेका माइकिङ र नाराबाजीलाई उनले ध्वनि प्रदुषण भनेकी छिन् ।

नारा उछालेर जित नहुने ठहर गर्दै प्रतीक्षाले फेसबुकमा लेखेकी छिन्, ‘चुनाव प्रचारप्रसार गर्ने भन्दैमा साउण्ड पोलुसन गर्न पाइन्छ र भन्या ? … दिनदिनभर, रातरातभर माइक लगाएर एउटै कुरा दिनमा सयौं पटक दोहोर्‍याउँदैमा भोट बढ्ने होइन । इरिटेट गर्नुको पनि एउटा हद हुन्छ नि .

उता सरोज धितालले मतदाताको विकृत मनोविज्ञानप्रति सटीक व्यङ्ग्य गरेका छन् । अरु बेला धोको फुकुन्जेल पार्टीलाई गाली गर्ने र चुनावमा त्यही पार्टीका मान्छेलाई मत हाल्ने कट्टर कार्यकर्ताको प्रवृत्तिलाई औंल्याउँदै उनले प्रगतिशील र लोकतन्त्रवादीको परिभाषाबारे बहस गर्न खाजेका छन् ।

उनले ट्विट गरेका छन्, ‘पार्टी कुहियो भनेर सराप्ने, तर चुनावमा त्यही आफ्नो भनिएको पार्टीले लौरो उठाए पनि भोट दिनेहरुलाई प्रगतिशील वा लोकतन्त्रवादी नै भन्ने हो ?’

स्थानीय निर्वाचनको क्रममा देखिएका कतिपय कुरालाई डा. सुधांशु केसीले अस्वस्थ भनेर खुट्याएका छन् । चुनावभित्रका विकृत व्यवहारलाई औल्याउँदै उनले ट्विटरमा लेखेका छन्, ‘चुनाव प्रचारमा केही राजनीतिक पार्टीको कार्यकर्ताहरुको उच्छृङ्खल र उद्दण्ड व्यवहार देखेपछि बुझियो कि भाडामा कार्यकर्ता प्रयोग भइरहेको छ ।’

चुनाव प्रचारमा केहि राजनैतिक पार्टीको कार्यकर्ता हरुको उच्छृंखल र उद्दण्ड ब्यवहार देखे पछि बुझियो कि भाडामा कार्यकर्ता प्रयोग भईरहेको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले पछिल्लो समय मुख्यगरी ठूला दलहरुले गरेका चुनावी तालमेलको विषयलाई निशाना बनाएर टिप्पणी गरेका छन् । फरक विचार राख्ने दुई दलबीचको अस्वाभाविक तालमेल दर्शाउने खालका रमाइला तस्बीरहरु सञ्जालमा भाइरल हुने क्रम जारी छ ।

२०७४ वैशाख २५ गते १८:५९ मा प्रकाशित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here