शिक्षा क्षेत्रका समस्या के छन्, सुल्झाउन तयार छुः मन्त्री पौडेल

sict nepal nepal sict

शिक्षा मन्त्री धनिराम पौडेलले नेपालको शिक्षा क्षेत्रमा रहेका समस्या सुल्झाउन आफू तयार रहेको बताउनु भएको छ । शुक्रबार राजधानीमा एसआइसिटी नेपालद्धारा आयोजित ‘आइसिटी उद्योग र शिक्षण संस्थाबीच सहकार्य’ विषयक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नीतिगत रुपमा के कस्ता समस्या छन्, त्यसको न्यूनिकरण गर्न आफू तत्पर रहेको बताउनु भएको हो ।

‘शिक्षा क्षेत्रमा लगानी र उत्पानबीच असन्तुलन भइरहेको छ,’ मन्त्री पौडेलले भन्नुभयो, ‘उद्योगहरुको मागलाई सम्बोधन गर्न सक्ने गरी शैक्षिक संस्थान बन्न सकिरहेका छैनन् ।’ उनले मध्यम र उच्चस्तरका प्राविधिक जनशक्तिलाई स्वदेशमै संरक्षण गर्न नसकिएकाले पनि शिक्षा क्षेत्रले प्रतिफल दिन नसकेको धारणा राख्नुभयो । ‘शैक्षिक जनशक्तिलाई नेपालमै सदुपयोग गर्न र संस्थागत रुपमा औद्योगिकरणको प्रक्रियासँग जोड्न खोज र अनुसन्धान आवश्यक छ । राज्यले नीतिगत रुपमा कहाँनेर समस्या छ र त्यसको समाधानको लागि के गर्नुपर्छ भनेर मलाई भन्नुहोस्, म सहकार्य गर्न तयार छु,’ पौडेलले भन्नुभयो । उहाँले प्रत्येक नेपाली पढिसकेपछि स्वदेशमै रोजगारीको निश्चितता हुने गरी नीति परिमार्जन गर्न पहल गर्ने दृढता व्यक्त गर्नुभयो ।

सो अवसरमा विज्ञान तथा प्रविधि मन्त्रालय, सूचना प्रविधि विभागका महानिर्देशक विरेन्द्रकुमार मीश्रले नयाँ आइटी नीतिको मस्यौदा निर्माण भइरहेको जानकारी दिदै यसमा आइटी शिक्षा र शिक्षामा आइटीको प्रयोगलाई प्राथमिकतामा राखिएको बताउनु भयो । कार्यक्रममा विघटित सूचना प्रविधि उच्च स्तरीय आयोगका पूर्व उपाध्क्ष एवं वरिष्ठ आइसिटी विज्ञ मनोहरकुमार भट्टराई, वरिष्ठ आइसिटी शिक्षा विद् प्रा.डा. शशीधरराम जोशी, इन्टरनेट सोसाइटी नेपालका कोषाध्यक्ष सुरज अधिकारी लगायतले आइसिटी उद्योगको विकास र प्रवद्र्धनका लागि उद्योग, शिक्षण संस्था, सरकार र नीति निर्माताको सहकार्य हुनुपर्ने जोड दिनु भएको थियो ।

कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधिले कार्यपत्र प्रस्तुत गर्नुका साथै प्यानल डिस्कसनसमेत गराइएको थियो ।